कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदुवा किन्न बारीमै व्यापारी

उदयपुर — यहाँका किसानले उत्पादन गरेको अदुवा किन्न व्यापारी बारीमै पुग्ने गरेका छन् । यसबाट उनीहरूले अदुवाको मूल्य राम्रो पाएको छ ।

राम्रो मूल्य पाएपछि कटारी नगरपालिका हर्देनीलगायत क्षेत्रका किसानले यो मौसममा करिब सात करोड रुपैयाँको अदुवा बिक्री गरेका छन् ।


हर्देने, गहुँबारी, बेतेनी, गोठडाँडा क्षेत्रका किसानले उत्पादन गरेको अदुवा स्थानीय बजारमै प्रतिकिलो ८५ रुपैयाँका दरले बिक्री भइरहेको छ । दुई वर्षयता कौडीको भाउमा अदुवा बिक्री गर्दै आएका किसान मोटो रकम हात पर्दा दंग छन् ।


विगतमा अदुवाको मूल्यमा भएको उत्तरचढाव र बिचौलियाका कारण राम्रो मूल्य नपाएका अदुवा उत्पादक किसानले यस वर्ष यो मौससमा सोचेभन्दा बढी मूल्य हात पार्न सफल भएपछि आफू दंग परेको बताए ।


चार वर्षअघि न्यूनतम १ लाखदेखि बढीमा १० लाखसम्म घरैपिच्छे आम्दानी गर्न सफल भएपछि त्यहाँका किसानले परम्परागत अन्न बालीको सट्टा पूरै गाउँभरि नै अदुवा खेती गरेको हर्देनीका किसान नरबहादुर राउतले बताए । ‘व्यावसायिक खेती गरेपछि पछिल्लो दुई वर्ष अदुवाले राम्रो मूल्य पाएन,’ नरबहादुरले भने, ‘तर यो वर्ष र दुई वर्षअघिसम्म अदुवा बिक्रीबाट राम्रो आम्दानी गरियो ।’


०७० यता अदुवा खेती गर्दै आएको यो वर्ष मात्रै सुरुमै राम्रो मूल्य पाएको उनले बताए । थोरै परिश्रम गरेर बढी आम्दानी हात पार्न सकिने भएपछि उदयपुरका पहाडी छेत्रका किसान अदुवाको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।


चौडण्डीगढी र कटारी नगरपालिका, ताप्ली, रौतमाई र उदयपुरगढी गाउँपालिकका किसानले अदुवाको बिक्रीबाट सोचेभन्दा बढी आम्दानी गर्दै आएको कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए ।


‘बिचौलियाको अवरोध हटेपछि किसानले अदुवाबाट राम्रो आम्दानी गरेका छन्,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘व्यापारी सोझै किसानको बारीमा पुगेर अदुवा खरिद गरेपछि यो वर्षको यो मैसममा मनग्ये आम्दानी गरेका छन् ।’ कटारी नगरपालिका क्षेत्रको ११ र १२ नम्बर वडाबाट मात्रै ७ करोडभन्दा बढीको अदुवा बिक्री भएको उनले बताए ।


वर्षौंदेखि गर्दै आएको मकै र कोदोको परम्परागत खेतीले सामान्य घरखर्च गर्न पुग्ने गरी आम्दानी नभएपछि आफूहरूले केही वर्षयतादेखि व्यावसायिक रूपमै अदुवाको खेती सुरु गरेको चौडण्डीगढी नगरपालिका १ का किसान मीनप्रसाद कोइरालाले बताए ।

प्रकाशित : पुस १५, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?