कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बलियो बन्दै छ अमेरिकी डलर ?

हालसम्मकै कमजोर अवस्थामा नेपाली मुद्रा
यज्ञ बञ्जाडे

काठमाडौँ — केही सातायता अमेरिकी डलर निरन्तर रुपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन झन बलियो बन्दै गएको हो । डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रुपमा कमजोर बनेको छ ।

किन बलियो बन्दै छ अमेरिकी डलर ?

यही क्रममा बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १६ रुपैयाँ ६१ पैसा (बिक्री दर) तोकेको छ । गत साता यो हालसम्मकै उच्च १ सय १७ रुपैयाँ भन्दा माथि पुगेको थियो । त्यहाँबाट घटेर १ सय १६ हाराहारीमा पुगेको थियो । त्यसपछि पुन: बढेर १ सय १६ रुपैयाँ ६१ पैसा पुगेको हो । राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर (खरिद दर) १ सय १६ रुपैयाँ ०१ पैसा तोकेको छ ।


सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएलगतै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।


तर, यसपालिको परिस्थिति अलि बेग्लै छ । यो अवस्थालाई भारतीय अर्थतन्त्र नराम्रो भएकाले डलरको तुलनामा भारु कमजोर भएको र त्यसको असर नेरुमा परेको रुपमा मात्र लिनु हुँदैन । विश्व बजारमा धेरै राष्ट्रका मुद्राको विनिमयदरसँग अमेरिकी डलर बलिलो देखिएको छ । डलर बलियो बनेपछि त्यसप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ । यसले डलरमा लगानी बढेको छ । अहिले भारतिय अर्थतन्त्रले उच्च दरको आर्थिक वृद्धि हासिल नगरे पनि बिग्रिसकेको भने छैन । तर अमेरिकी अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र सुधारको वृद्धिदर कम भएकाले डलरको तुलनामा भारु कमजोर बनेको हो । भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेरुमा परेकाले नेपाली मुद्रा पनि कमजोर बनेको हो ।


करिब दुई वर्षअघि भारत सरकारले पाँच सय र हजार दरका नोट चलनचल्तिबाट हटाएदेखि नै विश्व बजारमा भारतीय मुद्राप्रतिको विश्वासमा कमी आउन थालेको हो । पछिल्ला वर्षहरुमा भारतमा आयात धेरैले बढेको, चालू खाता घाटा फराकिलो बन्दै गएको, प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अपेक्षित रुपमा बढ्न नसके, केही ठूला विदेशी लगानी फिर्ता भएको समाचारहरु आइरहेका छन् । यद्यपि पछिल्लो एक सरकारी प्रतिवेदनले यो वर्ष आर्थिक वृद्धि राम्रो भएको संकेत दिएको जनाइएको छ ।


किन सुधार भयो अमेरिकी अर्थतन्त्र

केही महिनायता अमेरिकी अर्थतन्त्रमा आएको सुधारलाई विज्ञहरुले ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका पछिल्ला नीतिहरुले घरेलु अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै लगानीकर्ताहरुको मनोवल पनि बढेकाले अमेरिकी डलर विश्व बजारमै निरन्तर रुपमा बलियो बन्दै गएको हो । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातीत वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनु, बेरोजगारी दरमा उल्लेख्य सुधार आउनु आदि राष्ट्रपति ट्रम्पले चालेका पछिल्ला नीतिहरु हुन् । त्यहाँका प्रमुख सेयर बजारहरु नाष्डक, न्यूवर्क स्टक एक्सचेञ्जलगायतमा धेरै सुधार आउनुले पनि अमेरिकी अर्थतन्त्र बलियो बनेको प्रमाणित हुने विज्ञहरुले जनाएका छन् ।


त्यहाँको केन्द्रीय बैंक फेडरलज रिर्जभ (फेड)को ब्याजदर बढाएपछि स्वदेशीलगानीकर्ताको मनोबल बढेको जनाइएको छ । स्वदेशमै राम्रो प्रतिफल पाइने भएपछि लगानीकर्ताहरु विदेशमा लगानी विस्तार गर्न निरुत्साहित भएको तथा केही लगानीकर्ताले अन्य राष्ट्रहरुबाट लगानी फिर्ता लिइरहेका छन् । यसकारण पनि डलर दिनहुँ जसो बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।


नेपाललाई लाभ

डलर बलियो बन्दा नेपाललाई हानी मात्र हुँदैन लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुदाँ एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरु स्वदेशमा पैसा पठाउन उत्साहित हुने भएकाले ठूलो मात्रामा रेमिट्यान्स आउँछ । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ ।


करिब दुई वर्षयताका अधिकांश महिना मुलुकको चालू खाता र शोधनान्तर अवस्था नोक्सानमा छ । यी सूचकमा सुधार ल्याउने प्रमुख उपाए भनेकै जसरी भए पनि धेरै विदेशी मुद्रा मुलुक भित्र्याउनु हो । अहिलेको अवस्थामा नेपालमा विदेशी मुद्रा भित्रिने प्रमुख माध्यम रेमिट्यान्स र एफडीआई हो । सात महिनापछि गत असारमा मुलुकको भुक्तानी सन्तुलन करिब ९१ करोडले बचतमा रहनुले पनि यो पुष्टि हुन्छ । नेरुको तुलनामा डलरको विनिमय दर बढेसँगै गत असारमा रेमिट्यान्स आप्रवाह र एफडीआईमा पनि सुधार देखियो । यही कारण असारमा भुक्तानी सन्तुलन करिब अर्ब रुपैयाँले बचतमा देखियो ।


नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्छ । यो अवस्थामा धेरै भन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन र ठूलो मात्रामा निर्यात बढाउन सके डलर वृद्धिको ठूलो लाभ नेपालले लिन सक्ने छ । दुर्भाग्य नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रुपमा बढी लाभ लिन सकिरहेको छैन ।


नोक्सान

विदेशी मुद्रा भित्र्याउने माध्यमहरु अपेक्षित रुपमा सुधार हुन नसक्दा यतिबेला मुलुकले ठूलो नोक्सान व्यहोरिरहेको छ । सबैभन्दा बढी नोक्सान वस्तु तथा सेवाको आयात बापतको भुक्तानीमा भइरहेको छ । केही वर्ष यता आयात तीव्र गतिमा उकालो लागिरहेकाले त्यसबापत भुक्तानी गर्नु पर्ने दायित्व निरन्तर रुपमा बढिरहेको छ ।

यसैगरी, नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट ऋण लिएको ऋणको सावा ब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नु पर्ने हुन्छ । विदेशमा औषधिउपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरुको लागत महङगो पर्छ । निरन्तर रुपमा नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढने मात्र नभएर स्वदेशी मुद्रा प्रतिको विश्वासमा पनि कमी आउँछ ।


हस्तक्षेपको संकेत

नेपालको आफ्नो कारणले भन्दा पनि भारुसँगको विनिमय दरको तुलनामा डलर बलियो भएकाले नेरु पनि कमजोर भएको हो । यसअघिको उच्च अवस्था भन्दा अहिले डलरको भाउ धेरै माथि पुगिसेकाले अब भारत सरकारबाटै हस्तक्षप हुने सम्भावना बढेको छ । भारु धेरै कमजोर हुँदा राजनीतिक र आर्थिक रुपमा मुलुकलाई असर पर्ने भएकाले त्यहाँको सरकारले हस्तक्षेपकारी नीति अपनाउने विज्ञहरु बताउँछन् ।


यसअघि पूर्व गभर्नर रघुराम राजनले केन्द्रीय बैंकको नेतृत्व सम्हाल्नु अघि पनि डलरको तुलनामा भारु धेरै कमजोर भएको थियो । रघुराम राजनले केन्द्रीय बैंकको नेतृत्व सम्हाले नेरु कमजोर हुने क्रम रोकेका थिए । अहिले पनि आरबीआई र भारत सरकारले त्यस्तै नीतिहरु अपनाउन सक्ने भएकाले अब भारु धेरै बढी कमजोर नहुने अनुमानहरु गरिएका छन् । त्यतिबेला तत्कालिन गभर्नर राजनले केन्द्रीय बैंकमा भएको डलर बजारमा आपुर्ति गर्ने र डलर बाहिरिने क्रम रोक्ने दुई वटा मुख्य नीति अपनाएका थिए ।


यसकारण अहिलेको नेतृत्वले पनि यस्तै कदमहरु चाल्ने सम्भावना बलियो बन्दै गएको छ । यसो भएको अवस्थामा भारु थप कमजोर हुने छैन । त्यसको सकारात्मक असर नेरुमा पनि पर्नेछ ।


आत्तिहाल्नु पर्दैन

भारु कमजोर भएकाले नेरु पनि कमजोर भए पनि आत्तिहाल्नु पर्ने अवस्था नआएको विज्ञहरुले बताएका छन् । मुलुकले उच्च चालू खाता घाटा र भुक्तानी सन्तुलन घाटा व्यहोरिरहेको अवस्थामा घरेलु मुद्रा सामान्य कमजोर हुनु स्वाभाविक भएको राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘अहिले नेरु कमजोर भयो भनेर आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार बढदो चालू खाता र शोधनान्तर घाटा, उच्च आयात, घटदो रेमिट्यान्स वृद्धिदर भएको अवस्थामा स्वदेशी मुद्रा कमजोर नेरु कमजोर हुने स्वभाविक हो ।


अध्ययन सुरु भएन

नेरुको तुलनामा डलर निरन्तर बलियो बन्दै गएपछि त्यसबाट पर्न सक्ने सम्भावित असरबारे राष्ट्र बैंकले अध्ययन थाल्ने बताएको थियो । तर, हालसम्म पनि त्यस सम्बन्धमा केही काम हुन सकेको छैन । डलर निरन्तर रुपमा बढिरहँदा त्यसको सम्भावित असर र प्रभावहरु देखिन थालेका छन् । तर, विदेशी विनिमयको नियामक निकाय राष्ट्र बैंक भने मौन छ ।

प्रकाशित : आश्विन ९, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?