कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतको स्थानीय निर्वाचनमा अप्रत्यासित नतिजा, एक नेपाली बने काउन्सिलर

नवीन पोखरेल

लन्डन — बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७१ सिटका लागि भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ कन्जरभेटिभ र प्रतिपक्षी लेबरले मुख्य काउन्सिलहरुमा आफ्नो पकड गुमाएका छन् । 

बेलायतको स्थानीय निर्वाचनमा अप्रत्यासित नतिजा, एक नेपाली बने काउन्सिलर

दुई तिहाइ मत परिणाम आउँदा लेबर ५० वटा काउन्सिलमा विजयी भएको छ भने कन्जरभेटिभ ३० र लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवार ४ काउन्सिलमा विजयी भए । त्यस्तै अहिलेसम्म ग्रीन पार्टीले २१, यूकीपले २ र स्वतन्त्र उम्मेदवारले ६१ सिट जितेका छन् ।


लन्डनका ३२ बरोमध्ये २० वटाको परिणाममा लेबरले ११ काउन्सिल, कन्जरभेटिभले ६ काउन्सिल र लिबरल डेमोक्रेटिकले २ काउन्सिल जितेका छन् । उता, ग्रीन पार्टीले ४ सिट जितेको छ भने यूकीपले ९ सिट गुमाएर लन्डनमा अहिलेसम्म कुनै सिट जितेको छैन् ।


पूर्व अनुमान विपरित लेबर टोरीज (कन्जरभेटिभ) संग लन्डनका कयौं क्षेत्रमा पराजित भएको छ । लेबर लन्डनका महत्वपूर्ण काउन्सिलहरु केन्जिङटन एण्ड चेल्सी, वान्डसवर्थ, वेष्टमिनिष्टरमा जित हासिल गर्न चुक्यो ।


गत वर्ष जुनमा ७१ जनाको ज्यान जाने गरि भएको बेलायती इतिहासकै दु:खद घट्ना ग्रेनफेल टावर आगलागीमा सरकारप्रति तीव्र आक्रोश र आलोचना रहंदा लेबरले केन्जिङटन एण्ड चेल्सीबाट जित्ने ठूलो अपेक्षा गरिएको थियो ।


तर, प्लेमाउथ र ट्राफोर्डमा जित हासिल गरेर त्यहाँ लेबर सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । ट्राफोर्डमा कन्जरभेटिभले १४ वर्षपछि आफ्नो अधिपत्य गुमाएको हो । टोरीजले उत्तरी लन्डनको बार्नेट काउन्सिल आफ्नो कब्जामा लियो । जुइस समुदायलाई चिढाएपछि लेबर उक्त क्षेत्रमा पराजित बन्न पुगेको विश्लेषण गरिएको छ ।


वारवीकसायरको ननिटन र बेडवर्थमा लेबरले आफ्नो पकड गुमाइ त्यहां कन्जरभेटिभले लेबरका ८ वटा सिट खोसिदिएको छ । कन्भरभेटिभले पिटरबरो, बसिलडन र डर्बीमा पनि जितेको छ ।


प्रत्येक चार वर्षमा हुने स्थानीय निर्वाचन अन्तर्गत यसपटक लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङहाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव भएको हो ।


यस निर्वाचनले हयाक्नी, लुइसम, न्यूहाम, टावर हयामलेट्स, वाटफोर्ड र सेफिल्ड सिटी गरी ६ क्षेत्रमा मेयर समेत चुन्नेछ ।


यसैबीच, चुनावी मैदानमा उत्रिएका नेपाली मुलका उम्मेदवार धेरै जसो पराजित भएका छन् । लन्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले चुनाव जिते पनि अरुले हारेका हुन् ।


इलिङ काउन्सिलको होबेइन वडामा कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र ढुंगाना १५०० मतान्तरले पराजित भए भने लेबर पार्टीको प्रतिनिधित्व गर्दै हार्ट डिस्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एन्ड हवली वडाबाट उम्मेदवारी दिएकी लिला सेलिङ माबो पनि नराम्रोसंग पराजित भइन् ।


हयानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङको क्षेत्रमा भने नतिजा आउन बाँकी छ । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ लेबर पार्टीको

प्रतिनिधित्व गर्दै पुन: उठेका हुन् । लन्डन बरो अफ बार्नेटको सेड वार्डमा लेबर पार्टीबाट उम्मेदवारी दिएका कमलबहादुर गुरुङ पनि नतिजा पर्खाइमा छन् ।


आनन्द राई फेल्थाम नर्थ क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा प्रतिष्पर्धी छन् ।


काउन्सिलर पदमा विजयी लक्ष्य गुरुङका प्रतिवद्धता


ब्रिटेनस्थित भूतपूर्व गोर्खा समुदायका एकजना अगुवा तथा व्यवसायी लक्ष्य गुरुङ बार्नेट काउन्सिलको काउन्सिलर पदमा विजयी भएका छन्।


सत्तारुढ कन्जरभेटिभ पार्टीले बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङलाई उम्मेदवारको रुपमा छनोट गरेको थियो ।


बिहीबार राती गरिएको मतगणनामा ३००७ मत ल्याएर गुरुङ निर्वाचित भएको मतदान अधिकृतले घोषणा गरेका थिए । सोही वार्डबाट कन्जर्भेटिभ पार्टीकै एलियट किथ सिम्वर्ग तथा लेथ बेन्जामिन जाजेह पनि काउन्सिलर पदमा विजयी भएका छन् ।


चुनावी परिणाम घोषणापछि कुरा गर्दै गुरुङले यो आफ्नो मात्र नभएर सम्पूर्ण भूतपूर्व गोर्खा तथा बेलायतमा बस्ने नेपालीहरुको जीत र गौरवको विषय भएको बताए । ‘मैले आफ्नो चुनावी अभियानका क्रममा गोर्खा सैनिकहरुप्रति आम ब्रिटिश नागरिकको स्नेह र सम्मानबारे परिचित हुने मौका पाएँ । त्यसैले म त्यो प्रतिष्ठा बढाउने गरेर नै आगामी दिनहरुमा काम गर्नेछु’, उनले भने ।


गुरुङले बार्नेट काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरु बसोबास गरिरहेको बताउंदै उनीहरुका दैनन्दिन समस्या लगायत नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्नेबारे पनि काउन्सिलमा आफूले पहल गर्ने बताए।


उनले आफ्नो चुनावी अभियानमा नैतिक तथा भौतिकरुपमा सघाउने सबै सहयोगी, शुभेच्छुकहरु, नेपाली तथा ब्रिटिश सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई धन्यवाद पनि दिएका छन्।


गुरुङको चुनावी अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जरभेटिभ पार्टीका पदाधिकारीहरु पनि सहभागी थिए। चुनावी अभियानमा छोटो समयका लागि प्रधानमन्त्री टरेजा मे, भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरनलगायत पनि आएर हौसला बढाएका थिए ।


‘हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, स्थानीय स्कूलमा पठनपाठन, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयां आवास योजनाबारे आफ्ना चिन्ताहरु हामीलाई बताएका थिए । हामीले स्थानीय समुदायका यी गुनासाहरु सम्बोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौं’, गुरुङले भने ।


बन्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भूतपूर्व गोर्खा सैनिक सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।



प्रकाशित : वैशाख २१, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?