कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्तलाले पहेंलपुर पाखा

स्याङ्जा — सुन्तला बगैंचा कसको राम्रो ? एउटा बोटमा कतिवटा सुन्तला फले ? दाना कत्रा छन् ? दाग लागेको छ/छैन ? यतिबेला भीरकोट नगरपालिका ७ लोलुंगाका कृषकबीच यस्तै कुराकानी भइरहन्छ । यहाँका बारी, पाखा पहेंलपुर छन् ।

सुन्तलाले पहेंलपुर पाखा

सुन्तला बेचेर कति आम्दानी गर्ने भन्ने त छँदै छ । बगैंचा कसरी आकर्षक बनाउने र पर्यटक लोभाउने भन्ने पनि होडबाजी चलेको छ गाउँमा । सुन्तला उत्कृष्ट र गुणस्तरीय बनाउनका लागि यहाँको सिंगो गाउँ एकसाथ अघि बढेको छ ।


६६ वर्षको बुढयौलीमा पनि गिरीधारी कोइराला सुन्तला खेतीमा व्यस्त छन् । नेपाली सेनामा भर्ती भएर बीचैमा छाडेका र भारतसमेत पसेका उनी सुन्तला व्यवसायमा सक्रिए भएका हुन् । २०३३ सालदेखि सुन्तला खेती गर्दै आएका उनी अहिले उत्कृष्ट किसानमा गनिन्छन् । उनको आकर्षक बगैंचा छ ।


उनले गत वर्षको तुलनामा यस वर्ष तेब्बर सुन्तला उत्पादन भएको बताए । लोलुंगा जाने जो कोही पनि सुन्तलाको बगैंचा देख्दा लोभिन्छन् । सबै उमेरका स्थानीय सुन्तला व्यवसायमै खटिन्छन् । ‘विदेश पलायन हुन खोज्ने पनि यही सुन्तला देखेर रोकिन्छन्,’ उनले दोहोर्‍याए, ‘विदेशमा पसिना बगाएर दु:खअनुसारको पारिश्रमिक छैन । यहाँ त विदेशमा गरिने १० वर्षको दु:ख एक वर्षमा नै प्राप्त हुन्छ ।’


बगैंचा पुग्नेहरू सुन्तला खानभन्दा अवलोकनमा रमाउने कोइराला बताउँछन् । उनका अनुसार सुन्तलासँग सेल्फी लिने, फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । सुन्तला हेर्न आउनेका लागि भनेर स्थानीयले एक/दुई बोट बिक्री नगरी राख्ने गर्छन् ।


बगैंचामा आउनेहरूले कोसेली सुन्तला लिएर जाने गर्छन् । सुन्तला यस गाउँको आम्दानीको गतिलो स्रोत बनेको छ । गिरीधारीले दुई/चारवटा बिरुवा थप्दै जाँदा बगैंचामा परिणत भएको बताए । उनकोमा अहिले करिब १ हजार ५ सय सुन्तलाका बोट छन् ।


सात सय बोटले फल उत्पादन गर्दै आएका छन् । उनका दुई छोरामध्ये जेठा छोराले सुन्तला व्यवसायलाई नै निरन्तरता दिएका छन् ।

प्रकाशित : पुस १, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?