कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमानस्थलको काम धमाधम

लालप्रसाद शर्मा

पोखरा — दुई वर्षभित्रै सक्ने लक्ष्यसहित धमाधम काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति २२ प्रतिशत पुगेको छ । रोडम्याप बनाएरै काम भइरहेको छ ।

पोखरा विमानस्थलको काम धमाधम

आगामी असारभित्र ३५ प्रतिशत, सन् २०१९ सम्म ६० प्रतिशत र सन् २०२० मा सबै निर्माण सक्ने लक्ष्य विमानस्थल निर्माण आयोजनाको छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।


आयोजना कार्यालयका अनुसार विमानस्थलभित्रको माटो काट्ने काम ७० प्रतिशत सकिएको छ । जमिन सम्याउने (सव ग्रेड) काम सकिएको छ भने रन–वे, ट्याक्सी–वे, एप्रोनमा पहिलो र दोस्रो ढलान (सव–बेस) सम्पन्न भइसकेको छ ।


करिब ५० हजार वर्गमिटर एप्रोन क्षेत्रमा तेस्रो अर्थात् अन्तिम ढलान (३४ सेमि ढलान) को काम ४० प्रतिशत भएको र दुई सातामा सबै सकिने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । एप्रोनको काम सकिएपछि रनवे र ट्याक्सी वेको अन्तिम ढलान हुनेछ ।


‘आगामी चैतभित्र रनवे र ट्याक्सी वे ढलान सकिएर तयार हुनेछन्,’ उनले भने, ‘तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सक्नेगरी काम भइरहेको छ ।’ उनले हालसम्म २२ प्रतिशत निर्माणको काम सकिएको र सन् २०२० भित्रै निर्माण सबै सक्ने जनाए । १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।


जहाज मर्मत हुने भवन (ह्यांगर) को जग खनेर फाउन्डेसन कंक्रिटको कामसमेत सकिएर टाइपिङसम्म आइपुगेको छ । टर्मिनल भवनको जग खन्ने (फाउन्डेसन) काम सकिएर फाउन्डेसन कंक्रिटको काम भइरहेको छ ।


सिँचाइको नाला निर्माणको काम ९० प्रतिशत सकिएको छ । करिब ११ सय मिटर नाला बनाइसकिएको आयोजनाले जनाएको छ । रनवेको दुवै साइडतर्फ माटोको लेभल मिलाउने काम पनि गरिएको छ । कल्भर्ट निर्माण ७५ प्रतिशत पुगिसकेको छ । ‘तालिकाभन्दा केही काम बढी भइसकेको छ,’ मुनकर्मीले भने, ‘निर्माण कम्पनीलाई ३ अर्ब रुपैयाँ भुक्तानी दिइसकिएको छ ।’


आयोजनामा प्रयोग हुने गिट्टी, ढुंगा, बालुवा, सिमेन्ट, रडलगायत निर्माण सामग्री (कच्चा पदार्थ) सबै परीक्षण गरिन्छ । आयोजनाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले आइतबार अवलोकन गरी प्रगति अवस्थाबारे सामान्य जानकारी लिएका थिए ।


विमानस्थ निर्माणको काम सन्तोषजनक रहेको मन्त्री लम्सालले बताए । भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचनाको डिजाइन र निर्माणको काम पनि अघि बढेको छ ।


निर्माण कम्पनी चीनको सीएएमसी इन्जिनियरिङका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले तोकिएको मितिभन्दा ६ महिनाअघि नै निर्माण सक्ने गरी काम भइरहेको बताए । उनका अनुसार ३ सय नेपाली र सय चिनियाँले दैनिक काम गरिरहेका छन् । ‘निर्माण क्रममा अहिले कुनै समस्या छैन,’ उनले भने ।

प्रकाशित : पुस १०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?