कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार महिनामा डेढ अर्बको जुट निकासी

‘एन्टीडम्पिङ शुल्क हटे निकासी अझै बढ्ने’
विनोद भण्डारी

विराटनगर — नेपाली जुट उद्योगले चालु वर्षको चार महिनामा डेढ अर्बभन्दा बढी मूल्यका जुटका सामग्री निकासी गरेको छ ।

भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर उत्पादनको करिब ९५ प्रतिशत वस्तु निकासी गर्दै आएका यहाँका जुट उद्योगले चार महिनामा १ अर्ब ६६ करोड ४९ लाख मूल्य बराबरका जुटका सामग्री निकासी गरेको उत्पत्तिको प्रमाण जारी गर्ने मोरङ व्यापार संघ र उद्योग संगठनको तथ्यांक छ ।


‘जुट उद्योगले वार्षिक सरदर ५ अर्ब मूल्य बराबरका जुट सामग्री निकासी गर्दै आएको छ,’ जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘भारतले लगाएको एन्टिडम्पिङ शुल्कका कारण निकासीमा समस्या छ ।’


उद्योगले निकासीमा सहुलियत पाउने र भारतले एन्टिडम्पिङ शुल्क हटाउने हो भने निकासी अझै बढ्ने उनले बताए । ‘सरकारले निकासीमा सहुलियत दिने र भारतसँग एन्टिडम्पिङ शुल्क हटाउन पहल गरिरहेकाले जुट उद्योगले राहत पाउने विश्वास छ,’ गोल्छाले भने ।


मुलुकमा स्थापना भएको ११ वटा जुट उद्योगमध्ये हाल ६ वटा मात्र सञ्चालनमा छन् । ती उद्योगले धागो, सुतली, हेसिन र स्याकिङ क्लोथ निकासी गर्दै आएका छन् । तथ्यांकअनुसार अरिहन्त मल्टी फाइवर्सले चार महिनामा सबैभन्दा बढी ७९ करोड ११ लाख २१ हजार मूल्य बराबरका जुट सामग्री निकासी गरेको छ ।


जुट उद्योगले ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्छन् । यहाँबाट निकासी हुने सुतली, बोरा र हेसियन चट्टीमा भारतले गत वर्षदेखि सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा २ प्रतिशतसम्म एन्टिडम्पिङ शुल्क लगाएको छ ।


यसअघि नेपाली उत्पादन निकासी हुँदा साढे १२ प्रतिशत अन्त:शुल्क बक्यौता तिर्नुपर्ने बताउँदै भारतीय भन्सार अधिकारीले एक महिना निकासीमा अवरोध गरेका थिए । त्यसबेला नेपाली उद्योगले पछि फिर्ता हुने सर्तमा काउन्टर भ्यालु डयुटी (सीभीडी) राखेर तयारी वस्तु निकासी गरेका थिए ।


गोल्छाका अनुसार नेपाली उद्योगले सीभीडीबापत राखेको करिब २५ करोड रुपैयाँ भारतले अझै फिर्ता गरेको छैन ।


भारतले बंगलादेशलाई सीभीडीबापतको २००४ जुलाईदेखि २०११ फेब्रुवरीसम्मको रकम २०१३ मा फिर्ता दिएको थियो । भारतले नेपाली उत्पादनमा २०१५ जुलाईदेखि साढे १२ प्रतिशत सीभीडी लागू गरेको थियो । यसका साथै भारतले कच्चा जुट र तयारी वस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि तोक्दै आएको छ ।


स्थानीय जुट उद्योगलाई वार्षिक ६५ हजार टन कच्चा जुट आवश्यक पर्छ । त्यसमध्ये आन्तरिक उत्पादनले ३० प्रतिशत मात्र धान्छ । जुट विशेषज्ञ मोहनचन्द्र घिमिरेले भने ६५ प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।

प्रकाशित : मंसिर २७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?