कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्सी बनाउन ३२ सय टन खाद्यान्न

प्रताप विष्ट

हेटौंडा — दुर्गम जिल्लाले खाद्यान्न अभाव व्यहोर्दै आइरहेको अवस्थामा मकवानपुरमा भने बर्सेनि ३ हजार २ सय टनभन्दा बढी खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग गरिन्छ । 

रक्सी बनाउन ३२ सय टन खाद्यान्न

यो खाद्यान्नले करिब १६ हजार जनसंख्यालाई वर्षदिन खान पुग्छ । जिल्लामा उत्पादित खाद्यान्नको २ दशमलव ४८ प्रतिशत खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग हुने गरेको प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि–अर्थविज्ञ सुजन कँडेलले बताए । ‘वर्ष दिन खान एक व्यक्तिलाई २ सय १ किलो खाद्यान्न आवश्यक पर्छ,’ उनले भने ।


कृषि तथा सहकारी मन्त्रालयका अनुसार मकवानपुरमा गत वर्ष २ हजार १ सय ४६ टन खाद्यान्न बचत भएको छ । कोदो उत्पादनको २० प्रतिशतभन्दा बढी मादक पदार्थ उत्पादनमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा २ हजार ६ सय ६० टन कोदो उत्पादन हुने गरेको छ ।


त्यसमध्ये करिब ५ सय ३१ टन कोदो जाँड रक्सी उत्पादनमा प्रयोग हुने गरेको हो । २ हजार ७ सय टन मकै र १ सय ५ टन धान मादक पदार्थ उत्पादनमा प्रयोग गर्ने गरिएको छ । एकातिर खाद्यान्नको अभावले जंगली कन्दमूल खाएर जीविका धान्दै आएका समुदाय नै यहाँ छन् भने अर्कोतिर खाद्यान्नलाई मादक पदार्थ बनाएर दुरुपयोग गर्ने समुदाय पनि उल्लेख्य रहेको कँडेलले बताए ।


मकवानपुरमा कोदो र मकै उत्पादन भएपछि जाँड रक्सी बनाउने परम्परा छ । काजकिरियामा प्रसस्तै जाँड रक्सी बनाउने गरिन्छ । ‘खाद्यान्न कुहाएर मादक पदार्थ उत्पादन गर्ने प्रवृत्तिलाई नियन्त्रण मात्र गर्न सके जिल्लामा उत्पादित खाद्यान्न अन्य जिल्लामा पठाउन सकिन्थ्यो,’ कँडेलले भने, ‘जाँड रक्सीले समाजमा विकृती बढाउनुको साथै खाद्यान्नको दुरुपयोग पनि भएको छ ।’ मकवानपुरको ग्रामीण भेग र हेटौंडा उपमहानगरपालिका वरिपरिका गाउँ बस्तीमा घरेलु मदिरा उत्पादन गरिन्छ । स्थानीय पसल, हेटौंडा र थाहा नगरपालिकाका भट्टीहरूमा उत्पादित घरेलु मदिरा खपत हुने गर्छ ।


हेटौंडा उपमहानगरपालिकाका भट्टीहरूमा बसामाडी, चुरियामाई, पदम पोखरीमा उत्पादन गरिएका घरेलु मदिरा खपत हुने गरेको छ । प्रहरीले ग्रामीण भेगबाट बिक्रीका निम्ति हेटौंडातर्फ ल्याएका र हेटौंडाका भट्टीहरूमा बिक्रीका निम्ति राखिएका घरेलु मदिराहरू नष्ट गर्ने गरेको छ । ‘चालु आवको चार महिनाको बीचमा विभिन्न स्थानबाट ४ हजार ४ सय १५ लिटर घरेलु मदिरा नष्ट गरिएको छ,’ प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने ।


मकवानपुरका विभिन्न ग्रामीण भेगमा व्यावसायिक ढंगले घरेलु मदिरा उत्पादन गर्ने गरिन्छ । जनजातिको जनसंख्या बढी रहेको यस जिल्लामा प्रहरी प्रशासनले मदिरा उत्पादनमा रोक लगाउन समस्या छ । मकवानपुर जिल्लामा भट्टीहरू कति छन् भन्ने यकिन तथ्यांक नभए पनि एउटा गाउँपालिकामा कम्तीमा पनि ८ सयभन्दा बढी भट्टी हुन सक्ने अनुमान गरिएको छ । हेटौंडा र थाहा नगरपालिकामा १ हजार ५ सयभन्दा बढी भट्टी छन् । यी सबै भट्टीहरूबाट घरेलु मदिरा बिक्री हुने गरेको छ ।


मकवानपुर जिल्लाका बासिन्दालाई वर्ष दिन खानका लागि ८७ हजार ४ सय ६ टन खाद्यान्न आवश्यक पर्छ । अघिल्लो वर्ष मकवानपुरमा ८९ हजार ५ सय ५३ टन खाद्यान्न उत्पादन भएको थियो । २ हजार १ सय ४६ टन खाद्यान्न बचत भएको थियो । जनगणना ०६८ अनुसार जिल्लाको जनसंख्याको वृद्धिदर अत्यन्त न्यून भएकाले उत्पादित खाद्यान्न बचत हुन गएको हो । विगतमा जिल्लाको प्रक्षेपण गरिएको जनसंख्याभन्दा कम भएकाले खाद्यान्न बचत हुन गएको कृषि विज्ञहरूको धारणा छ ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?