कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा टर्कीको मासुको माग बढ्यो

‘सोडियम, पोटासियम, आइरनजस्ता शरीरलाई चाहिने तत्त्व अत्यधिक मात्रामा हुने भएकाले यो मासु मानव स्वास्थ्यका लागि अति उत्तम’
शंकर आचार्य

पर्सा — सेतो मासुका रूपमा कुखुराको मासु खाँदै आएका यस भेगका मांसाहारीले टर्कीको मासु रुचाउन थालेका छन्  । दसैंको समयमा टर्कीको माग बर्सेनि बढदै गएको छ  ।

दसैंमा टर्कीको मासुको माग बढ्यो

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा मासु प्रयोजनका लागि टर्की चरा खोज्दै आउने उपभोक्ताको संख्या यस वर्ष तुलनात्मक रूपमा बढेको केन्द्रले जनाएको छ ।


ब्रोइलर कुखुरा मात्र नभई खसीको मासुको समेत विकल्प बन्न सक्ने टर्कीको मासुका पारखी बर्सेनि बढदै गएकाले यस वर्ष केन्द्रमा टर्की खरिद गर्न आउने उपभोक्ताको संख्या बढेको केन्द्रका कुखुरा अनुसन्धान इकाईका पशु स्वास्थ्य वैज्ञानिक डा. अजितकुमार झा बताउँछन् । ‘केन्द्रमा टर्की खोज्दै आउनेहरू बाक्लै छन्, हालै केन्द्रमा रहेको स्टकमध्ये १ सय ४ वटा टर्की बिक्री गर्‍यौं,’ उनले भने, ‘जसबाट २ लाख रुपैयाँभन्दा बढी राजस्वसमेत संकलन भएको छ, स्टक सकिएपछि पनि टर्कीको खोज्दै आउने घटेका छैनन् ।’ केही वर्षअघिसम्म यस भेगका उपभोक्ता टर्कीको मासु उति सारो रुचाउँथेनन् । ३/४ वर्षयता भने टर्कीकै मासु खोज्दै आउने उपभोक्ता बढेका छन् । अझै पनि दैनिक ३/४ जना टर्की खोज्दै आएको उनले बताए ।


कार्यालयले अनुसन्धान र चल्ला उत्पादनको काम सकिएका पोथी तथा आवश्यकताभन्दा बढी रहेका भाले टर्की सर्वसाधारणलाई बिक्री गर्छ । ज्युँदो टर्की प्रतिकिलो ५ सय रुपैयाँका दरले बिक्री गरिएको उनले बताए । पोथी ४ देखि ५ किलो र भाले ८ देखि ९ किलोसम्मका हुन्छन् । हाल केन्द्रमा अण्डा उत्पादन र अनुसन्धान प्रयोजनका लागि १ सय ५० टर्की बिक्री नगरी राखिएको छ ।


खसीको मासुको उत्तम विकल्प मानिने टर्कीको मासुमा कालेस्ट्रोल एकदमै कम र प्रोटिन अत्यधिक हुन्छ । बोसो कम हुने र सोडियम, पोटासियम, आइरनजस्ता मानव शरीरका लागि चाहिने तत्त्व अत्यधिक मात्रामा हुने भएकाले यो मासु मानव स्वास्थ्यका लागि अति उत्तम हुने डा. झा बताउँछन् । केन्द्रको हयाचरीमा सन् २००१ देखि टर्कीको चल्ला उत्पादन गर्न थालिएको हो । भारत बरेलीस्थित इज्जतनगरबाट टर्कीका अण्डा ल्याएर केन्द्रले टर्कीको उत्पादन र अनुसन्धान गरिरहेको छ । १० देखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम हुने ठाउँमा सहजै टर्की पाल्न सकिन्छ । सुरुको १ महिना २८ प्रतिशत प्रोटिन युक्त दाना दिनुपर्ने यसलाई कुखुराको दाना पनि खुवाउन सकिन्छ ।


एक महिना हुर्किसकेपछि यसलाई घाँस तथा भान्साबाट निस्कने जुठोपुरोसमेत खुवाउन सकिन्छ । यसलाई स्थानीय जातको कुखुराजस्तै सहजै पाल्न सकिन्छ । ६ महिनामा भाले टर्कीको तौल ६ किलोसम्म र पोथीको ३ किलोसम्म हुन्छ । सुरुका वर्षमा किसानले टर्कीपालनप्रति खासै रुचि नदेखाए पनि ४ वर्षयता भने आकर्षण बढेकाले चल्लाको माग पनि बढेको डा. झा बताउँछन् ।


२०१३ अघि सम्म पनि वार्षिक २ सयदेखि ३ सय चल्लाले किसानको माग धान्दै आएकामा हाल भने वार्षिक १ हजारदेखि १ हजार ५ सयसम्म चल्लाको माग रहेको उनले बताए । केन्द्रले हाल साताको १ सय ५० वटासम्म चल्ला उत्पादन गरिरहेको छ । केन्द्रले मात्र मुलुकमै सरकारी स्तरमा हालसम्म टर्कीका चल्लाको व्यावसायिक उत्पादन गर्दै आएको छ ।


हाल पनि काठमाडौं, पोखरा, चितवन, धरान, रौतहट, मकवानपुर, ललितपुर, चन्द्रनिगाहपुर, दाङ क्षेत्रका थुप्रै किसानले यहाँबाट चल्ला खरिद गरी लग्ने गरेको उनले बताए । केन्द्रले १ साताको चल्ला १ सय रुपैयाँमा बिक्री गर्छ । केन्द्र आफैंले चल्ला बिक्रीको व्यवसाय गर्नेभन्दा किसानलाई टर्कीपालनतर्फ आकर्षित गर्न सस्तो दरमा चल्ला बिक्री वितरण गरिरहेको उनले बताए ।


उपभोक्ताले केही वर्षयता टर्कीको मासुको स्वाद रुचाउन थालेको र यसको माग बढे पनि पर्सा बाराका किसानले हालसम्म पनि टर्कीको व्यावसायिक पालन नगरेकाले उपभोक्ताहरू टर्की खोज्दै केन्द्रमै आउने गरेका छन् । पहाडी तथा पूर्वी एवं पश्चिम तराईका किसानले यसको व्यावसायिक पालन गरेर राम्रो आम्दानी गर्न थाले पनि यस भेगका किसानमा अझै टर्कीपालनको आकर्षण बढ्न सकेको छैन ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?