कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोड हाउसको दिल्ली यात्रा

सुरेशराज न्यौपाने

काठमाडौँ — नेपाली ब्रान्डका पस्मिना, हस्तकला र लत्ताकपडाले मात्र होइन नेपाली रेस्टुराँ/क्याफे पनि विदेशमा बेग्लै पहिचान बनाउन सफल भएको छ । त्यस्तै पहिचान बनाएको छ भारतको राजधानी नयाँदिल्लीमा नेपाली रेस्टुराँ ब्रान्ड रोडहाउस क्याफेले ।

रोड हाउसको दिल्ली यात्रा

कसरी आइपुग्यो रोड हाउस दिल्लीमा ? कुरा तीन वर्षअघिको हो । करिब दुई दशकको विदेश बसाइपछि रोहन सराफ आफ्नै केही गर्ने भनेर भारत फर्किएका थिए । पारिवारिक मित्र तथा रोड हाउस क्याफेका सञ्चालकद्वय रञ्जन र चन्दन कायस्थलाई भेट्न उनी काठमाडौं गए । भेटमा केही नयाँ काम गर्ने सल्लाह भयो । ‘नयाँ ठाउँमा व्यवसाय गर्ने निष्कर्षमा पुग्यौं,’ सराफले भने, ‘मैले दिल्लीमा गर्ने प्रस्ताव गरें ।’

कस्तो व्यवसाय गर्ने प्रश्न खडा भयो ? उनको रुचिको क्षेत्र भने होटल/रेस्टुराँ थियो । पछिल्लो तीन दशकमा रोड हाउसले हासिल गरेको लोकप्रियतासँग उनी पनि परिचित थिए । ‘म रोड हाउसको फ्रेन्चाइज ब्रान्डको ख्याति र मौलिक स्वादसँग लामो समयदेखि परिचित थिएँ,’ रोडहाउस दिल्ली आगमनको कथा उनले सुनाए ।

कर्मचारीका रूपमा होटल व्यवसायमा अनुभव भए पनि आफैंले व्यवसाय सञ्चालन गरेको उनीसँग अनुभव थिएन । तर, कायस्थ दाजुभाइको अनुभव र रोहनको दृढताले निष्कर्ष निकाल्यो– दिल्लीमा रोडहाउसको फ्रेन्चाइज खोल्ने । हिमालयन जाभा र बाजेको सेकुवाले अमेरिका र भारतको कोलकातामा, फायर एन्ड आइसले फ्रेन्चाइज सञ्चालन ल्याए पनि नयाँदिल्लीमा भने कुनै पनि नेपाली रेस्टुराँ/क्याफेले पाइला राखेका थिएनन् ।

रेस्टुराँ व्यवसाय, त्यसमा पनि भारतको राजधानी दिल्लीमा । यहाँको चर्को प्रतिस्पर्धासँग उनी परिचित थिए । आफ्नै लगानीको पहिलो व्यवसाय भएकाले लामो सर्भे गरे । सयौं रेस्टुराँ पुगे, खाना र वातावरण जाँच्न । रोडहाउसका पिज्जा, पास्तालगायत स्वादिला इटालियन परिकारले ग्राहकलाई लोभ्याउँछ भन्नेमा त उनी ढुक्क थिए । चिन्ता थियो कसरी अरूभन्दा भिन्न वातावरण बनाउने भन्ने ? ‘रोडहाउसका परिकारको विशिष्ट स्वाद र विविधता मन पराइनेछ भन्नेमा त मलाई कुनै शंका थिएन,’ उनले भने ।

उनलाई रेस्टुराँमा खानेकुरा मात्र होइन, सजावट र वातावरणले पनि महत्त्व राख्छ भन्ने लागेको थियो । त्यही भएर इन्टेरियरमा पनि कुनै सम्झौता गरेनन् । रोड हाउसको ब्रान्डलाई तलमाथि हुन नदिन चन्दन र उनीबीच नियमित छलफल हुन्थ्यो । ‘चन्दनसँगको रेस्टुराँ व्यवसायको लामो अनुभव थियो भने मसँग केही नयाँ गर्नुपर्छ भन्ने सोच,’ उनले भने । अनि खुल्यो १६ डिसेम्बर २०१६ मा रोडहाउसको पहिलो भारतीय फ्रेन्चाइज नयाँदिल्लीको ग्रेटर कैलाश छेउको एम वान बजारमा । यो बजार ब्रान्डेड फेसन स्टोर र रेस्टुराँहरूका लागि चिनिन्छ ।

दर्जनौं रेस्टुराँहरूका बीच पनि अरूभन्दा फरक छ रोड हाउस खाना र सजावट दुवै हिसाबले । १७ जनालाई रोजगारी दिएको छ । ‘स्वाद र वातावरणका कारणले छोटो समयमै विशिष्ट रेस्टुराँको पहिचान बनेको छ,’ सञ्चालक रोहन सराफले भने । यसका ग्राहक भारतीय, कूटनीतिक नियोगका कर्मचारी र दिल्लीमा बस्ने नेपाली हुन् । ‘नेपालीहरूका लागि त परिचित ब्रान्ड नै भयो, काठमाडौं घुम्न गएका दिल्लीका ग्राहकहरूले समेत आफ्नो ठानेर आउँछन्,’ उनले भने ।

सराफले रोड हाउसकै थप नयाँ आउटलेटका लागि गृहकार्यसमेत सुरु गरिसकेका छन् । उनी र चन्दनबीच नयाँ आउटलेटका लागि छलफल पनि सुरु भइसकेको छ । नेपाली र नेपाल आउने विदेशी पर्यटकहरूका लागि रोड हाउस नौलो नाम भने होइन । कायस्थ दाजुभाइ रञ्जन र चन्दन संगीतका पनि उत्तिकै पारखी ।

अमेरिकी रक ब्यान्ड द डोर्सको गीत रोड हाउस ब्लुजले दुवैको मनमा बसेको थियो । अनि खुल्यो काठमाडौंको ठमेलमा खुलेको पहिलो रोडहाउस क्याफे । सन् १९९२ मा पहिलो आउटलेटबाट सुरु भएको रोड हाउसको व्यावसायिक यात्रा अहिले काठमाडौं र पोखरामा गरी आठ वटा आउट लेटसम्म फैलिइसकेको छ ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?