कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत भन्सार जाँच चौकी सञ्चालन

देवनारायण साह

मोरङ — विराटनगरस्थित निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी अस्थायी रूपमा बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । नेपाल–भारत समन्वय समितिले अस्थायी रूपमा चौकी सञ्चालनमा ल्याएका हुन् ।

चौकी सञ्चालनमा आएपछि भारतलगायत तेस्रो मुलुकबाट सामान बोकेर आएका मालबाहक सवारीका कारण जोगबनीलगायत भन्सार क्षेत्रमा हुँदै आएको सडक जामको समस्या हट्ने उनीहरूले बताएका छन् ।


दुवै देशका समन्वय समितिका अधिकारीले नेपाल र भारतको झन्डा फहराएर चौकीबाट सवारी सञ्चालनको सुरुवात गरेका थिए । नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालको झन्डा फहराएर भारततर्फ पेट्रोलियम पदार्थ लिन जाने खाली टयांकर पठाएर चौकी सञ्चालन गरेका हुन् ।


‘विराटनगर भन्सार कार्यालय क्षेत्र र सीमावर्ती भारतीय बजार जोगबनीमा हुँदै आएको सवारी जाम कम गर्न चौकीबाट सुरुमा एकतर्फी टयांकर सञ्चालन गरेका छौं,’ उनले भने, ‘पहिलो चरणमा नेपालबाट भारतमा पेट्रोलियम पदार्थ लिन जाने खाली टयांकर चेक गरेर चौकीको बाटोबाट पठाउने कार्य सुरु गरेका छौं ।’


अर्को चरणमा भारततर्फ जाने खाली ट्रक, टेलर, लरी पनि चौकीको बाटोबाट नै पठाउने सहमति भएको उनले बताए । भारतबाट आउने क्लिंकर, फलामको ब्लेड बोकेका सवारी, टयांकरलगायत भन्सार छल्न नसक्ने मालबाहक सवारीसमेत चौकीबाट नै नेपालतर्फ ल्याउने सहमति भएको केसीले बताए ।


‘चौकीभित्र बाटो निर्माणको काम सम्पन्न भएपछि मालबाहक सवारी ल्याउन सुरु हुन्छ,’ उनले भने, ‘यसले विराटनगर भन्सार र जोगबनी नाकामा सवारी जाम न्यूनीकरण हुन्छ ।’ निर्माणाधीन भन्सार जाँच चौकीले सवारी सञ्चालनका लागि एकतर्फी ग्राभेल सडक निर्माण गरेर भारतीय सीमामा जस्ता पाताको गेट निर्माण गरिदिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?