कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलैंची भाउ घट्दो

दीपेन्द्र शाक्य

संखुवासभा — पाँच वर्षयता अलैंचीको मूल्य ८२ हजार रुपैयाँले घटेको छ । ०७० मा १ लाख १५ हजारसम्म पुगेको अलैंचीको मूल्य अहिले ३३ हजारमा झरेको छ । अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठका अनुसार सिजनको सुरुवातमा प्रतिमन (४० केजी) को मूल्य ३३ हजार रुपैयाँ हो ।

अलैंची भाउ घट्दो

‘यो मूल्य झापाको बिर्तामोडको हो,’ उनले भने, ‘संखुवासभामा अझै कम छ, ढुवानी जोडेर त्यहाँसम्म लैजाँदा हामीले त्यो मूल्यमा बेच्नुपर्छ ।’ उनले ५ वर्षको अवधिमा ८२ हजार मूल्य घटेको बताए ।


यहाँको ग्रामीण क्षेत्रमा उत्पादित अलैंचीको मूल्य घटेको हो । यो वर्ष सुरुवातमा निस्केको अलैंचीको मूल्य छैन । ३३ हजारमा किन बेच भइरहेको छ । १ हजार ३ सय मिटर उचाइभन्दा मुनिका अलैंची बजारमा पुर्‍याइएको छ, त्यसले भाउ पाएको छैन । ‘कछाड क्षेत्रको अलैंची त्यति राम्रो र गुणस्तरको देखिएन, त्यही भएर भाउ छैन,’ उनले भने, ‘अहिले बजारमा आएको अलैंची पूर्ण विकसित भइसकेको छैन ।’


उनका अनुसार माथिल्लो क्षेत्रको अलैंची बजारमा आएपछि मूल्य बढ्ने आशा गरिएको छ । ‘१४ सय मिटरभन्दा माथि फलेका अलैंचीले बजार पाउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा फलेका अलैंचीले गत वर्ष पनि बजार पाएको थियो, त्यहाँको अलैंचीले केही वर्षअघिसम्म राम्रो मूल्य पाएको थियो ।’


माथिल्लो क्षेत्रमा यो वर्ष अलैंचीको उत्पादन पनि बढेको उनले बताए । यो क्षेत्रको अलैंचीले एभरेस्ट लार्ज काडामम नेपालको ट्रेडमार्क पनि पाइसकेको व्यापारी श्रेष्ठले बताए । गत वर्ष अलैंचीको मूल्य बढेपछि कृषक पनि मिहिनेती र उत्साहित भएको उनले बताए ।


‘अलैंचीले मूल्य पाएपछि कृषकले यो वर्ष मिहिनेत गरेर अलैंची गोडमेल गरेका छन्, हामीले कृषकको बगानमा प्रत्यक्ष अवलोकनसमेत गर्‍यौं,’ उनले भने, ‘कृषक अलैंचीको स्याहारसुसारमा बढी लागेको पायौं । यसैको कारणले अलैंचीको मूल्यसँगै उत्पादन पनि बढ्ने उनको विश्वास थियो ।’


पहिले कृषक अलैंचीको गोडमेल र स्याहारसुसारमा नलाग्ने भएकाले उत्पादन घटेको खाँदबारी सेकाहाका कृषक छत्रमणि काफ्लेले बताए । ‘माथिल्लो क्षेत्रको अलैंची बजारमा आउन अब एक महिना लाग्छ,’ उनले भने, ‘यो क्षेत्रको अलैंचीको मूल्य गत वर्षको भन्दा बढी हुने अनुमान हाम्रो छ ।’


काफ्ले एक्लैले गत वर्ष ३ करोडको अलैंची स्थानीय बजारमा बेचेका थिए । तल्लो क्षेत्रमा उत्पादित अलैंची सदरमुकाम खाँदबारी, व्यापारिक केन्द्र चैनपुर, नुनढाकी, तामाफोक, तुम्लिङटारमा ल्याएर बेच्न थालिएको हो ।


‘गत वर्ष २ अर्बभन्दा बढीको अलैंची यो जिल्लाबाटै निकासी भएको थियो,’ उनले भने, ‘९ लाख किलो अलैंची झापाको बिर्तामोड हुँदै भारत निर्यात भएको थियो ।’ व्यापारीका अनुसार संखुवासभामा उत्पादित अलैंची भारतको सिलगुडी, अमृतसर र दिल्ली हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ । मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैंचीको माग तेस्रो मुलुकमा प्रतिदिन बढ्दै गएको छ ।


यहाँ ३ हजार ३ सय ५७ हेक्टर जमिनमा अलैंची खेती गरिएको छ । त्यसमध्ये २ हजार ७ सय ३० हेक्टर जमिनमा अलैंची उत्पादन हुन्छ, दश स्थानीय तहमध्ये भोटखोला गाउँपालिकाको किमाथांकाबाहेकका सबै क्षेत्रमा अलैंचीको उत्पादन हुन्छ ।


पूर्वमा यो जिल्ला अलैंची उत्पादनका लागि उत्तम हावापानी भएको मानिन्छ । गुणस्तरमा पूर्वमै उत्कृष्ट अलैंची उत्पादन हुन्छ । त्यसैले यहाँको अलैंची अन्य जिल्लाको भन्दा महँगोमा किनबेच हुने व्यापारीहरू बताउँछन् । यहाँका सबै क्षेत्रमा अलैंची उत्पादन हुने हावापानी छ ।


प्रकाशित : आश्विन १०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?