कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा नौ फिट अग्लो बुद्धको प्रतिमा स्थापना

मञ्जु गुरुङ

दक्षिण कोरिया (सोल) — दक्षिण कोरियामा नेपालमा निर्मित नौ फिट उचाइको बुद्ध प्रतिमा स्थापना गरिएको छ ।कोरियाका प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल ख्यांगी दोको योगंइन शहरस्थित बाउछाङसा गुम्बा परिसरमा प्रतिमा स्थापना गरिएको हो ।

कोरियामा नौ फिट अग्लो बुद्धको प्रतिमा स्थापना

स्थानीय बुद्ध जयन्तीको अवसरमा आइतबार पञ्चे बाजाको धुनसहित विधिवत् पूजा गरी प्रतिमाको स्थापना गरिएको थियो । बुद्ध प्रतिमा स्थापना अभियानले नेपालमा निर्माण गरी गत महिना मूर्तिलाई कोरिया भित्र्याएको थियो । आठ सय केजीभन्दा बढी तौल रहेको तामाको प्रतिमालाई पाँच भागमा बक्सामा राखी कोरिया ल्याइएको थियो ।


कोरियामै रहेका लामा गुरुहरुद्वारा प्रतिमालाई जोड्ने र रंग रोगन गरी सिंगारेका थिए । साढे २२ लाख रुपैयाँ मूल्य परेको बुद्ध प्रतिमालाई नेपाल कुरियो आर्ट कम्पनीका जुल्ली शाक्यले निर्माण गरेका हुन् । प्रतिमा स्थापना गर्ने जमिन र करिब ५ करोड वन (पाँच लाख रुपैयाँ) लागतमा घर निर्माण खर्च वाउछगंसा गुम्बाले सहयोग गरेका थिए । नेपालको स्वयम्भू शैलीमा निर्मित घरको गजुर र रंग रोगन भने प्रतिमा स्थापना अभियानले गरेको हो । घरमा नेपाली कला झल्कने चित्र र माने निर्माण गरिने अभियानले जनाएको छ ।


कोरियाका पुराना संस्था नेपाली सम्पर्क समिति (एनसीसी)को संयोजन र नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा नेपाली राजदूतावासलगायत विभिन्न संघसंस्थाको संलग्नातामा बुद्ध प्रतिमा स्थापना अभियान गठन गरिएको छ । चार महिनाअघि गठित अभियानले कोरियामा रहेका नेपाली र संघसंस्थाहरुबाट आर्थिक सहयोग संकलन गरेका थिए ।


प्रतिमा स्थापना गर्न करिब पाँच करोड वन (५० लाख रुपैयाँ) जति खर्च पुग्ने अनुमान अभियानका सदस्यहरुले गरेका छन् । रंगरोगन गर्न २५ लाख वन र घरको शिरमा राखिएको गजुर निर्माण गर्न ३० लाख वन खर्च लागेको अभियानकी संयोजक एनसीसीकी अध्यक्ष अञ्जु केसीले जानकारी दिइन् । प्रतिमालाई कोरिया ल्याउन आवश्यक विभिन्न संस्थामा पत्रचार गरी राजदूताबासले प्रशासनिक सहजिकरणको भूमिका निर्वाह गरेका थिए । कोरियन एयरबाट ल्याइएका प्रतिमाको प्याकिङ सहितको ८ सय ६० केजीको कार्गो शुल्कमा करिब तीन हजार डलर छुट गरेको र एरपोर्टमा भन्सार तथा अन्य कार्यालय खर्चमा केही छुट गरिदिएको मूर्ति व्यवस्थपान विभाग सदस्य लोचन राईले बताए ।


बुद्ध जयन्तीको अवसरमा कोरियामा गरिने लोटस लालटीन फेस्टिभलको बृहत् र्‍यालीमा बुद्ध प्रतिमालाई परिक्रमा गराइएको थियो । बुद्धको जन्म नेपाल रहेको सन्देशसहित पञ्चे बाजाको धुनसँगै सम्पन्न र्‍यालीले धेरै दर्शकको ध्यान तानेको थियो । प्रतिमा हेर्दा जीवित बुद्ध झै आभास भएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए । भगवान बुद्धको जन्म स्थान नेपालको चिनारीसँगै नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रतिमा स्थापना अभियानले महत्वपूर्ण भूमिका खेलेको संयोजक अञ्जु केसीले बताइन् । कोरियामा पहिलोपटक नेपालबाट ढलोटको ठूलो बुद्धको प्रतिमालाई सुरक्षित रुपमा स्थापना गरी ऐतिहासिक कार्य गरेको भन्दै कोरियावासी नेपालीहरुको सराहना गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?