एनसीसी कोरियाले रजत जयन्ती मनाए 

कान्तिपुर संवाददाता

सोल — दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाले रजत जयन्ती मनाएको छ । कोरियास्थित नेपाली राजदूताबास भन्दा पनि पहिला स्थापना भएको एनसीसी कोरियामा विदेशीहरुको सबैभन्दा पहिलो संस्था बताइन्छ ।

नेपालबाट आएका तेस्रो कार्यसमितिका अध्यक्ष निरज थापाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा कोरियामा हाल सक्रिय विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । अञ्जु केसीको अध्यक्षता रहेको १६ औ कार्यसमितिले आयोजना गरेको समारोहमा नेपाली पञ्जे बाजासहितको गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो । सोही अवसरमा एनसीसीको इतिहास, कोरियामा नेपालीहरुको विभिन्न गतिविधिलाई समेटेर तयार पारेको स्मारिका विमोचन गरियो ।

Yamaha


हाल एनसीसी कोरिया क्षेत्रीय, जातीय र कला सांगीतिक क्षेत्रका विभिन्न सामाजिक संस्थाका छाता संस्थाको रुपमा रहेको छ । कोरियाको दुई मुख्य पर्व छुसक र सलनालमा नेपालीहरुले गर्दै आएको सांस्कृतिक कार्यक्रमको यसैले गर्दै आएको छ । छ महिनाअघि मात्र एनसीसीकै नेतृत्वमा गठित बुद्ध प्रतिमा अभियान समितिले नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थापना गराएको छ ।

कोरियामा सन १९९३ मा नेपालीहरुको विभिन्न समस्यालाई समाधान गर्दै नेपालको कला संस्कृतिलाई प्रबर्धन गर्ने उद्देश्यले एनसीसीको स्थापना भएको थियो । तत्कालिन समयमा दूताबास नभएकोले जापानको दूताबाससँग समन्वय गरी आवश्यक कामसमेत एनसीसीले गरेको थियो ।

कार्यक्रममा नेपालबाट आएका एनसीसीका पूर्व पदाधिकारीहरु, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, सल्लाहकारहरु केपी सिटौला, लोचन राई, राजु क्षेत्री, मजदुर नेता उदय राई र कोरियन नागरिक लिदिया भेगवल हेनलगायतको उपस्थिति थियो ।

प्रकाशित : मंसिर ११, २०७५ १०:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपचार गर्न लजाउँछन् महिला

गाउँमै नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि पाठेघरको समस्या झेलिरहेका ग्रामीण क्षेत्रका महिला लाज र डरले उपचार गर्न मान्दैनन् ।
मोहन शाही

डोटी — महिला स्वास्थ्य स्वयंसेविकाको करकापले आइतबार पवित्रा विक लजाउँदै रानागाउँ स्वास्थ्यचौकी पुगिन् । स्वास्थ्यकर्मीले उनको पाठेघर खसेर दोस्रो चरणमा पुगिसकेकाले शल्यक्रिया गरी पाठेघरमा रिङ राख्नुपर्ने सुझाए ।

डोटीको केआईसिंह गाउँपालिका ५ रानागाउँमा सञ्चालित स्वास्थ्य शिविरमा आएका बिरामी महिला । तस्बिर : मोहन/कान्तिपुर

पवित्राले भने रिङ राख्नै मानिनन् । झन्डै एक घण्टा स्वास्थ्यकर्मीको टोलीले परामर्श गर्दा पनि उनी लाज र डरले उपचार नगरी घर फर्किइन् ।

भूमिराजमाडौंमा गाउँपालिकासँगको सहकार्यमा नेपाली सेनाले स्वास्थ्य शिविर चलायो । शिविरमा पाठेघर सम्बन्धी समस्या भएका १४ महिला आए । ती मध्ये ७ जनाको पाठेघर खसेर शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । अन्य ७ को पाठेघर बाहिर निस्कन थालेको, सेतो पानी बग्ने र गन्हाउने समस्या थियो । शल्यक्रिया गर्नुपर्ने महिलामध्ये ४ जना मात्र उपचार गर्न सहमत भए । ३ जना उपचार नगर्ने भन्दै घर फर्किए ।

भूमिराजमाडौं फन्नीकी ६४ वर्षीया इन्द्रा भट्टले ३२ वर्षको उमेरदेखि खस्दै आएको पाठेघरको मर्ने बेला शल्यक्रिया गर्नु लाजको विषय भएको बताइन् । ‘कसैसँग यो समस्याबारे भनेकी थिइनँ, अब मर्ने बेला छोराबुहारीका अघि जान पनि लाज हुन्छ,’ उनले भनिन्, ‘उमेर भएकाले अप्रेसन गर्न जानु ठिकै हो, भो म जान्नँ ।’

केआईसिंह गाउँपालिकाले पाठेघर खसेका महिलाहरूका लागि अहिले गाउँगाउँमा शिविर चलाइरहेको छ । सबै ठाउँमा उस्तै प्रकृतिको समस्या भेटिएको छ । महिलाहरू शिविरमा परीक्षण नै गर्न नआउने, आए पनि खुलेर समस्याबारे भन्न तथा पाठेघर देखाउन हिच्किचाउने र केहीले शल्यक्रिया तथा उपचारका विधिहरू अपनाउन नमान्ने गरेको केआईसिंह गाउँपालिकाकी उपाध्यक्ष मीना विष्टले बताइन् ।

केआईसिंह गाउँपालिकाले पाठेघर खसेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका महिलाहरूको पहिचान गर्न गाउँगाउँमा शिविर सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । परीक्षण गर्दा पहिचान भएका ४० प्रतिशत महिला शल्यक्रिया गर्न असहमत भएका गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहरा बताउँछन् ।

‘अचम्म लागेर आउँछ, यत्रो पीडा सहेर बस्छन् तर उपचार गर्न अझै हिचकिचाउँछन्,’ उनले भने, ‘शिविरमा हामीले स्वयंसेविकामार्फत करकाप गरेर मात्र परीक्षणका लागि आएका छन्, रोग लुकाएर बसेका महिला त कति छन् कति ?’

गाउँपालिकाभरि ४८ महिलाको पाठेघर खसेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको रिपोर्ट गाउँपालिकालाई स्वास्थ्य संस्थाले दिएका छन् । शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्नेगरी शल्यक्रियाका लागि उपयुक्त भए/नभएको तथा त्यसका लागि आवश्यक अन्य पूर्वतयारी गर्न वडास्तरमा पाठेघर शिविर सञ्चालन भइरहेको हो ।

तर स्वास्थ्य संस्थाले विवरण पठाएका महिलाहरू पनि शिविरमा खुलेर आउन नसक्दा गाउँपालिकालाई चुनौती थपिएको गुनासो उनको छ ।

बढी तडकभडक र सार्वजनिक रूपमा शिविर सञ्चालन गरेमा महिलाहरू उपचारका लागि आउँदैनन् भनेर गाउँपालिकाले गोप्यमा परीक्षण गर्ने व्यवस्था शिविरमा मिलाएको थियो । स्वास्थ्यकर्मी त्यसमा पनि महिलामात्र परीक्षणका लागि राख्दा पनि महिलाहरू उपचारका लागि नआएको स्वास्थ्यकर्मी गीता भट्टलेजानकारी दिइन् ।

केआईसिंह गाउँपालिका–५ स्थित सञ्चालन भएको पारस्परिक जवाफदेहिता परियोजनाले गठन गरेको रानागाउँ स्थानीय सभामा महिलाहरूले पाठेघर खस्ने समस्या व्यापक भएको गुनासो पोखेका थियो ।

सो समस्या समाधानका लागि स्थानीय सभामार्फत गाउँपालिकालाई शिविर सञ्चालन गर्न अनुरोध गरिएको थियो । ‘शिविर सञ्चालन गर्दा पनि महिलाहरू खुलेर परीक्षण तथा उपचारका लागि आएनन्,’ स्थानीय सभा सदस्य कलावती मल्लले भनिन्, ‘अब गाउँपालिकाले घरदैलोसम्म प्रभावकारी कार्यक्रम गर्न आवश्यक छ ।’

कलिलो उमेरमा विवाह गर्नु, बढी सन्तान जन्माउनु, कामको बोझ बढ्नु, क्षमताभन्दा बढी भारी बोक्ने जस्ता कारणले महिलाहरूको पाठेघर खस्ने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थी बताउँछन् । उनका अनुसार सुदूरपश्चिममा ३५ देखि ४० प्रतिशत महिलाहरूमा पाठेघर खस्ने समस्या छ । अघिल्लो पुस्तामा बढी समस्या भए पनि नयाँ पुस्तामा कमी आउँदै गरेको उनको भनाइ छ ।

सरकारले पाठेघर खस्ने रोगको नि:शुल्क शल्यक्रिया गर्ने गरेको छ । बिरामीको शल्यक्रिया, खानेबस्ने व्यवस्था र यातायात खर्च पनि सरकारले बेहोर्ने स्वास्थ्य नीति छ । तर सुदूरपश्चिमका ग्रामीण भेगमा अझै पाठेघरको उपचार गर्न महिलाहरू हिचकिचाउने गरेका छन् ।

ग्रामीण क्षेत्रमा उपचारमा जान प्रेरित गर्ने प्रभावकारी स्वास्थ्य कार्यक्रमहरू सञ्चालन हुन नसक्दा रोग लुकाएर बस्न बाध्य भएको महिला नेत्रीप्रतिमा शाही बताउँछिन् । जनचेतनाको कमी र यौनसँग जोडिएको रोग भएकाले उपचार गर्न लजाउने गरेको उनले बताइन् ।

प्रकाशित : मंसिर ११, २०७५ १०:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT