ट्रम्पद्वारा केन्द्रीय बैंक प्रमुखको आलोचना

रासस/एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलका विरुद्धमा मंगलबार पुन: आक्रोश व्यक्त गरेका छन्  । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ  ।

ट्रम्पद्वारा केन्द्रीय बैंक प्रमुखको आलोचना

अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताए । ‘हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं तर उनी (पावेल) ब्याजदर बढाउँछन्,’ उनले भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेको जस्तो देख्दैछु ।’

उनले गत साता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताए । ट्रम्पले पावेलको हिँडाइ आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिए । यसै वर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुन: ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले वृद्धि हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिहरूले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरूमाथि कडा टिप्पणी गर्दै आएका छन् ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि चार वर्षको हुन्छ र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट सुरु भएको हो । ट्रम्पले भने, ‘पावेल न्यून ब्याजदर रुचाउने व्यक्ति होलान् भन्ने मेरो सोचाइ थियो । तर उनी त्यस्तो होइन रहेछन् ।’

राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ ।

‘मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा ब्याजदरमा चाँडो–चाँडो वृद्धि गरिएको छ,’ ट्रम्पले भने । अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४.२ प्रतिशत पुगेको छ र यो चार वर्षयताकै सबैभन्दा उच्च हो ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?