आहा ! कति राम्रो साइपाल हिमाल

चार चेली साइपाल उक्लँदै
बसन्तप्रताप सिंह

औंलागाड (बझाङ) — हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल मध्येको एक साइपाल हिमालको बेसक्याम्प आरोही र सहयोगीहरुको चहलपहलले गुल्जार बनेको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १६:२२

बझाङ जिल्लाका कसैले पनि हालसम्म कुनै हिमाल आरोहण गरेका छैनन् । जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।

उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।

आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।

‘औंलागाड क्षेत्र झिलिमिली भएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पाटनभरी टेन्ट र पताका टाँगिएका छन् । आरोहीहरुलाई सहयोग गर्ने भरिया र सहयोगीको लस्कर बाटै भरी छ । एउटा मान्छे पनि भेटन मुश्किल हुने यो सिजनमा यहाँको रौनक नै बेग्लै देखिएको छ ।’

उनले आरोहण दललाई सहयोग गर्नका लागि १ सय ५० जना भन्दा बढी स्थानीय भरियाहरु पनि समुन्द्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको बेसक्याम्प सम्म पुगेको बताए ।

आफूहरुको हिमाल चढने सपनालाई जिल्लावासीले गरेको स्वागतले थप बल पुऱ्याएको नवआरोहीहरुले बताएका छन् । ‘हामी इतिहास रच्ने कुरामा विश्वस्त छौं,’ आरोही मध्येकी एक लक्ष्मी बुढाले भनिन्, ‘जिल्लावासीले गरेको सम्मान र स्वागतले हाम्रो आँट झन बलियो भएको छ ।’

प्रतिक्रिया
पठाउनुहोस्

कुटपिटबाट वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

दाङ — तुलसीपुरमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा पानी लगाउने निहुँमा विवाद भएपछि सोमबार साँझ कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिट र हत्या अभियोगमा स्थानीय ४० वर्षीय मईमान बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्