कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलैंचीको मूल्य तोक्न ज्ञापन

आश गुरुङ

लमजुङ — यहाँका किसानले अलैंचीको मूल्य निर्धारण गर्न प्रशासनलाई गुहारेका छन् । मूल्य निर्धारण नहुँदा बिचौलियाको चलखेल बढेको उनीहरूको गुनासो छ ।

अलैंचीको मूल्य तोक्न ज्ञापन

उनीहरूले अलैंचीको मूल्य निर्धारण नभएको, बिचौलिया आएर फकाउने, फकाएका व्यक्तिलाई कम मूल्यमा बिक्री गर्न लगाएर अन्य किसानलाई पनि कम मूल्यमा बिक्री गर्न लगाउन ‘ब्ल्याक मेलिङ’ गर्ने, किसान कम मूल्यमा अलैंची बिक्री गर्न बाध्य भएकालगायत समस्या रहेको भन्दै समाधान गरिदिन प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।


प्रशासन कार्यालयमा आइतबार आएका बेंसीसहर नगरपालिका ११ चिती र दोर्दी गाउँपालिका ८ बन्सार र वडा नं.९ हिलेटक्सार क्षेत्रका किसानले उचित मूल्यको माग गर्दै ज्ञापन बुझाएका हुन् ।


चितीका किसान जयराम पाण्डेले केही किसानले कम मूल्यमा अलैंची बिक्री गर्दा अन्य किसान समस्यामा परेको बताए । गत वर्ष प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गरेको अलैंची अहिले ६ सय रुपैयाँमा बिक्री गर्न बाध्य भएको उनले बताए । ‘अलैंची नदिए मूल्य फेरि घट्छ । झन् पाइँदैन भनेर त्रास देखाउँदै आएका छन् । होला कि भनेर हामी ६ सय रुपैयाँमै अलैंची दिन बाध्य भयौं,’ ज्ञापनपत्र बुझाउन प्रशासन आएका उनले भने ।


अलैंची बिक्री गर्ने तयारी गरिए पनि बिचौलियाको चलखेलले बिक्री गर्न नसकिएको किसानले बताएका छन् । अलैंची व्यवसायी महासंघमै बसेर केही पदाधिकारी नै बिचौलिया र ठेकेदार बनेर गाउँमा आउने गरेको उनीहरूले गुनासो गरे ।


‘हाम्रो अलैंची घरमै छ । हामीसँग ६/७ सयमा लगेर हजार/१२ सयमा अलैंची बिक्री गर्दा रहेछन् अनि हामी किसान मर्कामा नपरे को मर्कामा पर्छ ?’ हिलेटक्सारका किसान मीनबहादुर गुरुङले भने, ‘हामीलाई अलैंची बेच्ने ठाउँ थाहा छैन । अलैंचीको मूल्य थाहा छैन । थोरै थोरै मूल्यमा फकाइफकाई लाने गरिएको छ ।’


किसानका अनुसार ४ वर्षअघि प्रतिकिलो २ हजार २ सय रुपैयाँसम्म अलैंची बिक्री गरिएको थियो । यस पटक ६ सय रुपैयाँमा बिक्री गर्न बाध्य छन् । ‘यति धेरै रकम घटदा, किसानले उचित मूल्य नपाउँदा पनि कसैले केही हेरेन । यो हेर्ने निकाय कुन हो ? हामी त प्रशासनमा आयौं,’ हिलेटक्सारकै किसान गंगाराम तामाङले भने । उनका अनुसार पहिले बाहिरी जिल्लाबाट ठेकेदार आउने गर्थे । अहिले भित्रभित्रै अलैंची बिक्री गर्ने गरिएको छ ।


अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) सञ्चालक समितिका अध्यक्ष अजय तामाङले अलैंचीको मूल्य घटदा किसानलाई घाटा भएको बताए । ‘घरघरमा अलैंची थुप्रिएको छ । अलैंची बिक्री हुन सकेको छैन । अलैंची मूल्य घटदै गएपछि किसान चिन्तामा छन्,’ उनले भने, ‘उचित मूल्य पाउनुपर्ने हामी किसान सबैको माग हो । बजारमा अलैंचीको मूल्यमा गिरावट आएको भन्दै बिक्री नहुने स्थिति छ ।’


अलैंची जोन कार्यालय किसानको समस्या समाधानका लागि परेको भन्दै किसानका मागलाई सम्बन्धित निकाय, मन्त्रालय, मन्त्रीसम्म पुर्‍याइएको उनले बताए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अलैंची किसानको समस्याबारे व्यवसायी समितिका नेतृत्व, अलैंची जोन कार्यालयका अधिकारीसँग बसेर छलफल गरिएको बताए ।


‘बिचौलियाको प्रवेश रोक्न र किसानलाई सहज वातावरणमा अलैंची बिक्रीमा हामी सहयोग गर्छौं । बिचौलिया प्रवेश गरेको भए किसानले जानकारी गराउनुपर्छ । आफू ठगिएको भए किसानले उजुरी दिनुपर्छ,’ उनले भने, ‘किसानका माग जायज छन् । प्रशासनका तर्फबाट सम्बन्धित निकायमा किसानका माग पठाएका छौं ।’

प्रकाशित : मंसिर ३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?