कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सुन्तला दोब्बर उत्पादन हुने संकेत

करिब १ अर्बको सुन्तला फलेको अनुमान
प्रदीप मेन्याङ्बो

सुनसरी — करिब एक महिना ढिलो सिजन सुरु भए पनि सुन्तलाको उत्पादन यो वर्ष पूर्वी पहाडी भेगमा गत वर्षको तुलनामा दोब्बर बढी उत्पादन हुने संकेत देखिएको छ ।

सुन्तला दोब्बर उत्पादन हुने संकेत

स्थानीय कृषक, व्यापारी र धरानस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अनुसार यो वर्ष सुन्तलाको थोक कारोबार १० हजार टन अनुमान गरिएको छ । यो परिमाणको सुन्तलाको थोक मूल्य करिब १ अर्ब रुपैयाँ हुन आउँछ ।


गत वर्ष कोसी करिडोरका पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला थोक मूल्य औसतमा ९० रुपैयाँ प्रतिकेजीले ५३ करोड रुपैयाँको कारोबार भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।


उनले भने, ‘यो वर्ष पूर्वका धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ र संखुवासभामा गत वर्षको तुलनामा दोब्बर सुन्तला उत्पादन भएको रिपोर्ट आइरहेका छन् ।’


तिहार सकिएलगत्तै धरानको कृषिउपज बजारमा दैनिक २० देखि ३० टन सुन्तलाको कारोबार भइरहेको छ । बढी उत्पादन भए पनि बिहीबारको थोक मूल्यमा ठूलो साइजको सुन्तला प्रतिकेजी १ सय २० रुपैयाँ थियो । गत वर्ष भने यही सिजनमा थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ मात्र थियो ।


पछिल्लो समयमा सुन्तला बढी उत्पादन गर्ने जिल्ला धनकुटालाई भोजपुरले उछिन्ने संकेत पनि देखाएको भट्टराईले बताए । उनले भने, ‘धरानको कृषि उपज बजारमा सुन्तला ल्याउनका लागि भोजपुरमा सिधै यातायात र ढुवानी सेवा विस्तार भएकाले त्यहाँ सुन्तला कृषक बढेकाले भोजपुर अग्रस्थानतर्फ लम्केको संकेत देखिएको छ ।’


सुन्तलाका मुख्य व्यापारी ज्ञानहादुर बस्नेतले भोजपुरमा भरखर मात्र ढुवानी साधनहरू जान थालेकाले बढी सुन्तला आउने क्रम सुरु भएको बताए । उनले भने, ‘अब धनकुटापछि भोजपुरमा सुन्तला उत्पादन बढ्ने त्यहीँका कृषकको भनाइ छ । कृषकका लागि यो सुखद हो ।’


उनका अनुसार धनकुटामा सुन्तलाको व्यवसाय तीन दशकदेखि भएको र पुराना बोट भएकाले पनि कमै उत्पादन हुन थालेको तर भोजपुरमा सुन्तलाका नयाँ कृषकको संख्या बढ्दै गएकाले त्यहाँबाट बढी उत्पादन हुने संकेत देखिएको हो । विगत वर्षमा धरानमा आउने सुन्तलामध्ये धनकुटाको बुधुक, बोधे, खोकुबाट मात्र करिब ६० प्रतिशत धानेका थिए ।


यो वर्षदेखि भोजपुरको दिंगलाबाट सिधै आइरहेको छ । एक साल बढी फल्ने र अर्को साल कम फल्ने भएकाले पनि गत वर्षको तुलनामा यो वर्ष दोब्बर उत्पादन भएको कृषकले बताए ।


सुन्तला व्यापारी टीकाराम श्रेष्ठका अनुसार धनकुटाको खोकुको सुन्तला अधिक गुलियो भएकै कारण राष्ट्रिय ख्याति कमाए पनि केही वर्षयतादेखि खाल्सा क्षेत्रमा बोट नै मर्दै गएको र उत्पादनमा ह्रास आएको छ । त्यताको पूर्ति भोजपुरले गर्न थालेको उनले बताए । पूर्वमा सुन्तलाको कारोबार कात्तिकबाट सुरु भएर चैत पहिलो सातासम्म हुने गरेको छ । मुख्य सिजन पुस र माघ हो ।


केही वर्ष पहिले धरानबाट भारत र बंगलादेश निर्यात भए पनि हाल ती मुलुकमा निर्यात हुँदैन । सुन्तला निर्यात नभए पनि नेपालका पूर्वी सहर इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुरलगायतका उपभोक्ताले खपत गर्ने गरेका छन् ।


धरानको कृषि बजारमा सुन्तलाको मात्र १ अर्ब रुपैयाँको कारोबार हुने गरे पनि हालसम्म शीतभण्डार स्थापना हुन सकेको छैन । शीतभण्डार स्थापना भएमा किसानले थप दोब्बर मूल्य पाउने बजार व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?