बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान

कान्तिपुर संवाददाता

लन्डन — बेलायत भ्रमणमा रहेका ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन अभियान थालेका छन् । 



Yamaha

बेलायतको दस दिने बसाइ सकेर रुस प्रस्थान गर्नुअघि कान्तिपुरसँग कुराकानी गर्दै स्वामी अरुणले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा मनाउन आफूले नेपाल सरकारलाई आग्रह गरेको र यसबारे छिट्टै निर्णय हुने अपेक्षा रहेको बताए। यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको इज्जत बढ्ने स्वामी आनन्द अरुणको विश्वास छ।

स्वामी अरुणले भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई विश्व योग दिवसको रुपमा मनाउन थालेजस्तै नेपाल सरकारले पनि बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव राष्ट्र संघमा लैजान अपील गर्दै आएका छन्। स्वामी अरुणले विश्व ध्यान दिवस मनाउन थाले पछि गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश स्वत संसारभरि फैलने र ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने अभियान आवश्यक नपर्ने पनि बताए।

यसै वर्ष बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा मनाउने प्रस्तावप्रति सरकार सकारात्मक रहेको र यसबारे छिट्टै निर्णय लिइने बताएका थिए। तर, सरकारले अझै कुनै निर्णय लिइसकेको छैन।

तर, सोही समारोहलाई सम्बोधन गर्दै ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले ५ नं प्रदेशमा आउँदो बुद्ध पू्र्णिमादेखि ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेका थिए।

विश्व स्वास्थ्य संगठनले अनुसार सन् २०३० सम्ममा मनोरोग विश्वभरि मानिसहरुको मृत्युको एक प्रमुख कारण हुने जनाएको बताउंदै स्वामी अरुणले शरीरकालागि योग र मनकालागि ध्यान सबैभन्दा उपयुक्त रहेको जिकिर गरे।

आफ्ना सहयोगीहरु स्वामी आनन्द अर्हत तथा स्वामी आत्मो नीरवसँग युके आइपुगेका स्वामी अरुणले आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले बर्मिङघम नजिकै बस्वर्थमा तीन दिने ध्यान शिविर सन्चालन गरेका थिए।

त्यस्तै उनले गत अगस्ट २९ तारिखका दिन लन्डन साउथ हलस्थित राम मन्दिरमा ‘आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने’ भन्ने विषयमा प्रवचन दिएका थिए। उनले हयाम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्र तथा डार्टफोर्डस्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा एक दिवसीय ध्यान शिविरहरु पनि सञ्चालन गरेका थिए।

स्वामी अरुणले मस्कोमा पनि ८ दिने ध्यान शिविर सञ्चालन गर्ने उनका सहयोगी स्वामी आनन्द अर्हतले बताए। संसारका २० भन्दा बढी मुलुकमा ध्यान शिविर सञ्चालन गरिसकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आएका छन्।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ २०:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अब एकल पुरुषलाई पनि भत्ता ! 

प्रतिव्यक्ति मासिक एक हजार
विप्लव भट्टराई

इलाम — श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् ।




तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन्। श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ।

नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन्। यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो।

‘एकल भएपछि पुरुषले पनि पाको हुँदै जाँदा हरेक समस्या झेल्नुपर्छ,’ नगर प्रमुख सूर्य पोख्रेलले भने, ‘नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरेका हौं।’

नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ। यो महिनाको अन्त्यसम्ममा संख्या एकिन हुने नगरपालिकाले जनायो। २ सय यस्ता पुरुष रहेको अनुमान छ। यो रकमले अपुग भए थप गरेर भए पनि नमुनाका रूपमा यो कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ।

एकल पुरुषले नगरले आफ्नो सम्मान गरेको बताएका छन्। आउँदो दसैंमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदा एकल पुरुषले सँगै रकम प्राप्त गर्नेछन्। अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कोखदेखि शोकसम्म शीर्षकमा कार्यक्रम ल्याएको थियो।

कार्यक्रमअन्तर्गत नगरभित्र बच्चा जन्मँदा आमाको स्याहारका लागि ५ हजार र मृत्यु हुँदा काजकिरिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो। कार्यक्रमअन्तर्गत नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ दिइसकेको छ।

यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि कायम राखिएको छ। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक २ हजारका दरले अघिल्लो वर्षदेखि नै नगरपालिकाले भत्ता दिँदै आएको छ।

यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाइँ सरी आउनेलाई घर निर्माणका लागि खानपानीलगायतमा सहयोग गर्ने भएको छ। नगरपालिका छाडेर अन्यत्र जाने क्रमलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याएको प्रमुख बस्नेतको भनाइ छ।

नगरपालिकालाई फुसको छानोमुक्त बनाउने अभियान पनि यो वर्षदेखि सञ्चालन सुरु भएको छ। नगर प्रोपाइल निर्माण भइरहेकाले यस्ता घरको संख्या यकिन गरेर यही वर्ष सबै फुसका छाना हटाइने योजना रहेको नरपालिकाले जनायो।

विपन्नताका कारण फुसका छाना रहँदा त्यस्ता घरमा बस्नेले हावाहुरी र पानी चुहिने समस्या झेल्नुपरेको कार्यालयको भनाइ छ।

प्रकाशित : भाद्र १७, २०७५ २०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT