कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयर एसियाको मुद्दा प्रहरीमा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयर एसियाबाट उठाउन बाँकी साढे ७ करोड रुपैयाँ वक्यौता उठाइदिन काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको छ ।

एयर एसियाको मुद्दा प्रहरीमा

परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, विमानस्थल कार्यालयले एयर एसियाको नेपालस्थित जेनरल सेल्स एजेन्ट (जीएसए) कम्पनी इन्सेन्टिभ गु्रप अफ कम्पनीबाट वक्यौता संकलन गरिदिन पत्राचार गरेको छ ।


कम्पनीका सञ्चालक पर्यटन व्यवसायी हरिमान लामा सम्र्पकविहीन भएकाले उनका भाइ तथा कम्पनीका सीईओ गणेशमान लामा र अर्का साझेदार किरण खड्का प्रहरी परिसर टेकुको सम्पर्कमा पुगेका छन् । ‘हरिमान लामा हाम्रो सम्पर्कमा आएका छैनन्, उनको भाइ बताउने गणेशमान र कम्पनीका अर्का साझेदार किरण हामीकहाँ आएर विमानस्थलको बाँकी वक्यौता तिर्छौं भनेका छन्,’ प्रवक्ता तथा डीएसपी बोगटीले कान्तिपुरसँग भने ।


उनले आवश्यक परे पक्राउ गरेरै रकम असुल्न सकिने भए पनि विमानस्थल कार्यालयले रकम असुल गरिदिन मात्रै पत्राचार गरेको बताए ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले एयर एसियाको वक्यौताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि जानकारी गराइएको बताए । जीएसएबाहेक एयर एसियासँग असुल्नुपर्ने कम्तीमा १३ करोड रुपैयाँ रहेको छ । यो रकम बुझाउने एयर एसियाका तर्फबाट लिखित प्रतिबद्धता पनि छ । उसले प्रधानमन्त्री कार्यालयलाई यो रकम मिनाहा गरिदिन अनुरोध गरेको छ ।


‘तर, सरकारले यो रकम मिनाहा गर्नेछैन,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने । मलेसियाको एयर एसियाका तर्फबाट इन्सेन्टिभ कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाउन बाँक वक्यौताबापत बुझाइएका १२ वटा चेक बाउन्स र १० वटा हराएका छन् ।


बाउन्स भएका र हराएका चेकको कुल मूल्य ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ । यसबारे प्राधिकरणले आन्तरिक छानबन गरिरहेको छ । एजेन्ट हरिमान लामाको कम्पनीले बुझाएका चेक प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी, ग्लोबल आईएमई बैंकका छन् ।

प्रकाशित : पुस ३, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?