कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा तस्करका नाका खुले

मोहन बुढाऐर

धनगढी — कैलालीको फुलबारी सीमा नाकाबाट तस्करी भई भित्रिन लागेको रेडिमेड कपडालगायतका वस्तु गत आइतबार सशस्त्र प्रहरीको गस्ती टोलीले समात्यो । फुलबारी बाट जिपमा धनगढीतर्फ ल्याउँदै गरेको भन्सार छलीका ती वस्तु सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।

कैलालीमा तस्करका नाका खुले

चाडवाड सुरुसँगै मोहना नदीको पानीको सतह घटदै जाने क्रममा कैलालीको खुला सीमा नाकाबाट तस्करी बढ्ने गरेको छ । कैलालीको मोहनादेखि कुसमघाटसम्मको १ सय २ किलोमिटर भारतसँगको खुला सीमा नाकाबाट ठूलो मात्रामा राजस्व चुहावट हुने गरेको छ ।

स्थानीय बासिन्दाका अनुसार सशस्त्र, जनपद र भन्सारकै कर्मचारीको मिलोमतोमा भारतबाट अवैध रूपमा वस्तु आयात हुने गरेको छ । भजनी इलाका प्रहरी, हसुलिया, खक्रौलालगायतका सीमा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका प्रहरीसँगको तस्करी गर्ने समूहको मिलोमतो हुने गरेको छ ।

त्यस्तै सीमा क्षेत्रमा हुने तस्करी, अपराधलगायत सीमा स्तम्भको सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले कैलालीको ३ ठाउँमा सीमा सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । त्रिनगर भन्सार, भजनी र टीकापुरमा उसले सीमा सुरक्षा बेस क्याम्प राखेको छ । उक्त बेस क्याम्प इन्चार्जमार्फत तस्करसँग मिलोमतो हुने गरेको स्थानीयले बताए ।

उक्त सीमा पोस्टका सशस्त्र र जनपद प्रहरीका इन्चार्जहरूले जिल्लाका प्रहरी प्रमुख र डीआइजीहरूलाई महिनावारी रकम बुझाउने गरेको स्रोतको दाबी छ । हरेक वर्षा कटेपछि सेटिङ र महिनावारीको दररेट मिलाउन भदौ–असोजमा सशस्त्र प्रहरी, जनपद र भन्सार कर्मचारीबाट नाकामा कडाइ हुने गरेको ती स्थानीय बताउँछन् । कहिले सशस्त्र प्रहरीको जिल्लामा नयाँ एसपी आएपछि बीचका अन्य महिनामा पुन: तस्करसँग बार्गेनिङसमेत हुने गरेको छ । उनले तस्करसँगको महिनावारी सेटिङ भएपछि एकाएक तस्करीको मालसमान बरामदका घटना बन्द हुने बताए ।

स्थानीय गंगा चौधरीका अनुसार यतिबेला तस्कर समूहसँग सुरक्षा निकायले मासिक उठाउने रकम वृद्धि गर्नुपर्दा मालसामान समातेको नाटक हरेक दिन मञ्चन हुने गरेको उनी बताउँछन् । जसको मर्कामा चाडबाडका लागि सीमावर्ती बस्तीका बासिन्दाले ल्याउने समानसमेत प्रहरीले थुतिदिन लागेको हसुलियाका प्रेम चौधरीले बताए ।

‘दैनिक उपभोग्य वस्तुमा समेत प्रहरी र सशस्त्रले तस्करीको समान भन्दै समात्ने गरेको छ,’ उनले भने, ‘यतिबेला गाउँघरमा चाडबाड सुरु भएकाले ५/१० किलो चिनी, केही थान कपडा, केही नयाँ भाँडाकुँडाको पनि भन्सार चाहियो भन्छन्,’ उनले टयाक्टर, गाडीमा तस्करी हुने वस्तुबाट पैसा असुलेर छोडिदिने गरेको बताए । सर्वसाधारणलाई मात्रै दु:ख दिने गरेको उनले बताए ।

‘वस्तु समातिने, तस्कर नसमातिने किन हुन्छ ?’ एक स्थानीयले भने, ‘जबसम्म तस्कर पुलिसका शरणमा आफैं आउँदैन र महिनावारीको कुरो मिल्दैन सामान समातिने प्रक्रिया चलिरहन्छ ।’ उनले कुरा मिलेपछि भन्सार बुझाएको तस्करी वस्तुसमेत लिलाम बढाबढको नाममा तस्करल नै फिर्ता पाउने गरेको बताए ।

उनका अनुसार कैलालीको खुला १ सय २ किलोमिटर क्षेत्र ५ भागमा बाँडिएको छ । बर्दियाको बोर्डरदेखि टीकापुर खक्रौला नरायणपुर सत्ती, लालबोझी–भजनी, हसुलिया, फुलबारी र धनगढी गरी ५ भागमा सीमा नाका बाँडिएको छ । ती चारै नाकाका नाइकेहरूले संयुक्त रूपमा सशस्त्र, जनपद र भन्सारका कर्मचारीलाई महिनावारी मिलाउने गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?