कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकको रोजाइमा जंगली च्याउ

जंगली च्याउ अमेरिका, बेलायत र हङकङसम्म पुग्ने गरेकाे छ
आश गुरुङ

लमजुङ — प्राय: मानिस जंगली च्याउ खान डराउँछन् । जंगली च्याउ खाएर बिरामीदेखि मृत्यु भएकासम्मका खबरहरु सार्वजनिक हुने गर्छन् । तर, लमजुङको च्याउ अमेरिका, बेलायत, हङकङलगायतका देशमा समेत पुग्ने गरेको छ । 

पर्यटकको रोजाइमा जंगली च्याउ

जंगली च्याउ विदेशी र स्वदेशी पर्यटकको रोजाई बनेको छ । चेक रिपब्लिकबाट आएकी एलिस्का माएरोभाले एक महिनाको अवधिमा प्राय: जंगली च्याउ खाएको बताइन् । ‘नेपाली च्याउ । त्यो पनि जंगलको निकै मिठो हुँदो रहेछ । एक महिना बस्दा मेरो तरकारी प्राय: जंगली च्याउ हुन्थ्यो ।’ उनले मस्र्याङदी गाउँपालिका ३, सिउरुङस्थित लताकुन्ज आधारभूत विद्यालयमा १ महिना स्वयंसेवी बनेर विद्यार्थीलाई पढाइन् । ‘म मात्रै होइन, सँगै आएका ३/४ जनाले पनि जंगली च्याउ निकै मन पराए,’ उनले भने । जंगलबाट खोजेर ल्याएको आलो च्याउ र सुकाएको च्याउ दुवै स्वदिष्ट भएको उनले बताइन् ।


पहाडी गाउँघरमा तरकारीको रुपमा प्रयोग गर्न र देशविदेश कोसेली पठाउन सिउरुङका गाउँका छतमा च्याउ सुकाइएको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव उमरबहादुर गुरुङले बताए । उनका अनुसार सुकेको च्याउ अमेरिका, बेलायत, हङकङ, अष्ट्रेलिया, भारत पुग्ने गरेको छ ।

‘कतिपय विदेशी पर्यटकले च्याउ आफ्नो देश लैजानुहुन्छ । गाउँलेले विदेशमा रहेकालाई कोसेली पनि पठाउने गरेका छन् । उनकाअनुसार स्वदेशी पर्यटक गाउँमा आउनेवित्तिकै हातखाली जाँदैनन् । ‘पर्यटकले मन पराउने भनेको च्याउ र भट्टमास हो । नलिइकन जाँदैनन्,’ उनले भने । सुकेको च्याउ १ पाथीको १ हजार रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । ‘गतवर्ष ८ सय थियो । ५० रुपैयाँ बढाउँ भन्दा पर्यटकले नै १ हजार तिरेर लैजान्छन् । त्यही दर बस्यो,’ उनले भने ।


च्याउ, मासु नखानेका लागि चाडबाड तथा अन्य समयमा निकै उपयोगी मानिन्छ । भदौ, असोज र कार्तिक महिना लेकका जंगलमा च्याउ पाइने स्थानीय बताउँछन् । सिउरुङमात्रै नभएर उत्तरी भेगको ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, उस्ता, ताराचोक, छिनखोला, लुदी, पश्चिमोत्तरको भुजुङ, पसगाँउ, घनपोखरा लगायत गाँउका जंगलमा च्याउ पाइने स्थानीय बताउँछन् । वर्षायाम सकिने बेला जंगलको ओसिलो रुखमा च्याउ उम्रिने गर्छ ।


लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङको घरका छतमा सुकाइएका जंगली च्याउ । तस्बिर: कान्तिपुर

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका बलबहादुर तामाङले दसैंतिहारको समय च्याउ खोज्ने मौसम भएको बताए । उनका अनुसार आलो र सुकेको च्याउ खाने पारखी छुट्टाछुट्टै छन् । जंगलबाट ल्याएपछिको आलो च्याउ प्रतिपाथी २ सय रुपैयाँमा विक्री हुने गरेको छ । सुकाएको च्याउ सुकुटी प्रतिपाथी १ हजारदेखि १ हजार २ सयसम्म विक्री हुने गरेको उनले बताए ।‘काठमाडौं, पोखरा, चितवन, बेंसीसहरबाट फोन गरेर च्याउ पठाइदेउ भन्छन्,’ उनले भने, ‘च्याउको प्रकार हेरेर यसको मुल्य पनि फरक–फरक हुन्छ ।’


गुरुङ गाउँमा च्याउलाई ‘तिमु’ भनिन्छ । गाउँमा पाँतिमु, नाग्रिमु, नौसिमु, कसितिमु लगायत पाइन्छ । सामान्यतय: गाउँले भाषामा जंगली च्याउलाई रातो, सेतो र पहेलो च्याउ नामले चिनिन्छ । मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका कामसार्की गुरुङले एक पटक च्याउ खोज्न जाँदा डोकोभरी ल्याउन सकिने बताए । ‘अहिले टिपेको च्याउ हिउँदमा सुकुटी बनाएर तरकारी खाने गरिन्छ । च्याउ स्वास्थ्यका लागि समेत फाइदाजनक छ । यसको बोसो हुँदैन,’ उनले भने । गाउँदेखि सहर र विदेशमा रहेका आफन्तले च्याउको माग अत्याधिक गर्ने गरेको उनले बताए ।

प्रकाशित : कार्तिक २४, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?