कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोलेरै अर्बपति

धनीका कुरा
आफ्नो घर नहुँदा कारमै सुत्थे
दिनेश यादव

काठमाडौँ — अमेरिकाको गरिब परिवारमा ६८ वर्षअघि फिल म्याकग्रको जन्म भएको हो । उनको परिवारलाई दुई छाक टार्नै धौधौ थियो । घरबारविहीन पनि थिए, उनी । घर नभएकै कारण बुबासँग कारभित्रै कयौं रात बिताएका थिए । कारमै बस्थे, सुत्थे ।

बोलेरै अर्बपति

गरिबीका कारण १२ वर्षका हुँदा फिलका लागि कार नै घर बनेको थियो । हाल उनी एक चर्चित अमेरिकी टेलिभिजनका प्रस्तोता हुन् । टेलिभिजनमा आफ्नो सो नपरेको दिन उनी अन्य प्रस्तोताहरूका लागि अतिथि बनेर अन्य कार्यक्रममा सहभागी हुन्छन् । विभिन्न शीर्षकमा पुस्तकसमेत प्रकाशित गर्न उनी भ्याइसकेका छन् । ‘डा. फिल’ का नामले पनि चर्चित उनी मनोचिकित्सकसमेत हुन् । आज उनको हैसियत धेरैको कल्पनाभन्दा बाहिर छ ।

‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार फिल म्याकग्रवको कुल सम्पत्ति करिब ४६ अर्ब रुपैयाँ छ । टेलिभिजन सो, पुस्तकलेखन, तौल घटाउने योजना र अन्य संयुक्त लगानीमा सञ्चालित व्यापारबाट उनले अर्बौं सम्पत्ति जोडेका हुन् । विश्वका महँगा टेलिभिजन प्रस्तोताहरूमध्ये उनी पनि एक हुन् । सर्वाधिक रकम लिने २१ जना सेलिब्रेटीमा उनी १७ औं स्थानमा छन् ।

कुनै बेला उनको वार्षिक तलब १० अर्ब रुपैयाँभन्दा बढी थियो । ‘द रिचेस्ट’ अनलाइनका अनुसार सन् २०१६ मा उनले १० अर्ब रुपैयाँ, २०१५ मा ८ अर्ब, २०१४ मा ८ अर्ब ८५ करोड रुपैयाँ र २०१३ मा ८ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कमाएका थिए । हाल उनको वार्षिक आम्दानी ९ अर्ब १९ करोड छ । सन् २०१५ मा उनी विश्वका सबैभन्दा बढी कमाउने सेलिब्रेटीमध्ये १५ औं स्थानमा आफ्नो नाम दर्ज गराउन सफल भएका थिए ।

१ सेप्टेम्बर १९५० मा अमेरिकाको ओक्लाहोमास्थित भिनिटामा उनको जन्म भएको हो । हाल क्यालिफोर्नियाको बेभेर्ली हिल्समा उनी बसोबास गर्छन् । उनले टुल्सा विश्वविद्यालयमा फुटबलमा छात्रवृत्ति पाएका थिए, जहाँ उनले ‘मिडल लाइन ब्याकर’ का रूपमा खेलेका थिए । उनले विभिन्न पुस्तकहरूसमेत लेखेका छन्, तीमध्ये अधिकांश व्यावसायिक रूपमा सफल छन् ।

अमेरिकी म्यागेजित ‘फोब्र्स’ का अनुसार यो वर्ष सय सेलिब्रेटीको सूचीमा उनी २२ औं स्थानमा छन् । उनले टीभीमा सञ्चालन गर्ने ‘टक सो’ सर्वाधिक रुचाइएका छन् । ‘द बुल’, ‘द डक्टर्स’ र ‘डेली मेल टीभी’ उनका चर्चित टीभी सो हुन् । नियमित टीभी सो ‘द ओप्राह विन्फ्रे’ हिट हुनुअघि उनको जीवन अत्यन्तै दयनीय र संघर्षपूर्ण थियो । उनी घरविहीन थिए । ‘बिजनेस इन्साइडर’ का अनुसार १२ वर्षको उमेरमा उनी आफ्ना बुबासँग कन्सास सिटीमा कारभित्रै सुत्ने गर्थे ।

धेरै वर्षको संघर्षपछि उनको परिवारले जसोतसो एउटा मात्र बेडरुम भएको अपार्टमेन्ट खरिद गर्‍यो । त्यो पनि विद्युत्, पानी सुविधा नभएको अपार्टमेन्ट । धेरै दिन उनले यसरी बिताउनु परेन । त्यसताका उनका बुबाले मनोचिकित्सामा चासो राख्दै यसैमा अभ्यास थालेका थिए । यसमा सफल भएपछि आम्दानी पनि बढयो । पछि म्याकग्रवले पनि बुबालाई पछयाएका थिए ।

यसका लागि उनले डिग्री हासिल गरे । डा. फिलले बुबाको पदचिह्नमा हिँड्ने निर्णयसँगै उनले सन् १९७५ मा मिडवेस्टर्न स्टेट युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातक गरे, सन् १९७६ मा एक्सपेरिमेन्टर साइकलजीमा स्नातकोत्तर सिध्याएका हुन् । सन् १९७९ मा उनले नर्थ टेक्सास युनिभर्सिटीबाट क्लिनिकल साइकलजीमा पीएचडीको उपाधि पनि हासिल गरे ।

कुनैबेला घरसमेत नभएका डा. फिलले सन् २०१३ मा लस एन्जेलसस्थित होलिउड हिल्समा खरिद गरेको घरको बजार मूल्य २७ लाख ८५ हजार अमेरिकी डलर रहेको छ । टेलिभिजन उद्योगमा फिल म्याकग्रव एउटा चर्चित नाम बन्न पुगेको छ । १६ सेप्टेम्बर २००२ मा सञ्चालनमा ल्याएको ‘डा.फिल’ सोले उनी लोकप्रिय बनेका हुन् ।

दशकभन्दा बढी भइसक्दा पनि यो कार्यक्रम अझै चर्चित छ । फिल म्याकग्रवले धेरै मानिसलाई जीवनको पटरीमा फर्काउन सहयोग गरिसकेका छन् । अझै पनि उनी यो कार्यलाई जारी राखेका छन् ।

डा. फिलले लेखेका चर्चित पुस्तकहरूमा ‘लाइफ कोड : द न्यु रुल्स फर विनिङ इन द रियल वल्र्ड, रिलेसनसिप रिक्स : ए सेभेन स्टेप स्ट्राटेजी फर रिकनेक्टिङ विथ योर पार्टनर, सेल्फ म्याटर : क्रिएटिङ योर लाइफ फ्रम द इन्साइड आउट, द २०/२० डाइट : टर्न योर वेट लस भिजन इन्टु रियलिटी’ लगायत छन् ।

अमेजन अनलाइनमार्फत उनको किताब बिक्रीबाट वार्षिक आम्दानी १ करोड ९२ लाखभन्दा बढी रहेको छ । प्रगति पथमा अग्रसर भएकाहरूले कहिलेकाहीँ विवादको सामनासमेत गर्नुपर्छ । डा. फिल यसबाट अछुतो रहेनन् । शरीरको तौल घटाउने डाइट योजनाबारे परेको मुद्दालाई छिनोफानो गर्न उनले सन् २००६ मा १० दशमलव ५ मिलियन अमेरिकी डलर खर्चेका थिए ।

उनले बाल्यकालमा मोटोपनाबाट लड्नका लागि सन् २००३ मा डा. फिल फाउन्डेसनको स्थापना गरे । उनले बेभेरी हिल्स हाउसमा ५ बेडरुम र ११ वटा बाथरुम बनाउनका लागि २९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्चेका थिए । फिलले कुनै बेला ‘कोर्टरुम साइन्सेज इन्क (सीएसआई)’ कम्पनीमा समेत सक्रिय भएका थिए ।

डा. फिलका बुबा मनोचिकित्सकको प्राक्टिस थाल्नुअघि तेल खानीमा उपकरणहरूको आपूर्ति गर्ने काम गर्थे । कुनै बेला यिनले रातिको खानामा तोरी र ससबाट बनाइएको स्यान्डविचसम्म खान्थे । उनले आफ्नो जीवन त्यसरी नबिताउने निधो गरे । उनले शिक्षा लिएर एउटा थेरापिस्ट र ट्राइल कन्सल्टेन्टको काम थाले ।

त्यसै बेला विश्वकै लोकप्रियमध्येकी एक महिला ओप्राह विन्फ्रेलाई उनको सल्लाह आवश्यक पर्‍यो । यो उनको जीवनको महत्त्वपूर्ण क्षण रहयो । भनिन्छ, विन्फ्रेको सामिप्यताले उनलाई सफलताको चुचुरोमा पुग्न धेरै सहयोग गरेको थियो । सानो छँदा हवाईजहाज चढ्ने उनको ठूलो धोको थियो । आफ्नो आवास नजिकै जहाज उड्दा धेरै पटक बुबालाई त्यसमा चढाइदिन ढिपी कस्ने गर्थे । आज उनी जहाजै खरिद गर्ने अवस्थामा पुगेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : मंसिर १, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?