कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साथीको सिफारिसमा पदयात्रा

दीपक परियार

लेखनाथ — जर्मन नागरिक पउलले सोचेका थिएनन्— कुनै दिन नेपाल पुगेर पदयात्रामा निस्कन्छु । गत वर्ष उनको भेट नौ वर्ष नेपाल बसेका हबर्ट बेडेनबेन्डरसँग भयो । हबर्टले उनलाई नेपाल जान सिफारिस गरे ।

साथीको सिफारिसमा पदयात्रा

नेपालको पदयात्रा पर्यटनबारे बेलिबिस्तार लगाए । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न पउल तुरुन्तै राजी भए ।


पउल र हबर्ट केही समयअघि अन्य नौ जनालाई लिएर नेपाल आए । कास्कीको घान्द्रुकबाट म्याग्दीको घोरेपानी–पुनहिल पुग्ने अन्नपूर्ण पानोरामा पदयात्रा मार्ग रोजे । पदमार्गमा पर्ने टाडापानीमा भेटिएका पउलले भने, ‘हबर्टले नेपालको बयान नगरेको भए सायदै ट्रेकिङ गर्थें ।’ उनले पदयात्रामा आएपछि हबर्टले बयान गरेभन्दा राम्रो पाएको बताए । फरक संस्कृति र भूगोलको अवलोकन गर्न पाउँदा खुसी लागेको उनले सुनाए ।


हबर्ट तेस्रोपल्ट समूहसहित पुन हिल ट्रेकमा निस्किएका हुन् । कुष्ठरोग निवारण कार्यक्रमको व्यवस्थापकका रूपमा नेपाल बस्दा उनी पहिलोपल्ट सन् १९८४ मा पदयात्रा गरेका थिए । हिडै अन्नपूर्ण आधार शिविरसम्म पनि पुगे । ‘जर्मनी गएर यहाँको बारेमा सुनाएपछि सुन्ने जति आउन लालायित हुन्छन्,’ नेपाली समेत प्रस्ट बोल्ने उनले भने, ‘९/१० जनाको समूह लिएर म आफैं पनि पटकपटक आउँछु ।’


सिंगापुरकी जनेत वङ पनि साथीले सुनाएकै आधारमा पदयात्रामा आइन् । साथीले इन्स्टाग्राममा राखेका हिमालका सुन्दर दृश्य देखेपछि नेपाल आउने निधो गरेको उनले बताइन् ।


सूर्योदय हेर्न घोरेपानीबाट पुन हिल उक्लिदै गर्दा उनले भनिन्, ‘फोटो देखेर साथीलाई डिटेलमा सोधें । इन्टरनेटमा पनि खोजी गरे ।’ पाँच वर्षदेखि ट्रेकिङ गाइडको काम गरिरहेका युवराज पुन धेरै पर्यटक ‘वर्ड अफ माउथ’ कै आधारमा पदयात्रामा आएको अनुभव सुनाउँछन् । ‘नेपाल घुमेर फर्किने आफन्त, साथीभाइलाई यहाँका बारेमा वर्णन गर्छन्,’ उनी भन्छन्, ‘पदयात्रामा आउने अधिकांश पर्यटक त्यसरी नै आउने हुन् ।’


पुन हिलमै भेटिएका जर्मन पत्रकार फाबियानले आफ्नो देशमा नेपालको पर्याप्त प्रचार नभएको बताए । नेपालका पदयात्रा मार्गको प्रचार गर्न सके धेरै जर्मन पर्यटक भित्रिने उनी बताउँछन् । ‘म पनि साथीले भनेकै आधारमा घुम्न आएको हुँ,’ उनले भने, ‘नेपालले आफ्नाबारे अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न सक्नुपर्छ ।’


एक अध्ययनका अनुसार नेपाल आउने पर्यटकमध्ये ७५ प्रतिशत ट्ेरकिङ गर्न आउँछन् । लमजुङको बेंसीसहरबाट मनाङ, थोरोङलापास, मुस्ताङ हुँदै म्याग्दीको बेनी निस्कने ‘राउन्ड अन्नपूर्ण’ विश्वकै उत्कृष्ट १० पदयात्रा गन्तव्यमध्येमा पर्छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेल पर्याप्त प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्दा ‘वर्ड अफ माउथ’ को आधारमा मात्रै पर्यटक भित्रिरहेको बताउँछन् ।


सरकारीस्तरबाट विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रममा समेत पदयात्रा पर्यटनलाई महत्त्व नदिइएको उनको आरोप छ । ‘पर्यटन बोर्डले विभिन्न संघसंस्थालाई विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमका लागि भनेर रकम छुटयाउँछ,’ उनी भन्छन्, ‘त्यो रकमको सदुपयोग हुन सकिरहेको छैन ।’


उनले ट्रेकिङ एजेन्सीले आफ्नै खर्चमा क्यानडा, अमेरिका, युरोपमा नेपालको प्रवद्र्धन गरेर फर्किएको उनले सुनाए । यो वर्ष भने पर्यटन बोर्डको सहयोगमा मलेसिया, सिंगापुर र इन्डोनसिया पुगेर प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना उनले सुनाए ।


विभिन्न देशका पर्यटकीय स्थलमा नेपालका हिमाल र पर्वतीय पर्यटन चिनाउने होडिङ बोर्ड, डिस्प्ले राख्न सके प्रचारप्रसारमा सहयोग पुग्ने उनको सुझाव छ ।


पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया नेपाल भित्रिने अधिकांश पर्यटक ‘वर्ड अफ माउथ’ का आधारमा भित्रिएका स्विकार्छन् । ‘डिजिटल प्लेजफर्ममा नेपालको प्रचारप्रसार नभएका भन्ने होइन,’ उनी भन्छन्, ‘साथी, आफन्तलाई बढी विश्वास हुने भएर उनीहरूको सिफारिसमा पर्यटक भित्रिन्छन् ।’


पर्यटन बोर्डले अन्नपूर्ण सर्किट, अन्नपूर्ण आधार शिविर, मुस्ताङलगायतका पदयात्रा मार्गलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिरहेको उनी बताउँछन् । ‘अहिलेको बेलामा इन्टरनेटम सबै भेटिन्छ,’ उनी भन्छन्, ‘नयाँ ठाउँमा जाँदा एकपल्ट गइसकेकाहरूबाट प्रभावित हुनु स्वाभाविक हो ।’

प्रकाशित : पुस १, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?