कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौन्दर्य सामग्रीमा रसायनकाे गुणस्तर निर्धारण गर्न समिति

‘तीन महिनाभित्र मापदण्डको मस्यौदा तयार गरी गुणस्तरको तर्जुमा गर्छौं’

काठमाडौँ — सरकारले सौन्दर्य सामग्रीको मापदण्ड निर्धारण गर्न प्राविधिक समिति गठन गरेको छ । गुणस्तर तथा नापतौलले विभिन्न ब्रान्डका सामग्री परीक्षण गर्दा अत्यधिक रसायन फेला पारेपछि नियन्त्रण गर्न समिति गठन गरेको हो ।

सौन्दर्य सामग्रीमा रसायनकाे गुणस्तर निर्धारण गर्न समिति

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित समितिले तीन महिनाभित्र मस्यौदा तयार पार्नेछ ।


‘स्वदेशी मापदण्ड नभएपछि भारत, अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डलाई आधार मानेर परीक्षण गरेका थियौं । रसायनको मात्र बढी भेटिए पनि कारबाही प्रक्रिया अघि बढाउन सकेनौं,’ विभागका महानिर्देशक पुडासैनीले भने, ‘मापदण्डपश्चात् कानुनी प्रक्रियामा जान्छौं ।’


समितिमा गुणस्तर विभागसँगै अन्य नियमक निकाय, उद्यागीहरूको प्रतिनिधि, विषयगत विज्ञहरू, उपभोक्ता अधिकारकर्मीलगायत २० जना छन् । समितिलाई तीन महिनाको समय अवधि दिइएको छ । विभागका अनुसार पहिलो चरणमा फेसियल क्रिम, लिपिस्टिक र कलर क्रिमको मापदण्ड बनाइन्छ ।


‘उपभोक्ताको स्वस्थ्यलाई असर गर्ने वस्तुलाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘सोहीअनुसार तीन महिनाभित्र मापदण्डको मस्यौदा तयार गरी नेपाल गुणस्तरमा तर्जुमा तयारी छ ।’

मापदण्डको मस्यौदा तयार भएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष रहने गुणस्तर परिषद्मा गरिन्छ ।


परिषद्बाट अनुमोदन भएपछि नेपाल गुणस्तर निर्धारण हुने महानिर्देशक पुडासैनीले बताए । कानुनी रूपमा ल्याउन भने मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ । त्यसपश्चात् राजपत्रमा प्रकाशित गरी अनुगमनलाई तीव्रता दिइने महानिर्देशक पुडासैनीले बताए । यसअघि विभागले ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गर्दा अधिकांशमा रसायन फेला परेको थियो ।


स्वदेशी तथा आयातित सौन्दर्य सामग्री परीक्षण गर्दा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो । विभागले तयार पारेको प्रतिवेदनअनुसार डब्लूएचओले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम मात्रै तोकिए पनि १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएको छ ।


विभागले परीक्षण गरेकामध्ये लिपिस्टिकका ७३ प्रतिशत नमुनामा र स्किन क्रिमका ७० प्रतिशत नमुनामा रसायन बढी पाइएको छ । ती व्यवसायीलाई नियमन तथा नियन्त्रण गर्ने संयन्त्र छैन ।

प्रकाशित : मंसिर २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?