सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी आएका मीलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको 'हाम्रो कलेज'मा अध्ययन गर्न आएका उनी जम्मा २० वर्षका थिए ।

उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारीअनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । अधिकारीले चिकित्सकहरुको भनाइ उद्धृत गर्दै उनको मृत्युको कारण 'ब्रेन हेमरेज' भएको जानकारी दिए ।

उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।

शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७५ १७:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन सुरु, यथार्थ जानकारी गराउन परराष्ट्रको निर्देशन

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको आरोपको यथार्थ जानकारी गराउन नेपाल सरकारले क्यानबेरास्थित दुतावासलाई निर्देशन दिएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा ।

दुतावासका पुर्व कर्मचारी वाङ्गछु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएका छन्। मंगलबार विपक्षी दल नेपाली कांग्रेसले राजदूत शेर्पामाथी छानविन गर्न माग गरेको थियो। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरिरहेका छन्।

यसै सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले एक पत्र लेखेर दुतावासलाई घटनाको यथार्थ यथासक्दो जानकारी गराउन निर्देशन दिएको हो। 'पत्रमा गत केही दिनदेखि अष्ट्रेलियाको राजदुतका बारेमा लागेको आरोपका बारेमा मन्त्रालय जानकार रहेको भन्दै घटनाका बारेमा जानकारी गराउन भनिएको छ' स्रोतले भन्यो। राजदुत शेर्पाले मन्त्रालयबाट अहिले भइरहेको घटनाक्रमका बारेमा सोधिएका कारण त्यसको बारेमा यहाँको बस्तुस्थिती जानकारी गराइने बताए।

राजदूत लक्की शेर्पाका श्रीमान् सोनामसंग ऋण लिएको भनेर गरिएको कागज भनेर वाङ्गछुले उपलब्ध गराएको कागज।

वाङ्गछुले कान्तिपुरसँगको कुराकानीमा पनि राजदूत दम्पतीलाई मानव तस्करी र ठगीको आरोप लगाए। प्रमाणहरु आफुसंग भएको दावी गरेपनि पुष्टी हुने कुनै दस्तावेज भने प्रस्तुत गर्न सकेनन्। उनले आफुसँग प्रमाणहरु रहेपनि मुद्दा अष्ट्रेलियामा चलिरहेकाले यहाँको नियम अनुसार आफुले ती प्रमाणहरु उपलब्ध गराउन नसक्ने बताए।

उनले उपलब्ध गराएको कागजहरु मध्ये एउटामा राजदुत लक्की शेर्पाका पतिले सोनामले वाङ्गछुलाई ४ वर्षमा चुक्ता गर्ने गरि ६४ लाख नेपाली रुपैयाँ ऋण दिएको देखिन्छ। उक्त कागजमा वाङ्गछुले हस्ताक्षर गरेको भएपनि राजदुत शेर्पाका पतिको हस्ताक्षरका छैनन्।राजदुत शेर्पाले भने आफुलाई लगाएको आरोप झुठो भएको बताएकी छन्। साथै वाङ्गछुले उपलब्ध गराएको ऋण लिएको कागज पनि झुठो भएको दावी उनले गरिन्।

राजदूत शेर्पाकी बुबा र आमासंगै वाङ्गछुकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा भिषा उपलब्ध गराउन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित अष्ट्रेलियाली हाई कमिसनलाई लेखेको पत्र।

'बाङ्छुले देखाएको सम्पुर्ण कागजपत्र नै नक्कली हो' उनले भनिन्। राजदुत शेर्पाले नै वाङ्गछुलाई अर्दलीको रुपमा अष्ट्रेलिया ल्याएकी थिइन् भने उनकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा अष्ट्रेलिया ल्याउन प्रयास गरेको देखिन्छ। अहिले ठगीको मुद्दामा फुलमु नेपालमै जेलमा छिन्।

यसअघि वाङ्गछुले सार्वजनिक रुपमा आरोप लगाएपछि क्यानवेरास्थित दूतावासले एक बिज्ञप्ति जारी गरेर वाङ्छुले झुठो आरोप लगाएको उल्लेख गरेको थियो। राजदूत शेर्पाले वाङ्गछु पहिल्यैदेखि ठगीमा संलग्न रहेका कारण उनले लगाएको आरोप निराधार रहेको बताइन्। उनले वाङ्गछुसंग आफुले कहिल्यै कुनैपनि आर्थिक कारोबार नगरेको पनि उनले बताइन्।
राजदूतावासले आरोपको खण्डन गर्दै निकाले प्रेस विज्ञप्ति।

प्रकाशित : मंसिर २०, २०७५ १३:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT