कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“रंगमञ्चलाई मोफसलमा लानुपर्छ”

‘अब राजधानीबाहिर पनि नाटय संस्कारको सुरु गर्न अत्यावश्यक छ । राजधानीबाहिर पनि नाटकका दर्शक प्रशस्त छन्, तर नाटकसम्म उनीहरूको पहुँच छैन ।’
पर्वत पोर्तेल

काँकडभिट्टा — राजधानीमा मात्रै केन्द्रित नाटकहरू केही समययता मोफसलतिर पनि छाउन थालेका छन् । यसको श्रेय मण्डला थिएटरलाई जान्छ । मण्डलाले गत वर्षदेखि मोफसल केन्द्रित नाटक अभियान सुरु गरेको थियो ।

“रंगमञ्चलाई मोफसलमा लानुपर्छ”

अघिल्लो वर्ष उसले पूर्वका विभिन्न सहरमा ‘जुनकिरी’ मोबाइल थिएटरमार्फत ‘मनचिन्ते फिरन्ते’ र ‘डिग्री माइला’ प्रदर्शन गरेको थियो । केही महिनाअघि ‘लाटीको छोरा’ नाटक पनि पूर्वका विभिन्न सहरमा प्रदर्शन गरिएको थियो ।


मण्डलाले यस वर्ष पनि नाटय यात्रालाई निरन्तरता दिएको छ । गत वर्ष आयोजित पूर्वाञ्चल नाटय यात्रा २०७३ को दोस्रो संस्करणका रूपमा दोस्रो पूर्वाञ्चल नाटय यात्रा आयोजना गर्न लागिएको आयोजक लेट्स इन्टरनेसनल प्रालिका विकास बुढाथोकीले बताए । यस नाटय यात्राले राजधानीबाहिर नेपाली रंगमञ्चको विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने उनको दाबी छ । यसपालि उसले ‘सर्जमिन’ नामक नाटक प्रदर्शन गर्दै छ । पुष्करशमशेरको चर्चित कथा ‘परिबन्ध’ मा आधारित यो नाटक पूर्वका आठ सहरमा प्रदर्शन गरिँदै छ ।


‘रंगमञ्चलाई विकेन्द्रीकरण गर्न जरुरी देखिएको छ,’ मण्डला थिएटर नेपालका निर्देशक रंगकर्मी राजन खतिवडाले भने, ‘अब राजधानीबाहिर पनि नाटय संस्कारको सुरु गर्न अत्यावश्यक छ । राजधानीबाहिर पनि नाटकका दर्शक प्रशस्त छन्, तर नाटकसम्म उनीहरूको पहुँच छैन ।’


नेपालका चर्चित कलाकार र उनीहरूको प्रस्तुतिलाई स्थानीय समुदायका दर्शकले आफ्नै घरआँगनमा हेर्न पाउने भएकाले पूर्वमा यस कार्यक्रमको विशेष महत्त्व रहने खतिवडाले बताए । उनले कार्यक्रमको ध्येय केन्द्रीकृत नेपाली कला र सांस्कृतिक गतिविधिलाई विकेन्द्रित गर्नु मात्र नभई राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्रान्ड र उत्पादनहरूलाई राष्ट्रकै चर्चित सेलिब्रेटीहरूको माध्यमद्वारा स्थानीय स्तरमा प्रवद्र्धन गराउने पनि रहेको बताए ।


मण्डलाको दोस्रो पूर्वाञ्चल नाटय यात्रा मंगलबार इटहरीको कलालयको प्रदर्शनसँगै सुरु हुनेछ । चर्चित रंगकर्मी प्रवीण खतिवडाको निर्देशनमा तयार पारिएको नाटक खतिवडाकै गृहनगर लेटाङमा २६ गते, अर्का रंगकर्मी सोमनाथ खनालको गृहनगर बेलबारीमा २७, २८ र २९ तीन दिन, झापाको परिवर्तन थिएटरको संयोजनमा धुलाबारीको पासाङल्यामु स्मृति प्रतिष्ठानमा ३० र माघ १ गते, इलामको चुलाचुलीमा माघ २, मोरङकै झोरहाटमा ३ र ४, रमाइलोमा ५ तथा विराटनगरको गुरुकुलमा ६,७ र ८ गते नाटक प्रदर्शन गरिने आयोजक लेट्स इन्टरनेसनलका बुढाथोकीले जनाए । ‘सर्जमिन’ मा बुद्धि तामाङ, विजय बराल, प्रदीपकुमार चौधरी, विकाश जोशी, उमेश तामाङ, रञ्जना वली, विनीता गुरुङ, सोमनाथ खनाल लगायतको अभिनय छ । नाटय यात्रामा यसपटक स्थानीय कलाकारहरूका लागि १० दिवसीय अभिनय कार्यशालासमेत प्रदान गरिनेछ ।


मण्डला थिएटरका निर्देशक राजन खतिवडा र ‘सर्जमिन’ का निर्देशक प्रवीण खतिवडासहित नाटय यात्रामा सहभागी कलाकारहरूले कार्यशालामा तालिम दिनेछन् भने त्यसको

सुपरीवेक्षण चर्चित अभिनेता दयाहाङ राईले गर्नेछन् ।

प्रकाशित : पुस २६, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?