कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुद्राक्ष खोज्दै गाउँगाउँ व्यापारी

गत वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुग्न थालेका छन् ।
दीपेन्द्र शाक्य

संखुवासभा — चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेको छ । चिनियाँ व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।

चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।


कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । गत वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयले बताएका छन् ।


चिनियाँ व्यापारी गाउँसम्म आएपछि किसानले भनेजस्तै मूल्य पाउन थालेका छन् । उनीहरूले सिधै घरैमा आएर रुद्राक्ष खरिद गरेपछि किसानको आम्दानी बढेको व्यापारी कमल कटुवालले बताए । केही वर्षयतासम्म नेपाली व्यापारीले सानो परिमाणमा रुद्राक्ष संकलन गरी काठमाडौं लगेर बिक्री गर्ने गरेका थिए ।


खाँदबारीसहित जिल्लाका केही ठूला बजारका होटल यतिबेला चिनियाँ व्यापारीले भरिएका छन् । ‘चिल्लो, ठूलो र मुखदार रुद्राक्ष चिनियाँ व्यापारीले रुचाउने गरेका छन्,’ उनले भने, ‘बढी पाइने पाँचमुखे कण्ठे (२१ एमएमभन्दा माथि) को मूल्य प्रतिकिलो १० हजारदेखि २० हजारसम्म ती व्यापारीले तिर्ने गरेका छन् ।’


‘चिनियाँ व्यापारी भित्रिएपछि रुद्राक्ष बिक्रीसँगै होटल र अन्य व्यवसायको कारोबार पनि फस्टाएको छ,’ उनले भने, ‘निजी र सरकारी गरी १३ वटा बैंकले दैनिक १ करोड रुपैयाँभन्दा बढी नगद कारोबार गर्ने गरेका छन् ।’


चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् ।


किसानका अनुसार ३ मुखेभन्दा कम मुख भएकाबाहेक जति बढी मुख भयो त्यति नै बढी मूल्यमा रुद्राक्ष बिक्री हुने गरेको छ । यस वर्ष २ मुखे प्रतिगोटा ५ देखि ७ हजार, ३ मुखेलाई २ सयदेखि ४ सयसम्ममा किनबेच भएको छ ।


७ मुखे १ सयदेखि ५ सयमा किनबेच हुने गरेको छ । ८ मुखेको १ हजारदेखि १ हजार ५ सयसम्म पर्छ । ९, १० र ११ मुखेलाई १ हजारदेखि ५ हजारसम्म, १२ मुखेलाई २ हजारदेखि ४ हजारसम्म र १३ मुखेलाई ५ हजारदेखि १० हजारसम्म प्रतिगोटा मूल्य पर्ने गरेको छ ।


१४ मुखे रुद्राक्ष १५ हजारदेखि ३० हजारसम्ममा बिक्री भएको किसानको भनाइ छ । १५ मुखेलाई १० देखि २० हजारसम्म, १६ मुखेलाई ३० हजारदेखि ७० हजारसम्म, १७ मुखेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म दाम पर्ने गरेको छ ।


१८ मुखेलाई १ लाखदेखि ३ लाखसम्म, १९ मुखेलाई ४ लाखदेखि ९ लाखसम्म, २० मुखेलाई ७ देखि १५ लाख र २१ मुखेभन्दा माथिका रुद्राक्ष २१ लाखदेखि ४० लाखसम्ममा खाँदबारीका विभिन्न बजारमा कारोबार हुने गरेको छ ।


यो जिल्लाबाट वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायी बताउँछन् । तीन वर्षयता ४, ५ र ६ मुखे रुद्राक्षको माग अत्यधिक बढेको खाँदबारीका व्यापारी चक्रबहादुर बिसुन्केले बताए ।


धेरै परिश्रम, गोडमेल र मलजल गर्नुनपर्ने र बजार मूल्य पनि राम्रो भएकाले किसानले खेतीयोग्य जमिन मासेर रुद्राक्षको खेती गरेका छन् । ‘रुद्राक्ष भोजपुरको उत्तरी क्षेत्र र संखुवासभामा अत्यधिक फल्ने गरेको छ,’ उनले भने, ‘भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार संखुवासभाको खाँदबारी र तुम्लिङटार हो ।’


खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्लाका साथै काठमाडौं र भारतका सहरमा समेत निर्यात हुने गर्छ । चीन, युरोप र अमेरिकालगायतका मुलुकमा समेत यसको निर्यात बढेको छ ।


तीन वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसान थप उत्साहित भएका छन् । यसको कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि रुद्राक्षको श्रेणी विभाजन गरी जिल्ला समन्वय समितिले कर लिन थालेको छ ।

प्रकाशित : पुस १२, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?