कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी मुद्रा धितोमा ऋण

पूर्वाधार विकास तथा निर्माणसँग सम्बन्धित लगानीकर्ता वा आयोजनालाई फाइदा
कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशी लगानीकर्ताले परिवत्र्य विदेशी मुद्रा धितो राखेर बैंकबाट नेपाली मुद्रामा ऋण लिन पाउने भएका छन् । विदेशी लगानीबाट सञ्चालित परियोजनामा अल्पकालीन फन्ड व्यवस्थापन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।

विदेशी मुद्रा धितोमा ऋण

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी बैंकहरूलाई उक्त निर्देशन दिएको छ ।


चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको हो । यसअघि विदेशी लगानीकर्ताले परिवत्र्य (भारुबाहेक सबै विदेशी मुद्रा) विदेशी मुद्राको धितोमा ऋण पाउने व्यवस्था थिएन ।


‘विदेशी लगानीमा स्थापना भएका तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवत्र्य विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरूमा निक्षेप राखी सोको धितोमा नेपाली मुद्रामा कर्जा लिन सक्नेछन्,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुुंगानाले भने ।


विदेशी लगानीकर्ताहरूले नेपाल भित्र्याएको सबै लगानी तुरुन्तै स्वदेशी मुद्रामा परिवर्तन गर्नुपर्ने बाध्यता हुँदैन । यसकारण लगानीकर्ताले केही रकम विदेशी मुद्रामै वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा राख्छन् । विदेशी मुद्रामै निक्षेप गर्नका लागि भने राष्ट्र बैंकको पूर्वस्वीकृति (अनुमति) चाहिन्छ । त्यही निक्षेपका रूपमा राखिएको विदेशी मुद्राको धितोमा लगानीकर्ताले अब ऋण पाउने भएका हुन् । यसरी कर्जा प्रवाह गर्दा धितोमा रहने विदेशी मुद्रा निक्षेपलाई सम्बन्धित बैंकले ‘एयरमार्क’ गर्नुपर्ने र कर्जा सुरक्षणसँग सम्बन्धित अन्य सबै व्यवस्थाहरू अपनाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।


आयोजना वा लगानीकर्ताले विदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबबाट हुने जोखिमबाट बच्न र विदेशी मुद्रामा सामान वा यान्त्रिक उपकरणहरू आयात गर्न विदेशी मुद्रामै निक्षेप राख्न चाहन्छन् । ‘यो व्यवस्थाले खासगरी पूर्वाधार विकास तथा निर्माणसँग सम्बन्धित लगानीकर्ता वा आयोजनालाई फाइदा पुग्छ,’ ढुंगानाले भने ।


लगानीकर्तालाई कति समयसम्मका लागि कति रकमसम्म विदेशी मुद्रामै निक्षेप राख्न दिने भन्ने मापदण्ड छैन । आयोजना वा लगानीकर्ताले औचित्य पुष्टि हुने कागजात पेस गरेको अवस्थामा मात्र परिवत्र्य विदेशी मुद्रामा निक्षेप राख्न दिइने उनले बताए । ‘के कति कारणले विदेशी मुद्रामै निक्षेप राख्न खोजिएको हो, त्यसको औचित्य पुष्टि हुन सक्नुपर्छ,’ ढुंगानाले थपे ।


पछिल्ला वर्षहरूमा प्रत्येक्ष वैदेशिक लगानी बढिरहेको छ । यही क्रममा गत वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी १३ अर्ब ५० करोड रुपैयाँ थियो । उक्त अवधिमा खासगरी ऊर्जा, सिमेन्ट, होटललगायतका उद्योगहरूमा धेरै विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।


यसैगरी अब नेपालीहरू स्वदेशमै बसीबसी तेस्रो मुलुकको सामान नेपालबाहेकका मुलुकमा पनि कारोबार गर्न पाउने भएका छन् । यसका लागि मुलुकलाई विदेशबाट अग्रिम रूपमा रकम प्राप्त हुनुपर्नेछ । ‘विदेशबाट अग्रिम रकम प्राप्त भएको आधारमा तेस्रो मुलुकको सामान नेपालबाहेक अन्य मुलुकमा प्रतीतपत्रमार्फत अन्तर्राष्ट्रिय प्रचलनअनुरूप निर्यात व्यापार गर्न सक्ने छन्,’ राष्ट्र बैंकले भनेको छ ।


यसको अर्थ तेस्रो मुलुकका सामान विभिन्न पोर्टहरूमार्फत नेपाल नभित्र्याई सिधै मध्यस्तता व्यापारअन्तर्गत प्रतीतपत्रमार्फत अन्तर्राष्ट्रिय प्रचलनअनुरूप निर्यात व्यापार गर्न सकिने भन्ने हो । यस व्यवस्थाअन्तर्गत प्रतीतपत्र खोल्दा पूरा गर्नुपर्ने सबै प्रावधानहरू पालना भएको हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । नेपालका ठूला व्यावसायिक घरानाहरूको आग्रहमा राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो ।


सुनचाँदी व्यवसायीहरूले स्वदेशमै विदेशी परिवत्र्य मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यस्ता व्यवसायीहरूलाई राष्ट्र बैंकले थप सुन उपलब्ध गराउने भएको छ । व्यवसायीहरूले विदेशमा सुनका गहना बेच्दा वा विदेशी, गैरआवासीय नेपाली, कूटनीतिक नियोगका पदाधिकारीलाई स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा ‘डिम्ड एक्सपोर्ट’ सरह निर्यात भएको मानी विद्यमान व्यवस्थाबमोजिम सुन उपलब्ध गराइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यो व्यवस्थाले स्वदेशमै विदेशी परिवत्र्य मुद्रामै सुनका गरगहनाको बिक्री बढ्नुका साथै निर्यातमा प्रोत्साहित हुने ढुंगानाले दाबी गरे ।

प्रकाशित : आश्विन १०, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?