कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा फैलिँदै स्याउ

आश गुरुङ

लमजुङ — यातायातको सहज पहुँच र बजारको माग बुझेका व्यवसायीले मनाङमा स्याउ खेती विस्तार गरेका छन् । ङिस्याङ १, भ्राताङमा एग्रो मनाङले ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउ फलाएको छ ।

मनाङमा फैलिँदै स्याउ

मस्र्याङदी वारि र पारि गरी थप २ सय ८५ रोपनीमा स्याउ खेती लगाएर ७ सय ३५ रोपनी क्षेत्रफलसम्म खेती विस्तारको तयारी गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) मनाङका अनुसार मनाङमा ४ सय हेक्टर क्षेत्रफलमा वर्णसंकर प्रजातिका स्याउ खेती गरिएको छ ।


स्थानीय प्रजातिका स्याउ खेती ६ सय हेक्टर क्षेत्रफलमा गरिँदै आएको छ । एक सय हेक्टर जग्गामा स्याउ खेती गरिँदै आएकामा यसको विस्तार २ हजार ५ सय हेक्टर क्षेत्रफलसम्म गर्न सकिने प्रक्षेपण गरिएको छ । चार वर्षअघि वर्णसंकर स्याउ भित्रिएको मनाङमा कृषकले वर्षौंदेखि स्थानीय जातका स्याउ खेती गर्दै आएका छन् ।


वर्णसंकर र स्थानीय जातका स्याउलाई अन्य ठाउँमा खेती गर्न सकिने ठाउँको पहिचान गरिएको स्याउ जोनका अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार यस वर्षदेखि स्याउ जोन कार्यालय खुलेकाले यसको विस्तृत अध्ययन सुरु भएको छ ।


मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका भुजुङ गुरुङले ९ रोपनी क्षेत्रफलमा लगाएको स्याउलाई बढावा दिने बताए । उनले यस वर्षदेखि वर्णसंकर जातको स्याउ रोप्ने तयारी गरेको सुनाए । ‘रैथाने र नयाँ वर्णसंकर गरी करिब २५ रोपनी क्षेत्रफलमा यसपटक स्याउ रोप्ने योजना छ,’ उनले भने ।


उनले आफ्नो बारीमा पाँचमुखे, चारमुखे, चक्लेट, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियसजस्ता पुराना जातका स्याउ फलाउँदै आएको बताए । चामे गाउँपालिका २ थानचोकका नरेन्द्र घलेले स्याउका बिरुवा रोप्ने र खेती विस्तार हुँदै गएको बताए । ‘गाउँले नै स्याउ खेती विस्तारमा लागेका छन् । पुरानासँगै नयाँ स्याउ (वर्णसंकर) मा किसानको आकर्षण बढेको छ,’ उनले भने ।


स्याउ जोनले मनाङका चार वटै स्थानीय तहमा स्याउ खेती गर्न मिल्ने हिसाबमा स्याउ क्षेत्र छनोट गरेको छ । यसअघि मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकामा स्याउ खेती गरिँदै आएकामा अहिले नार्पाभूमि गाउँपालिका २ मेताबेंसीलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ ।


उक्त ठाउँ समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा छ । ‘पहिलोपटक हामीले नार्पाभूमिको मेताबेंसीमा स्याउ रोप्नको लागि ठाउँ छनोट गरेका छौं । चालु आर्थिक वर्षदेखि परीक्षण हुन्छ,’ उनले भने । उनका अनुसार ३ वटा गाउँपालिकाका अन्य ठाउँमा पनि स्याउ खेतीका लागि स्थान छनोट गरिएको छ ।


केही साताअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) मनाङले आहवान गरेको अगुवा कृषक, स्थानीय तहका प्रतिनिधिसहितको प्राविधिक टोलीले स्याउलाई २५ सय हेक्टर क्षेत्रफलसम्म बढाउने सकिने निर्णय गरेको छ ।


वर्णसंकर प्रजातिको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई खुमलटारबाट हाइडेन्सिटीका लागि २५ हजार बिरुवा वितरण गर्न २ करोड ५० लाख बजेट स्वीकृत भएर आएको जोन अधिकृत सिलवालले बताए । यस्तै स्याउ खेतीको क्षेत्र विस्तारका लागि बिरुवा वितरण गर्न १५ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले बताए । उनका अनुसार मनाङमा यस वर्ष करिब १ हजार टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ ।


सिँचाइ, मलखाद, उपचारलगायतको व्यवस्थापकीय पक्ष राम्रो हुँदा र ससाना बोट भएर धेरै ठाउँमा फिँजिने भएकाले थोरै जग्गामा पनि वर्णसंकर जातका स्याउको उत्पादन बढी हुने गरेको प्राविधिकहरूले बताएका छन् । मनाङको स्याउ अधिकांश काठमाडौं, पोखरा, चितवन, बेंसीसहरलगायत सहरबजारमा खपत हुने गरेको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?