कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरियो चियापत्ती उत्पादनमा कमी

रासस

पशुपतिनगर, इलाम — पछिल्लो समय हरियो चियापत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई हरियो पत्तीको अभाव हुने गरेको छ ।

हरियो चियापत्ती उत्पादनमा कमी

केन्द्रीय तथ्यांक विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणअनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता ५ करोड २१ लाख किलो रहेको छ । १ सय १३ उद्योगले वार्षिक १ करोड ८९ हजार ५८ हजार किलो हरियो चियापत्ती उत्पादन गर्दै आएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्री कार्कीले बताए ।

चिया कारखानाको उपयोग ३६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । ०७४/७५ मा केन्द्रीय तथ्यांक विभागले संकलन गरेको तथ्यांकअनुसार पछिल्लो समय उद्योगको संख्या बढदै गए पनि चिया खेती विस्तारमा कमी आएको छ । ‘उद्योग धेरै खुले, हरियो चियापत्ती तिनै उद्योगमा बाँडिन्छ,’ कार्कीले भने । उद्योगको वार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कम तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम बताए ।

‘पछिल्लो समय चिया खेती विस्तारभन्दा उद्योग विस्तारको क्रम बढेको छ,’ उनले भने । चौध जिल्लामा विस्तार भएको चिया खेतीमध्ये पहाडी जिल्लामा अर्थोडक्स र तराईमा सीटीसी उत्पादन हुँदै आएको छ । सर्वेक्षणअनुसार नेपालमा ०४० अघि २ दशमलव २ प्रतिशत, ०४० देखि ०५० सम्म १४ दशमलव ४, ०५० देखि ०६० सम्ममा ५४ दशमलव ६, ०६० देखि ०७० सम्म २७ तथा ०७० यता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको छ ।

पूर्वी इलामका काजीमान कागते ०५० पछि हरियो चियापत्तिको मूल्य उच्च भएपछि खाद्यान्न बाली मासेर चिया खेती गरेको बताए । ०६५ पछि हरियो पत्तीको मूल्य घट्दै गएपछि चिया खेती विस्तारको क्रम रोकिएको हो । विषादी प्रयोगका कारण नेपाली चिया तेस्रो मुलुक निर्यात गर्ने क्रम घटेको किसान डम्बर कटुवालले बताए । बैंक र वित्तीय संस्थाले लगानी नगरेका कारणसमेत चिया खेती विस्तारमा कमी आएको कटुवालको भनाइ छ । सर्वेक्षणअनुसार चिया खेती गर्न तथा उद्योग सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत मात्र ऋण पाएको बताए ।

कारखानाको क्षमताअनुसार हरियो पत्ती आउन छोडेको इलाम टी प्रोडयुसर्स प्रालिका प्रबन्धक ओम काफ्लेले बताए । ‘साना र ठूला कारखाना धेरै खुलेका छन्, हरियो पत्ती संकलनमा कमी आएको छ,’ उनले भने ।

यस्तै दैनिक २० हजार हरियो चिया पत्ति प्रशोधनको क्षमता रहेको इलामका श्रीअन्तुस्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक छ हजार किलो मात्रै पत्ती संकलन हुन्छ । नेपालमा १ करोड ६० लाख ३६ हजार सीटीसी, २६ लाख ७० हजार अर्थोडक्स, दुई लाख २० हजार ग्रिन टी तथा ३२ हजार किलो स्पेसियाल चिया उत्पादन हुने गरेको बताइएको छ । प्रशोधन उद्योग सञ्चालकका अनुसार चार किलो हरियो चियापत्तीबाट एक किलो तयारी चिया बन्छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?