अध्यागमन–नियममा कडाई गर्दै मलेसिया, कालोसूचिमा परेका ६३ हजार विदेशीलाई प्रवेशमा प्रतिबन्ध

कान्तिपुर संवाददाता

मलेसिया — मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । उसले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुन: प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । 

मलेसियाली अध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गरेको, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायत अभियोगमा दोषी पाइएका विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

Yamaha

कालोसूचिमा पर्नेहरुमा कयौं नेपालीहरु पनि रहेका छन् । मलेसियाले भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपालीहरुलाई पनि कालोसूचिमा राख्दै पुन: प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ ।

विभागका महानिर्देशक मुस्ताफर अलीका अनुसार यसै वर्ष जनवरी महिना यताका करिब ११ महिनाको अवधिमा उक्त संख्यामा विदेशी नागरिकहरु अध्यागमनको ‘कालोसूचि’ मा परेका हुन् ।
यसअघि कानुन उल्लंघन गरेको विभिन्न अभियोगमा उनीहरुकै देश फिर्ता पठाई कालोसूचिमा राखीएकाले अब उनीहरु निश्चित समयसम्म वा अध्यागमनले प्रतिबन्ध फुकुवानगरेसम्म मलेसिया आउन पाउनेछैनन् ।

महानिर्देशक अलीले हाल कालोसूचिमा परेकाहरुलाई अध्यागमनका साझेदारी निकाय एवं कम्पनीबाट ई–भिसा पाइसकेकै भएपनि प्रवेश नदिइने र ई–भिसा पाउँदैमा प्रवेश पाउने कुनै ग्यारेन्टी नहुनेसमेत स्पष्ट पारे । उनका अनुसार ई–भिसा पाइसकेकाहरु अध्यागमन विभागको कालोसूचिमा नरहेको खण्डमा मात्र मलेसिया प्रवेश गर्न पाउनेछन् ।

अलीका अनुसार कालो सूचीमा रहेकाहरु प्रवेश गर्न खोजेमा उनीहरुलाई ‘नट् टू ल्याण्ड’ सूचना जारी गरी सम्बन्धित देशमै नै फिर्ता पठाइनेछ ।

हाल कालोसूचिमा पर्नेहरुमा राष्ट्रिय सूरक्षामा खतरा मानिएका, आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएकाहरुदेखि सामाजिक भ्रमण भिसा (सोसल भिजिट पास) को दुरुपयोग गर्नेहरु समेत रहेका जनाइएको छ ।

गैरकानुनी आप्रवासी कामदारको व्यवस्थापन र भ्रष्टाचारको नियन्त्रण गर्नु नै मलेसियाका लागि सबैभन्दा ठूलो चुनौतीहरु हुन् ।

विभागका अनुसार गत ११ महिनायताको अवधिमा करिब ४५ हजार गैरकानुनी आप्रवासी कामदारहरुलाई उनीहरुकै मुलुक फिर्ता पठाइसकीएको जनाइएको छ । कालोसूचीमा पर्नेहरुमध्ये अधिकांश आप्रवासी कामदारहरु रहेको अनुमान छ ।

मलेसियामा गत मे महिनामा नयाँ सरकार गठन भएसँगै सरकारले मुलुकमा खासगरी आप्रवासी एवं अध्यागमनसम्बन्धी नीति पनि कडाईका साथ लागू गर्दै आइरहेको छ।

कालोसूचिमा रहेका विदेशीहरुलाई समेत प्रवेश अनुमति दिएको अभियोगमा गत सेप्टेम्बर महिनामा ४ जना कर्मचारीलाई पक्राउ गरि छानवीन अघि बढाइएको थियो । समाचारहरु अनुसार ती कर्मचारीले उनीहरुबाट घुस लिएर भिसा अनुमति जारी गरेको भेटिएको पाइएको थियो ।

सरकारले मानव बेचविखन जस्ता कार्यमा संलग्न रहेका हुनसक्ने र यस्तो कार्यमा सघाउने कर्मचारीहरुलाई निशाना बनाउँदै अनुसन्धान गर्दै आएको छ र उनीहरुमाथि कडा निगरानी गर्दै आइरहेको छ ।

मलेसियाले मुलुकभर रहेका विभिन्न १३७ प्रवेश समून्द्री एवं स्थलगत नाकाहरु भएर मुलुक भित्रिने विदेशीहरुका लागि उच्च जाँच गर्दै आएको छ ।

प्रकाशित : मंसिर १७, २०७५ १०:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अझै धामी–झाँक्रीकै भर

जनचेतना र स्वास्थ्य संस्थासम्मको पहुँच अभाव 
माधव अर्याल

पाल्पा — माथागढी गाउँपालिका–५ गोहेलुङका ३३ वर्षीय दिलबहादुर सारू रुघाखोकी र छाती दुख्ने समस्याले पीडित भए । उनलाई अस्पताल होइन धामी–झाँक्रीकहाँ लगियो ।

धामी–झाँक्रीले उनलाई फुकफाक गरे । खरानीको धूलो ख्वाए । केही दिनसम्म फुके । मरी लाग्यो भन्दै कुखुरा पनि चढाए । धामीको भर पर्दा उनी झन् थलिँदै गए । गाउँका धेरैले गाली गरेपछि मात्र अस्पताल लगियो । अस्पतालमा पुगेर उपचार गर्दा उनलाई जटिल प्रकारको क्षयरोग लागेको पत्ता लाग्यो । ढिलोगरी उपचार गर्न अस्पताल पुग्दा उनको ज्यानै गयो ।

‘हाम्रो गाउँघरमा अझै पनि धामी–झाँक्रीको भरपर्ने चलन छ,’ छिमेकी भूमिका बाकावल मगरले भनिन् । यहाँका अधिकांश टोल, बस्तीमा धामी–झाँक्रीकै भर पर्ने चलन छ । उनीहरू अस्पतालसम्म जान चाहँदैनन् । सकेसम्म गाउँमै जडीबुटी, लामाधामी गरेर निको हुने चलन छ ।

यस भेगका अधिकांश धामी–झाँक्रीकै भर पर्ने हात्तीलुङकी ६२ वर्षीया चुनीसरा पल्लीमगरले बताइन् । ढाड, पेट र छाती दुख्ने समस्याले पीडित उनले तानसेन र रूपन्देहीका अस्पतालसम्म दुईपटक मात्र पुगेको बताइन् । ‘मैले रोग लागेपछि देखाउने ठाउँ भनेको धामी–झाँक्रीलाई नै हो,’ उनले भनिन्, ‘गाउँनजिक स्वास्थ्य संस्था छैनन् । जान/आउनमै दिन बित्छ । नजिक भनेका तिनै धामी–झाँक्री छन् । अनि, तिनलाई नदेखाएर कसलाई देखाउने त ?’

यस भेगका बासिन्दालाई स्वास्थ्य संस्था पुग्नै तीन घण्टा लाग्छ । सदरमुकामदेखि ४० किलोमिटर टाढाको हात्तीलुङका साथै माथा, अर्गले, गोहेलुङ, चारघरे, कुम्भीलगायतका गाउँका बासिन्दाको सहज पहुँचमा छैनन् स्वास्थ्य संस्था ।

त्यसैले फुकाउने, लामा बसालेर हल्लिने र कुखुरा चढाउने सामान्य भएको स्थानीय ६० वर्षीया खुमाकुमारी खाम्चा मगरले बताइन् । ‘हामीलाई उपचार गर्न जान निकै समस्या छ,’ उनले भनिन्, ‘दिनभरिको काम मारेर जाँदा पनि स्वास्थ्य संस्थामा औषधि नहुने र डाक्टर नै नभेटिने समस्या पनि छ ।’

कोही बिरामी भयो भने सजिलै स्वास्थ्य चौकीमा पुग्न सक्ने अवस्था छैन । घण्टौं लाग्ने ठाउँबाट पिठ्यूँमा बोकेर बिरामीलाई उपचारका लागि लिएर जानुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘बाटो पनि व्यवस्थित छैन,’ उनले भनिन्, ‘सवारी साधन नपाइने समस्या पनि उस्तै छ ।’

स्थानीय हात्तीलुङ माविका शिक्षक दुर्गा ढेंगाका अनुसार बिरामी बोक्न यस भेगमा एम्बुलेन्सको पहुँच छैन । उनीहरू स्ट्रेचरमा बोकाएर औषधि उपचार गराउन लैजाने गर्छन् । ‘कोही बिरामी भयो भने डोकोमा बोकाएर लैजान बाध्य हुन्छन्,’ उनले भने, ‘गाउँ नजिक मेडिकल पनि छैनन् । त्यसैले धामी झाँक्रीकै भर पर्नुपर्छ ।’

जनचेतनाको अभाव र उनीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न टाढा भएकाले पनि समस्या भएको स्थानीयको गुनासो छ । स्वास्थ्यचौकीमा कर्मचारी नियमित नबस्ने, औषधि नहुने अर्को समस्या यहाँका ५९ वर्षीय चन्द्रबहादुर सिंजाली मगरले बताए । उनका अनुसार लामाधामीले ठीक गर्न नसकेपछि मात्र अन्तिममा अस्पताल लैजाने गरिन्छ ।

‘हामीलाई सेवा सुविधा छैन,’ उनले भने, ‘त्यसैले गाउँघरे उपचार गर्ने गर्छौं ।’ रूपन्देही र नवलपरासीसँग सीमा जोडिएको यस भेगका बासिन्दा तराई भेगमा समेत उपचार गर्न जाँदैनन् । गएर आउँदा पूरै दिन बित्ने भएकाले पनि जोडबल नगर्ने उनले बताए ।

सन्चो क्लिनिक, तानसेनका डाक्टर झपेन्द्र ढकालले पुराना घाउ, चोटपटक लागेका र मदिरा सेवनबाट हुने रोगका साथै ग्यास्ट्रिकका रोगी अत्यधिक मात्रामा क्लिनिकमा आउने गरेको बताए । ‘यहाँका बासिन्दाका लागि पहिलो डाक्टर लामाधामी रहेछन्,’ हात्तीलुङमा भेटिएका उनले भने, ‘त्यसपछि पनि सन्चो भएन भने बल्ल अस्पताल जाने यहाँको चलनलाई हटाउन सचेतनाको आवश्यकता छ ।’

हात्तीलुङका वडाध्यक्ष बेलबहादुर ढेंगाले भर्खर वडा कार्यालय र स्वास्थ्यचौकीका लागि भवन बन्दै गरेको बताए । आगामी वर्षदेखि गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम गरिने उनले सुनाए । ‘अहिले कर्मचारी पनि छैनन्,’ उनले भने, ‘स्वास्थ्य संस्था छैन भन्दा भएको तर उल्लेख्य प्रगति गर्न नसकिएकाले आगामी दिनमा यस विषयमा योजना बनाएर अघि बढ्छौं ।’

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले पुन:संरचनामा नयाँ वडा भएकाले तत्काल केही उपचार होस् भनेर अहेव खटाएको बताए । अहिलेलाई सामुदायिक स्वास्थ्य इकाइका रूपमा उपचार सुरु गरिएको उनले बताए । ‘गाउँपालिकाले करारमा अनमी राखेर सेवा प्रारम्भ गरेको छ,’ उनले भने, ‘खोप केन्द्र र गाउँघर क्लिनिक चलाउँछौं ।’ उनले पर्याप्त जनशक्ति, स्रोत र साधनको अभाव हुँदा सेवा प्रवाह प्रभावकारी बनाउन समस्या भएको बताए ।

प्रकाशित : मंसिर १७, २०७५ १०:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT