कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन मुलुकमा ‘दुई थोपा हाँसो’

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त अरब इमिरेट्स् (युएई), बहराइन् र ओमनमा ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएर सिस्नुपानी नेपालका कलाकार/साहित्यकार टोली मुलुक फिरेको छ ।

तीन मुलुकमा ‘दुई थोपा हाँसो’

गत माघ १८ गते युएईबाट शुरु यात्राको सोमबार मस्कटमा समापन भएको सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले जनाए ।


श्रमशील नेपालीहरूलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देश सहित स्वास्थ्य परामर्श एवं मनोरन्जन दिने उद्देष्यले विगत तीन वर्षदेखि सन्चालित अभियानको यो तेस्रो श्रृंखला हो ।


‘यूएईको राजधानी अबुधाबीबाट शुरु भएको यो श्रृंखला दुबई, एलेन, शारजाँ हुँदै माघ २२ गते सोमबार फुजेरामा पुगेर युएई संस्करण सम्पन्न गरेका थियौं’, सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘हास्यव्यंग्य, योग सम्बन्धी सचेतनादेखि साहित्यिक प्रस्तुतिलाई दर्शकहरुले मन पराए ।’


समसामयिक राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा रहेका बिकृति र बिसङ्गतिमाथिको प्रहारदेखि स्वास्थ्य परामर्श एवं अन्य मनो–सामाजिक सचेतनामा प्रस्तुति केन्द्रित रहेको उनले जनाए ।


उनका अनुसार युएइमा आयोजित कार्यक्रमहरूमा नेपाली राजदूतावास आबुधाबीका कार्यबाहक राजदूत सागर फुयाँल, गैर आवासी नेपाली संघका केन्द्रीय, क्षेत्रीय तथा स्थानीय पदाधिकारीहरूकासाथ हजारौंको संख्यामा नेपाली श्रमिकहरूले सहभागिता जनाएका थिए ।


त्यसैगरी फागुन ३ गते बहराइनको अस्करमा रहेका श्रमिकहरूका क्याम्पमा कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिका रुपमा बहराइनमा लागि नेपाली राजदूत पदम सुन्दास थिए भने कार्यक्रम राति १० बजेसम्म चलेको थियो । ‘फागुन ४ गते ओमानमा एकैदिन दुई स्थानहरूमा भव्यताका साथ कार्यक्रम गरियो’, आचार्यले भने, ‘राजधानी मस्कट स्थित बर्का र बादिकविरमा सयौं दर्शकको साथ रह्यो ।’


फागनु ५ गते भने ओमानको मदिना र काबुशमा प्रस्तुतिहरु थिए । उनका अनुसार ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीसँगै गैर आवासीय नेपाली संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत कार्यक्रममा साथ दिएका थिए ।


टोलीमा सिस्नुपानी अध्यक्ष तथा व्यङ्ग्यकार गाम्नागेसँगै उपाध्यक्षद्वय कवि अर्जुन पराजुली र कलाकार मनोज गजुरेल, महासचिव आचार्य र जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रबिन्द्र समीर थिए ।


गैर आवासीय नेपाली संघसँग मिलेर गरेको अभियानमा सम्वन्धित देशका राजदूतावासहरू, नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्र बैंक, स्वास्थ्य बीमा बोर्ड तथा ग्लोबल आईएमई बैंकको पनि सहकार्य रहेको अध्यक्ष गाम्नागेले जनाए ।


प्रकाशित : फाल्गुन ८, २०७४ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?