कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोटेकोसीको सेयर भोलिदेखि खुल्ने, सर्वसाधारणले किन्न नपाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्य भोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि सेयर बिक्री खुला गर्दै छ । कर्मचारी सञ्चय कोषमा रकम संकलन गर्ने सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि कम्पनीले सेयर जारी गर्न लागेको हो ।

अहिले जारी हुन लागेको सेयर सर्वसाधारणले खरिद गर्न पाउँदैनन् ।


कम्पनीले अंकित मूल्य १ सयका दरले १ करोड ४४ लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता र संस्थापक सेयरधनी संस्था (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी र सिन्धु–भोटेकोसी हाइड्रो पावर कम्पनी) का लागि २१ लाख कित्ता र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


उक्त सेयरमा सञ्चयकर्ताले कात्तिक २८ देखि मंसिर १४ सम्म आवेदन दिन सक्छन् । सञ्चयकर्ताले न्यूनतम ५० देखि ५ सय कित्तासम्म माग गर्न सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सञ्चयकर्ताले सेयर फारम भर्दा १० ले भाग जान मिल्ने गरी भर्नुपर्नेछ ।


संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि भने मंसिर १९ देखि २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सञ्चयकर्ताको हकमा ०६८ मंसिर २२ मा बहाल रहेका र ०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले सेयर आवेदन दिन सक्ने बताइएको छ ।


यसैगरी संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यूनतम ५० देखि ५ सय कित्तासम्म र सञ्चय कोषका कर्मचारीले ५० देखि १ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयरमा आवेदन दिन लगानीकर्ताले हितग्राही (डिम्याट) खाता, बैंक खाता, सिआस्वा रजिस्ट्रेसन नम्बर (सीआरएन) र बैंक खातामा पर्याप्त रकम रहेको हुनुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २७, २०७५ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?