कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर छल्ने अर्बपति अभिनेत्री

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — सानैदेखि अभिनय गर्ने उनको सपना थियो । त्यो पूरा मात्रै गरिनन्, सफल पनि भइन् । सफलताको शिखरमा पुगे पनि उनले सपना देख्न भने छाडिनन् । अभिनयपछि गायन, अनि मोडेल र पछि व्यापारलगायतका क्षेत्रमा समेत आफूलाई जोडदार रूपमा प्रस्तुत गर्न भ्याइन् ।

कर छल्ने अर्बपति अभिनेत्री

विश्वकै महँगी अभिनेत्रीमध्ये एक बनिन् । चीनको सर्वाधिक महँगी अभिनेत्री त उनी धेरै पहिले बनिसकेकी थिइन् । धन पनि मनग्ये कमाइन् । अब सायद उनको जीवनमा कुनै कुराको कमी थिएन, छैन । तर, सरकारी कर छलेको आरोप लागेपछि उनी आफ्ना अर्बौं शुभचिन्तक र फ्यानबाट लामो समय टाढिनु पर्‍यो । भूमिगत जीवन बिताउन उनी बाध्य भइन् ।


यो बाध्यता चिनियाँ मेगास्टार नायिका फ्यान बिङबिङले भोग्नुपरेको हो । चीनको क्विङदाओमा ३७ वर्षअघि जन्मेकी बिङबिङ चिनियाँ नायिका, मोडेल, टेलिभिजन प्रोड्युसर र पप गायिका हुन् । सन् १९९८–९९ मा ‘माई फेयर प्रिन्सेस’ टेलिभिजन ड्रामाको एउटा शृंखलाबाट पूर्वी एसियामा चर्चित बनेकी हुन् । आश्चर्यजनक अभिनेत्री फेसन ब्रान्डका लागि एउटा चुम्बन बन्न सफल भएकी छन्, जुन चीनको मुख्य भूमि (मेनल्यान्ड) मा विलासिता सामानको बजारमा स्टार पावरको खोजीमा छिन् । यो उनको विश्वकै मेगास्टार बन्ने तयारी हो ।


क्विङदाओमा जन्मे पनि उनी यान्ताईमा हुुर्केकी हुन् ।


फ्यानसँग असाधारण बाल्यकाल त छँदै थियो, अझ आकांक्षाले पनि भरिएको थियो । केही गर्नका लागि उनी आफ्ना दौतरीभन्दा अलिक पृथक् बन्न सधैं क्रियाशील रहने गर्थिन् । किनभने उनी भीडमा हराउन कहिल्यै चाहिनन् । त्यसैले उनी आफ्नो सपना पूरा गर्न दिनहुँ कठोर संघर्ष गर्न तम्तयार भइन् । १६ वर्षमा हाईस्कुलको शिक्षा पूरा गरेपछि उनले सांघाई सि जिन फिल्म एन्ड टेलिभिजन कलेज र पछि सांघाई थिएटर एकेडेमीमा अभिनय कलाको पढाइ थालिन् ।


त्यहाँ उनले ठूला पर्दाका लागि गजबको अभिनय गर्ने सीप र कौशल सिक्ने अवसर पाइन् । स्नातक गरेको केही समयपछि फ्यानले ‘पावरफुल वुमन’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्न थालिन् । सन् १९९६ देखि १९९९ बीचमा सानो समयको भूमिका निर्वाह गर्नका लागि उनी अगाडि बढिन् । चर्चित भइसक्दा पनि उनी यो क्षेत्रमा भने उमेर र अभिनय कलामा किशोरावस्थामै थिइन् ।


एउटा नेपाली उखान छ, ‘भाग्यमानीका लागि भुत्तै कमारो ।’ हो, फ्यानका लागि यो भनाइ चरितार्थ हुन पुग्यो । उनलाई भाग्यले साथ दिएकै कारण पहिलो महत्त्वपूर्ण ब्रेक पाउनका लागि धेरै पर्खनुपरेन । उनले लोकप्रिय चिनियाँ टेलिभिजन शृंखला ‘माई फेयर प्रिन्सेस’ मा जुन सुओका रूपमा प्रवेश पाइन् । १८ वर्षसम्म फ्यानसँग उनको पहिलेकै घर/ठाउँको नाम जोडिएको थियो ।


उक्त टीभी शृंखलाका लागि दुई सिजनमा काम गरेपछि फ्यान ‘मेनल्यान्ड चाइना’ हानिइन् । त्यहाँ उनी हुआयीसँग छ वर्षका लागि अनुबन्धित भइन् । त्यसपछि तीन वर्षसम्म १७ वटा टेलिभिजन शोमा उनले आफ्नो भूमिका निर्वाह गरिन् । यो सही हो, तीन वर्ष, कैयौं पुरस्कार विजेता फिल्म प्रदर्शनीका साथ चीनमा पहिलेदेखि नै सुपरस्टार छँदै थिए, त्यही बीच फ्यानको प्रभाव तीव्र रूपमा विश्वको अन्य भूभागमा फैलियो । किनभने उनी ५० भन्दा बढी टेलिभिजन र चलचित्र परियोजनामा आफ्नो नाम जोड्न सफल भइसकेकी थिइन् ।


चलचित्रमा एउटा आशाजनक भविष्यका साथ अभिनेत्रीका रूपमा गजबको सफलता प्राप्त गरिरहेकै बेला उनले अर्को सपनाको संसार गायन क्षेत्रलाई बनाउन पुगिन् । सन् २००५ मा उनले आफ्नो पहिलो एल्बम ‘जस्ट बेगुन’ सार्वजनिक गरिन्, जुन कसैको आश्चर्यका लागि घरेलु चार्टमा हावी थिएन । त्यसपछिको वर्षमा ‘फोब्र्स चाइना’ ले फ्यानलाई उनको उत्कृष्टता र प्रतिभाका लागि आफ्नो उच्च सम्मान ‘द स्टार अफ द इयर’ ले सम्मानित गर्‍यो । त्यसो त उनको मन अभिनयमै थियो, फ्यानले हुआयीसग भएको आफ्नो अनुबन्ध समाप्त भएपछि आफ्नै स्टुडियो खोलिन् ।


धेरैले उनलाई चाँडै अवकाशमा जान र १०० मिलियन अमेरिकी डलरभन्दा बढी कमाइपछि आफ्नो सफलताको आनन्द लिनका लागि प्रोत्साहित गर्न तम्सेका थिए । फ्यानले भने ती सबैलाई अस्वीकार गरिदिइन् । सन् २००८ मा उनले बेइजिङमा आफ्नै कला स्कुल सञ्चालनमा ल्याइन् । प्रिन्सिपलका रूपमा सेवा गर्ने बेला आफ्ना आमाबुवालाई स्कुल चलाउन दिएर यी सुपरस्टारले त्यही वर्ष पहिलो चलचित्र ‘रुज स्नो’ को निर्माण गरिन् । उक्त चलचित्र व्यापक प्रशंसा हात पार्न सफल भयो, फलस्वरूप उनी कैयांै पुरस्कारसमेत प्राप्त गर्न सफल भइन् । यसबाट उनी थप हौसिइन् ।


पछिल्लो आठ वर्षयता उनले आफूलाई चीनको सबैभन्दा प्रतिभाशाली अभिनेत्री र निर्माताका रूपमा स्थापित गरेकी छन् । फ्यानको निरन्तर सफलतापछि उनको सम्पत्ति १०० मिलियन अमेरिकी डलरभन्दा बढी पुगिसकेको छ । यसले उनलाई धनाढ्य बनाइदियो, अर्बपति बनेकी छन् । एक वर्षमा १५ देखि २५ मिलियन अमेरिकी डलर कमाएपछि विश्वकै सबैभन्दा बढी रकम लिने अभिनेत्रीका रूपमा आफूलाई परिचित गराइन् । फ्यान हाल वास्तावमै एक फेसन आइकन र रेड कार्पेट ए–लिस्टरका रूपमा भाग्य र लोकप्रियताका साथ बाँचिरहेकी छन्, जुन उनको मनको इच्छा पनि हो ।


सन् २००३ मा फ्यानले ‘सेल फोन’ मा अभिनय गरिन्, जुन त्यो वर्षको सबैभन्दा बढी कमाइ गर्ने चिनियाँ चलचित्र बन्न पुग्यो । सयांै पुरस्कार र प्रशंसासमेत चलचित्रले पायो । उनले अभिनय गरेको चर्चित चलचित्रमा ‘लस्ट इन बेइजिङ (२००७), बुद्ध माउन्टेन (२०११), डब्बल एक्सपोजर (२०१२) र आई एम नट म्याडम बोभरी (२०१६) लगायत हुन् । यी चलचित्रले फ्यानको लोकप्रियतासँगै आम्दानी पनि बढायो । उनले थुप्रै पुरस्कारसमेत जितिन् ।


उनले फ्रेन्च चलचित्र ‘स्ट्रेच’ (२०११), कोरियन ‘माई वे’ र हलिउड सुपरहिरो ब्लकबस्टर ‘एक्स–मेन:डेज अफ फ्युचर पास्ट (२०१४) मा समेत अभिनय गरेकी छन् । अझ उनले एक्समेन, आइरनमेनजस्ता हलिउड चलचित्रको चिनियाँ संस्करणमा अभिनय गरिन् । ९० को दशकमा आफ्नो व्यावसायिक अभिनय करियर थालेकी उनी ‘पावरफुल वुमेन’, ‘लभ ट्राभेल’ र ‘प्रिन्सेस पर्ल’ बाट चर्चित बनेकी हुन् । त्यहींबाट उनी चलचित्र र टेलिभिजन परियोजनामा विस्तारै प्रवेश गरेकी हुन् । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार चीनकै सबैभन्दा हाईप्रोफाइल सेलिब्रेटी फ्यानको सोसल मिडियामा ६ करोड फ्लोअर्स छन् ।


सन् २०१३ मा हाउस अफ लुइस भ्युटोनबाट डिजाइन गरिएको ड्रेस लगाउनेमा उनी पहिलो एसियन अभिनेत्री बन्न सफल भइन् । सामान्य वर्षमा फ्यानले १५ देखि २५ मिलियन अमेरिकी डलरको कमाइ र चलचित्रबाट राम्रै आम्दानी गरिन्, जसबाट उनी विश्वकै सबैभन्दा बढी भुक्तानी लिने अभिनेत्रीमध्ये एक बन्न पुगिन् । उनी ११ अर्ब ८१ करोड ३५ लाख रुपैयाँकी मालिक हुन् ।


पछिल्लो समय उनी करसँग सम्बन्धित विवादमा चर्चामा छिन् । यो वर्षको मध्ययता केही महिनाका लागि उनी भूमिगत भइन् ।


चिनियाँ अधिकारीले उनी कर छलीको आरोपबाट बच्नका लागि भूमिगत भएको दाबी गरेका छन् । अधिकारीहरूले यसै महिना उनले ७० मिलियन अमेरिकी डलर (लगभग ८ अर्ब २७ करोड रुपैयाँ) को ट्याक्स तिर्नुपर्ने घोषणा गरेको छ । उनले हालै सामाजिक सञ्जालमा पोस्ट गर्दै माफी मागेकी छन् । सिन्हाका अनुसार तोकिएको समयमा जरिवाना तिरेमा उनी आपराधिक मुद्दाबाट मुक्त हुनेछिन् ।
(एजेन्सीहरू)

प्रकाशित : आश्विन २०, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?