दलित विद्यार्थी र प्राध्यापकमाथि भेदभाव घट्दै : अनुसन्धान

नवीन पोखरेल

लन्डन — नेपालका विश्वविद्यालयहरूमा दलित विद्यार्थी तथा प्राध्यापकमाथि जातीय आधारमा गरिने भेदभाव घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।

छिमेकी भारतमा दलित विद्यार्थी तथा प्राध्यापकमाथि भेदभाव तथा हिंसाका घटना बढदै गएका बेला जर्मनीको बिलफेल्ड विश्वविद्यालयमा सोसल मानवशास्त्रकी प्राध्यापक जोआना फाफ जार्नेकाले गरेको एक अध्ययनले त्यस्तो देखाएको हो ।

Yamaha


ब्रिटेन-नेपाल प्रज्ञा परिषदद्वारा लन्डनको सोआसमा आयोजित १६ औं वार्षिक नेपाल प्रवचन शृंखलामा ‘प्राज्ञिक संस्थाहरूसँगको आबद्धता, उच्च शिक्षा, असमानता तथा विकास’ विषयमा बोल्दै प्राध्यापक जार्नेकाले नेपालमा गत एक दशकमा प्राज्ञिक संस्थामा दलित विद्यार्थीको संख्या केही मात्रामा बढेको भए पनि दलित प्राध्यापकहरूको विकास र सहभागिता खासै बढ्न नसकेको बताइन् ।

तर उनले भारतीय शैक्षिक संस्थाहरूको तुलनामा नेपालका दलित शिक्षक तथा विद्यार्थीले आफूहरूप्रति सकारात्मक व्यवहार हुने गरेको बताएको उल्लेख गरिन्। विद्यालयको तुलनामा विश्वविद्यालय जातीय हिसाबले बढी स्वतन्त्र रहेको उनले बताइन्।‘यद्यपि भारतमा प्राज्ञिक क्षेत्रमा दलितको आबद्धता र उपस्थिति स्पष्ट देखिएको भए पनि नेपालमा यस्तो उपस्थिति न्यून वा अदृश्य छ,’ उनले भनिन् ।

गत अप्रिलमा भारतको कानपुर सहरस्थित आईआईटी कलेजमा पीएचडी गरिरहेका दलित समुदायका एक छात्र भीम सिंहले आत्महत्या गरेपछि त्यहाँ दलित विद्यार्थीप्रति भेदभाव कायमै रहेको भनी चर्को आलोचना भएको थियो ।

यसअघि हैदरावाद विश्वविद्यालयमा पढ्ने अर्का दलित छात्र रोहित बेमुलाले पनि विश्वविद्यालयले आफूलाई दिने छात्रवृत्ति रोकिदिएको भन्दै जनवरी २०१६ मा आत्महत्या गरेका थिए ।

प्राध्यापक जार्नेकाले नेपालका प्राज्ञिक स्थलमा जातीय भेदभाव घटेको, दलित विद्यार्थीले कथित उच्च जातिका प्राध्यापकबाट आवश्यक सहयोग र प्रेरणा पाएको भए पनि आफूलाई उनीहरूका घरमा बोलाउने नगरेको बताएको पनि जनाइन् । उनले नेपालमा निकै कम संख्यामा मात्रै दलित विद्यार्थीले स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गर्ने गरेको र तीमध्ये पनि अधिकांश प्राविधिक विषयभन्दा मानविकी र समाजशास्त्रजस्ता विषय पढिरहेको बताइन् ।

उनले नेपालका दलित स्नातकहरू अधिकांश समावेशिताका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा आबद्ध रहेको पनि जनाइन्। त्रिविका पूर्णकालीन झन्डै आठ हजार शिक्षक तथा प्राध्यापकमध्ये केवल १० जना मात्र दलित रहेको पनि उनले बताइन्। भारतको तुलनामा नेपालमा आरक्षण लागू गरिएको केही वर्ष मात्रै भएकाले शैक्षिक क्षेत्रमा दलित खासै अगाडि आइनसकेको उनको भनाइ थियो ।

दलित विद्यार्थीले भने कतिपय अवस्थामा आफ्नो पहिचान लुकाउनुपरेको, काठमाडौंलगायत सहरमा पनि डेरा खोज्दा भेदभाव बेहोर्नुपरेको बताउने गरेका छन् । नेपालमा साक्षरता दर झन्डै ६६ प्रतिशत छ भने दलित समुदायको साक्षरता दर झन्डै ५२ प्रतिशत छ ।

तराई मधेसका दलितको साक्षरता दर ३५ प्रतिशतभन्दा पनि कम छ। त्यस्तै विद्यालय तहमा बीचमै पढाइ छाडने विद्यार्थीमध्ये दलित विद्यार्थीको संख्या उच्च रहेको अध्ययनले देखाएका छन्।

प्रकाशित : कार्तिक १८, २०७५ २०:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बोक्सी आरोपमा कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना

अजित तिवारी

जनकपुर — घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी मनतोरिया मण्डल । तस्बिर : अजित तिवारी/कान्तिपुर

धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् । ‘बोक्सी भन्दै मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाए र जरिवाना तोकिदिए ।’

उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ । त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ ।

इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत डाकेका थिए । पञ्चायतमै सबैका सामुन्ने उनले मनतोरियालाई कुटपिट गरे । ‘म बिरामी परेको थिइनँ, त्यसैले मलाई बोक्सी भनेर कुटे,’ मनतोरियाले भनिन्, ‘अरू बिरामी पर्दा तँ टुनामुना गरेर आफ्नो रोग भगाउँछेस् । तँ बोक्सी होस् भन्दै कुटपिट गरे ।’

पञ्चायतमा खत्वे समाजका माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायतले जेठाजुको लहैलहैमा लागेर आफूलाई कुटपिट गरेको उनको आरोप छ । ‘घरमा विवाद हुँदा जेठाजु इन्दल र जेठानी मानकीदेवीले कुटे,’ उनले भनिन्, ‘पछि जेठाजुले खत्वे समाजका पूरै पञ्च बोलाएर बोक्सी स्वीकार गर्न धम्क्याए ।’

कुटपिटपछि मनतोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहलाई उजुरी गरिन् । वडाध्यक्ष साहले पञ्चले गरेको निर्णय स्वीकार गर्न दबाब दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताइन् । साहले जरिवानाको निर्णय पञ्चायतले गरेको र मनतोरियालाई प्रहरीमा जान सुझाएको बताए । ‘त्यो उनीहरूको घरायसी झगडा हो, त्यसमा मेरो संलग्नता छैन,’ उनले भने, ‘मैले नै प्रहरीमा जान भनेको हुँ ।’ महिला सेलकी प्रमुख सई दीपिका ओझाले मनतोरियालाई कुटपिट गरिएको ठाडो उजुरी दर्ता भएको र छलफलका लागि अर्को पक्षलाई बोलाइएको बताइन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बोक्सी आरोपमा महिलालाई यातना दिएको ठहर भए कानुनअनुसार कडा कारबाही गरिने बताए । उनले घटनाबारे बुझन तत्कालै निर्देशन दिइएको र दोषीलाई कारबाही दायरामा ल्याउने बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद रामसरोज यादवले घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT