२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पर्यटक वृद्धिका लागि कोरियामा निगमको उडान सुरु गर्न माग

काठमाडौँ — कोरियाली पर्यटकलाई नेपालमा पदयात्रा तथा हिमाल आरोहण गराउने व्यवसायीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कोरियाली राजदूतलाई नेपाल वायुसेवा निगमको कोरिया उडान सुरु गराउन माग गरेका छन् ।

पर्यटक वृद्धिका लागि कोरियामा निगमको उडान सुरु गर्न माग

नेपाल कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठ तथा कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको सातौं वर्षिकोत्सवका अवसरमा बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा कोटानका अध्यक्ष अमरबहादुर शाहीले नेपालमा कोरियाली पर्यटक वृद्धि गर्न नेपालको राष्ट्रियध्वजावहाकको कोरियाका लागि सिधा उडान हुनुपर्ने माग राखेका थिए । ‘नेपालमा भम्रण गर्ने पर्यटकमा कोरिया उत्कृष्ट १० स्रोत मुलुकभित्र पर्छ,’अध्यक्ष शाहीले भने, ‘यदि नेपाल वायुसेवा निगमको उडान हुने हो भने कोरियाली पर्यटकको संख्या अझै वृद्धि हुनसक्छ ।’ कोभिडअघि नेपाल भम्रण गर्ने पर्यटकहरुको स्रोत मुलुकमा कोरिया नवौं स्थानमा थियो ।

कार्यक्रममा सहभागी नेपालका लागि कोरियन राजदूत पार्क ताइयोङले गत वर्षदेखि नेपाल वायुसेवा निगमले कोरियामा सिधा उडान गर्न खोजिरहेको भन्दै कोरियाको सम्बन्धित विभागले यसबारे हेरिरहेको बताए । ‘नेपाल वायुसेवा निगमले कोरियामा सिधा उडान गर्न यहाँहरुले राखेको कुरामा केही चासोहरु छन् । यसमा सकारात्मक भूमिका होस् भन्ने चाहन्छु,’ राजदूत ताइयोङले भने ।

कार्यक्रममा सहभागी पर्यटनमन्त्री हितबहादुर तामाङले पनि कोरियन राजदूतलाई निगमको उडान संचालन गराउन सकारात्मक भूमिकाको अपेक्षा रहेको सुनाएका थिए ।

समारोहमा कोरियन पर्यटकहरुका लागि तयार पारिएको नेपालको गाइड र कोटानको स्मारिका मन्त्री तामाङ, राजदूत ताइयोङ, पर्यटन विभागका महानिर्देशक चक्र बुढा र कोटान अध्यक्ष शाहीले विमोचन गरेका थिए ।


प्रकाशित : चैत्र १४, २०८० २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?