कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नयाँ नोट वितरण चुनौतीपूर्ण’

यज्ञ बञ्जाडे

काठमाडौँ — दसैं र तिहारका लागि गरिने नयाँ नोट वितरण चुनौतीपूर्ण बन्दै गएको छ  । मागअनुसार आपूर्ति हुन नसकेको, नोट छपाइ तथा व्यवस्थापन खर्च थपिँदै गएकोलगायत कारण नोट वितरण चुनौतीपूर्ण बन्दै गएको हो  ।

‘नयाँ नोट वितरण चुनौतीपूर्ण’

एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिणाममा नोट थुप्रिँदै गएको छ ।

बिहीबारसम्म करिब ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा नयाँ र प्रयोग गर्न सकिने सुकिला गरी ३४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई भुक्तानी भएको छ । राष्ट्र बैंकले असोज २९ गतेसम्म नोट वितरण गर्नेछ । यो वर्ष करिब ७० देखि ७२ अर्ब रुपैयाँ राष्ट बैंकबाट बाहिरिने अनुमान छ ।

पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नयाँ नोटको माग बढिरहेकाले आउँदा दिनमा वितरणको काम चुनौतीपूर्ण हुने देखिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन प्रमुख लक्ष्मीप्रपन्न निरौललाले बताए । ‘स्टकमा सुकिला नोट छन् तर नागरिकबाट नयाँ नोटको मात्र माग हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा स्टकमा रहेको सुकिला र नयाँ दुवै नोटको आयु घट्छ । यो नोक्सान राष्ट्रले व्यहोर्नुपर्छ ।’ नयाँ नोटको बढ्दो मागले विकृति पनि भित्र्याउन थालेको छ । जसरी भए पनि नयाँ नोट प्राप्त गर्ने प्रतिस्पर्धा बढेकाले विकृति पनि भित्रन थालेको जनाइएको छ ।

‘संस्थाले नयाँ नोट वितरण गर्ने निर्णय गरिसक्यो, जसरी भए पनि चाहियो भनेर माग्न आउने सहकारी संस्थाहरू धेरै छन्,’ मुद्रा व्यवस्थापन प्रमुख निरौललाले भने, ‘अब उनीहरूको माग कसरी व्यवस्थापन गर्ने ?’ राष्ट्र बैंकले नयाँ नोट वितरण कार्यलाई प्रत्साहन गर्न नहुने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । मुलुकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अपनाइसकेकाले राष्ट्र बैंकले आफ्ना गतिविधि पनि त्यस्तै बनाउनुपर्ने उनको सुझाव छ । ‘नयाँ नोट र पुनारो नोटको मूल्य समान हो, नयाँ नोट छपाइ तथा वितरणमा ठूलो व्ययभार पर्छ,’ उनले भने, ‘यो कुरा सरकार र राष्ट्र बैंकले नागरिकलाई बुझाउन सक्नुपर्छ ।’

खसगरी दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढछ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्रीहरू सुझाउँछन् । उनीहरूले नयाँ नोट वितरणमा सात चुनौती देखेका छन् ।

पहिलो, कारण नोट छपाइ तथा व्यवस्थापन खर्च हो । हाल राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । दोस्रो, नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । यो वर्ष वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ ।

नागरिकको माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ । यसरी हरेक वर्ष ठूलो मात्रामा नयाँ नोट छपाइ गर्दा प्रयोग नभएकै अवस्थामा स्टकमा रहेको पुरानो नोटको पनि आयु सकिँदै जाने र नयाँ नोटको आयु पनि सकिने हुन्छ । तेस्रो, दसैंमा नयाँ लत्ता कपडासँगै नयाँ नोटलाई पनि प्रतिष्ठा मान्ने चलन सहर बजारमा विकसित हुँदै गएको छ । यस्तो प्रवृत्तिले समाजमा विकृति भित्र्याउँछ । प्राय नागरिकसँग नोट जनत गर्ने बानी छैन । खासगरी दसैं र तिहारमा पूजा, टीकाका लागि विभिन्न रङ र अक्षता प्रयोग गरिन्छ । यसकारण यो अवधिमा नोट धेरै फोहोर हुन्छ ।

दसैंमा टीका र जमरासँगै दक्षिणा दिने चलन छ । यसो गर्दा नोटमा रङ लाग्ने सम्भावना धेरै हुन्छ । यसैगरी तिहारमा पैसा तथा धन सम्पत्ति पूजा गर्ने चलन छ । पूजा गर्दा रङको प्रयोग हुने भएकाले नोट फोहोर हुन्छ । त्यसले नोटको आयु घटाउँछ ।

चौथो, केही जिल्लाहरूमा नयाँ नोट नपुगेकका समाचारहरू सार्वजनिक भएका छन् । यो स्वाभाविक पनि हो । राष्ट्र बैंकले आफ्नो कार्यालय रहेको स्थानबाहेक नोट कोष सुविधा लिएका बैंकमार्फत नोट पुर्‍याउँदै आएको छ । सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्थाले हजार र पाँच सय दरका नोट माग्छन् । ठूला दरका नोट ढुवानी गर्नै सजिलो हुने, कम खर्च लाग्नेलगायत कारण ती दरका नोटको माग हुने गरेको हो । दसैंमा तिनै बैंक तथा वित्तीय संस्थाले साना दरका नोट माग गर्छन् । हरेक नोट कोष सुविधा लिएका बैंकमा नोट पुर्‍याउने जिम्मा राष्ट्र बैंकको हुन्छ । यसकारण एकै पटक सबै ठाउँमा नोट पुर्‍याउन सकिँदैन ।

पाँचौं, वित्तीय साक्षरताको अभाव अर्को कारण हो । पुरानो र नयाँ नोटको मूल्य समान हो । बजारमा नयाँ नोटले बढी र पुरानोले कम सामान खरिद गर्ने भन्ने हुँदैन । यो चेतना आम नागरिकहरूमा पुग्न सकेको छैन । नागरिकले घण्टौं लाइन लागेर पनि नयाँ नोट लिन चाहनुले त्यो प्रमाणित गर्छ । छैठौं, नयाँ नोटको माग बढिरहँदा सुकिला नोट व्यवस्थापन प्रमुख चुनौती बन्ने देखिन्छ । नागरिकलाई हरेक वर्ष ठूलो मात्रामा नयाँ नोट चाहिने तर त्यो नोट फर्किएर राष्ट्र बैंकमा आउँदा पुराना भएर आउँछन् ।

सातौं, गत वर्षको दसैं र तिहारमा राष्ट्र बैंकले १३ अर्ब नयाँ नोट सटही गरेको थियो भने ५० अर्ब रुपैयाँ बराबर भुक्तानी बैंक तथा वित्तीय संस्थालाई दिएको थियो । यो वर्ष यो गत वर्षभन्दा केही धेरै परिणाममा पैसा बजारमा पठाउने राष्ट्र बैंकको योजना छ । राज्यले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अपनाउने, सरकारकै एक निकाय राष्ट्र बैंकले हरेक वर्ष धेरै परिणाममा नयाँ नोट वितरण गर्नु अमिल्दो भएको विज्ञ बताउँछन् ।

प्रकाशित : आश्विन २८, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?