कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसाइँ सर्ने चरा संकटमा

बासस्थान जोगाउन ऐक्यबद्ध हुने घोषणा 
अब्दुल्लाह मियाँ

आबुधाबी (यूएई) — विश्वमा बसाइँसराई गर्ने करिब २८ सय चराका प्रजातिमध्ये ४० प्रतिशत विश्वमै दुर्लभ अवस्थामा पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

बसाइँ सर्ने चरा संकटमा

चारदेखि आबुधाबीमा जारी बसाइँसराई गर्ने चरा (सम्मिट फर द फ्लाईवेज) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बर्डलाईफ इन्टरनेशनलले उक्त तथ्यांक सार्वजनिक गरेको हो । विश्वका चराको संरक्षणको अवस्था नामक प्रतिवेदनअनुसार विश्वमा ११ हजार १ सय २१ चराका प्रजाति छन् । त्यसको एक चौथाई अर्थात् करिब २८ सय बसाइँसराई गर्ने प्रजातिभित्र पर्छन् ।

बर्डलाईफ इन्टरनेशनल चराको अवस्था दर्शाउने आधिकारिक वैज्ञानिक संस्था हो । आइसीयुसीएनले उसैले दिएको सुझावअनुसार चरालाई रेडलिस्टमा समेट्ने गर्छ । प्रतिवेदनअनुसार २२२ प्रजातिका चरा अति संकटोपन्न अवस्थामा छन् भने ४६१ प्रजाति संकटापन्न अवस्थामा छन् ।


७८६ प्रजातिका चरा संवेदनशील सूचीमा रहेको प्रतिवेदनमा उल्लेख छ । एक हजार १७ प्रजातिका चरा संकटको नजिक पुगेका छन् । प्रत्येक ८ मा एउटा चरा विश्वमै दुर्लभ मानिएका छन् । बसाइँसराई गर्ने चराको अवस्था र तिनको संरक्षणमा विश्व्यापी हातेमालो गर्ने जमर्कोसहित आबुधाबी घोषणा पत्र जारी गर्दै सम्मेलन बिहीबार सकिएको छ । घोषणा पत्रमा बसाइँसराई गर्ने चराका प्रजाति तीव्र गतिले घटेकाले तीनको संरक्षका लागि एक्यबद्ध हुने प्रण गरिएको छ ।


७० देशका सरकारी अधिकारी, विशेषज्ञ, चरामा काम गर्ने एक सय संस्था, दातृ निकायलगायत दुई सय सहभागी सम्मेलनले बसाइँसराई गर्ने चराको दिगो संरक्षण, तिनको आहार र बासस्थान तथा उड्ने बाटोको सुरक्षाका लागि मार्गचित्र बनाएको छ । विश्वमा बसाइँसराई गर्ने चराका मार्गहरु मुख्यतया ८ वटा छन् । तीमध्ये नेपाल मध्य एसियाको मार्गभित्र पर्छ । सम्मेलनमा सहभागी बर्डलाईफ इन्टरनेशनको पार्टनर पन्छी संरक्षण संघ (बीसीएन)का विज्ञ ज्योतेन्द्र ठकुरीले बसाइँसराई गर्ने मार्गमा पर्ने चरा तथा जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्र पहिचान गर्ने निष्कर्ष निकालेको छ ।


यस्तै, यूएनको कन्भेन्सन अफ माइग्रेटेड स्पिसेज (सिएमएस), सीबीडी र रामसारसँग मिलेर विगतका सम्झौता कार्यान्वयन गर्न अन्तरसरकारी निकायबीच पहल गर्नेसमेत प्रण गरेको छ । सिएमएसमा नेपालमा पाइने र बसाइँसराई गर्ने चरा, स्तनधारी वन्यजन्तु र रेप्टायल्स प्रजाति भने समेटिएका छन् । सम्मेलनले बस्टर्ड समूहमा पर्ने चरा (खरमुजुर) को बासस्थान र आहारको वैज्ञानिक व्यवस्थापनमा समेत साझेदारी गर्ने निर्क्योल गरेको छ ।


चोरी/सिकारका कारण बसाइँ सर्ने चराका प्रजाति घटिरहेको भन्दै तिनको रोकथामका लागि कानुनी हिसाबले समेत कडाई गर्नुपर्नेमा जोड दिइएको छ । सिकार रोक्ने काममा समुदायलाई समेत परिचालन गर्दै अघि बढ्ने भनिएको छ । खासगरी चीन, खाडी मुलुक र विकसित मुलुकहरुमा समेत बसाइँ सर्ने चराको वर्षेनी लाखौं संख्यामा मासुका लागि सिकार हुने गरेको बर्डलाईफको तथ्यांक छ ।


सम्मेलनले विश्वमै लोप हुँदै गएका गिद्ध संरक्षणका लागि सँगसँगै अघि बढ्ने प्रण गरेको छ । एसिया, युरोप र अफ्रिकाका १५ प्रजातिका गिद्धबारे संरक्षणका लागि तयार पारिएको गिद्धका बहुप्रजाति कार्ययोजनाबारे बहस गर्दै गिद्धको संरक्षण गर्न गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।


यूएनको कन्भेन्सन अन द कन्जरभेसन अफ माईग्रेटरी स्पिसिज अफ वाईल्ड एनिमल्स् (सिएमएस) ले गिद्धको कार्ययोजना तयार गरी सम्मेलनमा छलफलका लागि प्रस्ताव गरेको थियो । गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियानमा नेपाल विश्वमै पहिलो बनेको छ ।


गिद्ध संरक्षणसम्बन्धी सत्रमा नेपालमा गिद्धको संरक्षण र अनुसन्धानमा सक्रिय नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले समेत प्रस्तुति दिएको थियो । गिद्ध सुरक्षित क्षेत्र बनाउने नेपालको अभियानलाई युरोप र अफ्रिकी मुलुकहरुले पनि पछ्याएका छन् ।


बीसीएनले सरकारसँग मिलेर ६१ जिल्लालाई गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनेकमुक्त क्षेत्र घोषणा गरेको छ भने गिद्ध प्रजातिको अनुसन्धान र तिनको प्रजनन क्षमता बढाउने खालका कार्यक्रममा समेत जोड दिएको छ । पशुको उपचारमा प्रयोग हुने डाईक्लोफेनेकको प्रतिबन्धसँगै गिद्धको मृत्युदरमै कमी आयो । जसले गर्दा संकटमा पर्दै गएका गिद्ध प्रजातिको संख्या विस्तार हुन पुग्यो । यसै हात सफलतालाई विश्वभर उदाहरणीय मान्ने गरिएको छ ।


नेपालले नै पहिलो पटक प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक वासस्थानमा समेत गिद्ध पुन:स्थापना गरेको छ । सम्मेलनले गिद्धको सुरक्षित क्षेत्र बनाउन हातेमालो गर्दै अघि बढ्ने कसम खाएको छ ।

यस्तै, वाईन मिल, ठूला संरचना बनाउँदा बसाइँ सर्ने चराको बाटो नखल्बल्याई बनाउने र वासस्थानमा क्षयीकरण, वातावरणमा आएको विनाश रोक्न पनि पहल गर्ने घोषणा गरिएको छ ।

प्रकाशित : वैशाख १३, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?