डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न यहाँका नेपालीले माग गरेका छन् ।

आइतबार पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले डा. केसीको माग समग्र नेपाल र नेपालीहरुको हितमा रहेको बताउँदै उनको माग तत्काल पुरा गर्न आग्रह गरेका हुन् ।


Yamaha

उनीहरुले डा. केसीको अनसनमा भएको सरकारी हस्तक्षेपको समेत विरोध जनाएका थिए । सिड्नी र ब्रिसबनमा रहेका नेपालीहरुले डा. केसीको माग नेपालीहरुको हितमा रहेको भन्दै उनको मागलाई तत्काल पुरा गर्न माग गर्दै प्रदर्शन गरिसकेका छन् ।


स्थानीय युवाहरुले स्वतस्फूर्त रुपमा आयोजना गरेको कार्यक्रमबाट विदेशमा पनि नेपालीहरु उनको मागको पक्षमा रहेको सन्देश दिने रहेको सहभागीहरुको भनाई थियो । कार्यक्रमको आयोजनामा लागिपरेका स्थानीय युवा राज थपलियाले जुन पार्टीको सरकार भएपनि डा. केसीसँग सम्झौतामात्र गर्ने तर माग पुरा नगर्ने प्रवृत्ति रहेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।


उनले एक नेपालीले समग्र नेपालीहरुको हितका लागि आवाज उठाउँदै पटक पटक अनसन बस्नुपर्ने बाध्यता सृजना हुनु लाजमर्दाे भएको समेत दाबी गरे । ब्रजउड पार्कमा आयोजना गरिएको ऐक्यबद्धता कार्यक्रममा सहभागीहरुले डा. केसीको अनसनप्रति सरकारद्वारा भइरहेको हस्तक्षेप अस्विकार्य भएको बताएका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ठेक्काले माछा मार्ने पेसा लोप हुँदै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका ५५ वर्षीय मुन्ना सुनाहा माछा मारेरै परिवारको गुजारा चलाउँथे । उनी बिहानदेखि सांँझसम्म महाकालीको बगरमै भेटिन्थे । दिनमा ४/५ देखि ८/१० किलोसम्म माछा मारेर त्यसैबाट घरको नुनतेल, पिठो, चामल र तरकारीको जोहो गर्दै आएका थिए । तर अहिले विगत जस्तै माछा मार्न पाउँदैनन् ।

कञ्चनपुर, भीमदत्त–१२, ऐरीका छोटु सुनाहा माछा मार्न जाल बुन्दै । तस्बिर : भवानी भट्ट । कान्तिपुर

तत्कालीन जिल्ला विकास समितिले माछा मार्ने ठेक्का दिन थालेपछि उनले विगतझैं माछा मार्न नपाउने भएका हुन् ।

‘अब महाकालीमा पहिले जस्तो माछा पनि छैन र ठेकेदारले मार्न पनि दिंदैन,’ मुन्ना भन्छन्, ‘माछा मारेरै गुजारा चलाउन नसकिने भयो ।’ उनले केही वर्षदेखि गाउँमै अँधियामा जग्गा लिएर खेतीपाती गर्न थालेका छन् । आफू र छोराहरू मजदुरी पनि गर्छन् । यसरी नै परिवारको गुजारा चलाएका छन् ।

उसो त उनी ठेकेदारलाई वर्षमा अढाई हजार तिरेर माछा मार्न पाउँछन् । तर महाकालीमा पहिले जस्तो माछा नहँुदा दिनभरिमा २/३ किलो मात्र मार्न सकिने उनी बताउँछन् । माछा पाइने ठाउँमा ठेकेदारले जान नदिने भएकाले पनि अहिले सुनाहा समुदायले विगतजस्तो माछा मार्न नसकेका हुन् । कुनै दिन २/३ किलोभन्दा बढी माछा मार्न सके पनि ठेकेदारले लैजाने गरेको छोटु सुनाहाले बताए ।

ऐरीकै ४८ वर्षीय मोहन सुनाहा पनि सानैदेखि महाकालीमा माछा मार्न थालेका हुन् । उनलाई अहिले पनि महाकालीमा डुंगामा गएर माछा मारेको सम्झना ताजै छ । तर अहिले डुंगा चलाउन पाइँदैन । ‘ठेक्का प्रथा सुरु भएपछि हामीलाई माछा मार्न मात्रै बन्देज लगाएर हाम्रा साधनस्रोत प्रयोगमा पनि रोक लाग्यो’, उनले भने, ‘हाम्रो पुख्र्याैली पेसा नै संकटमा परेको छ ।’

उनले १० वर्षअघिसम्म महाकालीकै माछा मारेर ८ जनाको परिवार पालेका थिए । दैनिक १५/२० किलोसम्म माछा मार्थे । त्यही बेचेर पिठो, चामल र तरकारी जुटाउँथे । प्रतिकिलो १ सयमा माछा बेचिन्थ्यो । उनी अहिले पनि माछा मार्छन् । तर दिनमा २/३ किलो मात्र मार्न सकिन्छ । ‘अहिले महाकालीमा माछा पनि निकै कम भइसक्यो’ उनले भने, ‘२/३ किलो त घरमै खान ठिक्क हुन्छ ।’ मोहनको परिवार पनि अहिले गाउँमै डेढ बिघा जमिनमा अँधिया खेती गरिरहेको छ । छोराहरू रोजगारीका लागि भारततिर पसेका छन् । यसले घरखर्च चलाउन अलि सहज भएको छ । उसो त मोहन पनि महाकालीमा ठेकेदारलाई २५ सय तिरेर माछा मार्छन् ।

उक्त रकम तिरेबापत उनले बढीमा ५ किलो मात्र मार्न पाउँछन् । ठेकेदारले ठूलो परिवार भएकालाई ५ किलो र सानो परिवार भएकालाई २ किलो मात्र मार्न दिन्छ ।

भीमदत्त नगरपालिका १२ ओदालीमा ६०/६५ सुनाहा परिवार बस्छन् । तीमध्ये ठेकेदारलाई पैसा तिरेर २०/२५ परिवार मात्रै माछा मार्छन् ।

प्राकृतिक स्रोत साधनमा स्थानीयको अग्राधिकार हुने कुरा सुनेका सुनाहा समुदायका अगुवाहरू समेत यस विषयमा बोल्न सक्दैनन् । माछा मार्ने ठेक्का दिन सुरु भएपछि सुनाहा समुदायको वर्षाैंदेखिको पेसा संकटमा परेको छ । यसतर्फ कुनै पनि निकायले खासै चासो दिएको देखिँदैन । अहिले अधिकांश सुनाहा परिवार गाउँमै अर्काको जग्गामा अँधिया खेती गरी बसेका छन् ।

यससँगै खेतीपातीको काममा मजदुरी गर्छन् । हिउँदमा महाकालीको बगरमा गिट्टी, बालुवा चाल्ने दैनिक ज्यालादारीमा काम गर्छन् । हिउँदमा परिवार पूरै महाकालीको बगरमा भेटिन्छ । बाढी आएका बेला दाउरा संकलन गरेरसमेत गुजारा चलाइरहेको उनीहरू बताउँछन् ।

प्रकाशित : श्रावण ६, २०७५ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT