कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतको जनगणना फाराममा ‘नेपाली’ राख्न प्रधानमन्त्रीसँग माग

लन्डन — आगामी मार्च २०२१ मा बेलायतमा हुने जनगणना फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’ राखिनुपर्ने माग यहाँका नेपालीले प्रधानमन्त्री टेरेजा मेसँग गरेका छन् । 

बेलायतको जनगणना फाराममा ‘नेपाली’ राख्न प्रधानमन्त्रीसँग माग

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को नेतृत्वमा बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिले बुधबार ज्ञापन बुझाएका हुन् । सुरुमा प्रधानमन्त्रीलाई नै भेट्ने प्रचार गरिए पनि मेले समय नदिएपछि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको ढोकामा ज्ञापनपत्र दिइएको हो । प्रधानमन्त्री मे यतिबेला ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन

गराउन संघर्ष गरिरहेकी छन् । ब्रेक्जिट अन्योल र आफ्नै पद अनिश्चयको घेरामा रहेका बेला मेले नेपालीलाई समय दिने सम्भावना झिनो थियो ।


बेलायतको केन्द्रीय तथ्यांक विभागले आउँदो अटममा संसदमा पेस गर्न लागेको श्वेतपत्रमा जनगणना फाराममा चारवटा ‘इथ्नीक माइनोरिटी’ समुदायलाई सिफारिस गरिए पनि ‘नेपाली’ नराखिएको ज्ञापनमा गुनासो छ ।


गत २२ अगस्टमा अल्डरसटमा युके सेन्सस नेशनल स्ट्याटिसटिसियनका जोन पुलिन्जरलगायत ओएनएस

पदाधिकारी तथा नेपाली समुदायबीच यसबारे गहन छलफल भएको थियो । छलफलमा सकारात्मक संकेत दिइए पनि अहिले नेपाली छुटाइएकोमा नेपाली समुदायको रोष छ । बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धमात्र होइन, गोर्खाहरुको साहस र योगदान एवं बेलायतमा झण्डै दुई लाख नेपाली रहेको अवस्थामा फाराममा ‘नेपाली’ टिक लगाउन मिल्ने विकल्प राखिनुपर्ने नेपालीको माग छ ।


ज्ञापन बुझाउन रसमोर क्षेत्रका सांसद लियो डोचेर्टी, रसमोर बरो काउन्सिल लिडर डेभिड क्लीफोर्ड, काउन्सिलर लक्ष्य गुरुङ, युके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष अलान सान्का, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ, सहारा युके अध्यक्ष मिनबहादुर गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासेलगायत बेलायतको विभिन्न सहरबाट आएका नेपाली सहभागी थिए ।


जनगणना फाराममा नेपाली विकल्प राख्दा आफ्नो पहिचान स्थापित गर्न थप टेवा पुग्ने विश्वास नेपाली समुदायको छ । नेपाली समुदायकै पहलमा ग्रीनवीच बरो काउन्सिलले भने आफ्ना हरेक फाराममा ‘नेपाली’ समावेश गरिसकेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?