कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा नेपाली पहिरन

उत्कृष्ट पहिरन पुरस्कार नेपाललाई 
चेतनाथ आचार्य

बेइजिङ — सयथरी बाजा एउटै ताल
सयथरी घोडा एउटै चाल
नेपथ्यबाट गुन्जिएको सुमधुर धुनसँगै नेपालका विभिन्न जातीय पोसाक लगाएका युवायुवतीहरू मञ्चमा कम्मर मर्काउँदै चन्द्रसूर्य झन्डासहित निस्किए ।

बेइजिङमा नेपाली पहिरन

मञ्चको पृष्ठभूमि दृश्यमा चम्किलो हिमाल थियो । दुई मिनेटपछि धुन परिवर्तन भएर चुड्काको तालमा ‘कल्ले देला धन मलाई कल्ले देला मन’ बोलको गीत बज्न थाल्यो । मञ्चमा देखिएका कलाकारको चाल पनि परिवर्तन भयो । एकै मिनेटमा मञ्चको पृष्ठभूमिको दृश्यसँगै धुन फेरि बदलियो ।


पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो

सहेर बसे के भो, सन्तान त एउटै हो ।


पाँच मिनेटमै पूरै नेपाल झल्काउने यो दृश्य बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय कूटनीतिक फेसन सो प्रतियोगिताको हो । यतिबेला नेपाली चेली शृंखला खतिवडा चीनको सान्यामा विश्व सुन्दरी प्रतियोगितामा सहभागी हुँदै सबैसँग भोट मागिरहेकी छन् ।


उनले मञ्चमा गाउन समाल्न नसकेर अलमलिएको भिडियो भाइरल भइरहेको बेला चीनको राजधानी बेइजिङमा कूटनीतिक पोसाक प्रदर्शनी अर्थात् डिप्लोम्याटिक फेसन सो प्रतियोगितामा नेपालले सानदार प्रस्तुति दिएको छ ।


बेइजिङको ल्याङमाछ्यावोमा आइतबार अपराह्न आयोजित कूटनीतिक फेसन सोमा नेपालका तर्फबाट नौजना विद्यार्थी र एकजना कूटनीतिज्ञ सहभागी रहे । मञ्चको पृष्ठभागमा राखिएको विशाल पर्दामा नेपाल चिनाउने दृश्यहरू देखिँदै थिए ।


नेपालको प्राकृतिक सौन्दर्य देखाउने हिमालदेखि काठमाडौं उपत्यकाका विभिन्न सम्पदाका दृश्यले नेपालको प्रस्तुति निकै ओजपूर्ण देखिन्थ्यो । अन्य राष्ट्रको भन्दा भिन्न झन्डाको आकार र नेपालको राष्ट्रिय पोसाकमा नेपालीहरू संगीतको तालसँगै मञ्चमा बिरालो चालमा हिँड्दाको दृश्यले सबैलाई लोभ्याउँथ्यो भने दर्शकहरूले ताली लगाएर स्वागत गरेका थिए ।


नेपाली विद्यार्थीहरूले नेपालका मुख्य समुदाय नेवार, तामाङ, थारू, शेर्पा लगायतका पोसाक प्रदर्शन गरेका थिए । बेइजिङका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीसँगै बेइजिङस्थित नेपाली दूतावासमा सैनिक सहचरी रहेका जर्नेल विनोद पाण्डे फेसन सोको क्याटवाकमा सहभागी थिए ।


गत वर्ष राजदूत लीलामणि पौड्याल आफैं मञ्चमा क्याटवाकमा निस्किएका थिए । यो पटक चाहिँ नेपाली विद्यार्थीहरूका साथमा कूटनीतिज्ञको तर्फबाट सैनिक सहचरी विनोद पाण्डे मञ्चमा उत्रिएका हुन् ।


चीनमा हरेक वर्ष कूटनीतिक नियोगहरूका बीचमा पोसाक प्रदर्शनी अर्थात् फेसन सो हुने गर्दछ । आइतबार आयोजना भएको आठौं संस्करणमा १६ वटा राष्ट्रहरू सहभागी थिए । प्रतियोगितामा जर्मनी, कोरिया, बुल्गेरिया, इजिप्ट, गुयाना, इन्डोनेसिया, मलेसिया, माल्दिभ्स, नेपाल, पेरू, रुस, श्रीलंका, उक्रेन, उज्वेकिस्तान, बेलारुस र चीन सहभागी थिए । सबै राष्ट्रका सहभागीले आफ्नो देशको विभिन्न जातीय पोसाकसँगै छोटाछोटा सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।


प्रतियोगितमा सहभागी १६ मुलुकमध्ये नेपालले दुईवटा उपाधि जितेको छ । नेपालले बेस्ट कस्ट्युम अवार्ड अर्थात् उत्कृष्ट पोसाक पुरस्कार र बेस्ट चार्मिङ अवार्ड अर्थात् उत्कृष्ट चमकदार पुरस्कार जितेको छ । सबै सहभागीमा दुईवटा पुरस्कार जित्नेमा नेपाल मात्र रह्यो । समग्र नतिजामा बेलारुस प्रथम भएको छ भने मलेसिया दोस्रो भएको छ ।


त्यसैगरी रुसले तेस्रो पुरस्कार जितेको छ । सो प्रतियोगिताको निर्णायकमा बेलारुस, श्रीलंका, पेरू, इन्डोनेसिया र इजिप्टका कूटनीतिज्ञहरू थिए भने अन्य सातजना चिनियाँ कूटनीतिज्ञ रहेका थिए ।

प्रकाशित : मंसिर १०, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?