उराँव लोकसंस्कृतिमाथि नाटय विमर्श

काठमाडौँ — नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अल्पसंख्यक उराँव समुदायको लोककला र संस्कृतिमाथि नाटय विमर्श गरेको छ । प्रतिष्ठानको नाटय विभागले सुनसरीको इनरुवामा उराँव समुदायमा प्रचलित प्रदर्शनकारी लोककला र संस्कृतिका विभिन्न पक्षमाथि बृहत् छलफल गरेको जनाएको छ । 

उराँव लोकसंस्कृतिमाथि नाटय विमर्श

प्रतिष्ठान नाटय विभाग प्रमुख एवं प्राज्ञ रमेशरञ्झन झाका अनुसार उराँव लोकसांस्कृतिक झाँकी र नाचगानसहित गरिएको विमर्शमा उराँव भाषाविद् रामलाल उराँवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उराँव समुदायका लोकाचारहरूका विभिन्न पक्ष औंल्याइएको थियो । यसपछि उराँव समुदायमा प्रचलित नृत्य परम्परामाथि प्रकाश पार्दै इना

उराँवको समूहले नृत्य प्रस्तुत गरेको थियो ।

‘नृत्यमा उराँव महिला तथा पुरुषहरूले कर्मा पर्वमा आफूहरूलाई अभिव्यक्त गर्छ भन्ने देखाइएको छ,’ नाटय विमर्श सकेर राजधानी फर्केका प्राज्ञ झाले भने, ‘लेख्य नाटय प्रस्तुतिको अभाव भए पनि यो समुदायमा इनाजस्तै थुप्रै नयाँ प्रतिभाहरूले काम गरिरहेको पायौं ।’ उनका अनुसार विमर्शमा उराँव भाषासँग नजिकको सम्बन्ध राख्ने मैथिली, थारूसँगै नेपाली भाषाका स्थानीय विज्ञहरूको सहभागिता थियो ।

विमर्शमा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राम धामी, मैथिली भाषाका लेखक प्रवीणनारायण चौधरी, रंगकर्मी रामभजन कामत, प्रकाश प्रेमी, संस्कृतिकर्मी धीरज बर्मा, सञ्जय मेहता लगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

‘अल्पसंख्यक तथा लोपोन्मुख समुदायको भाषा र संस्कृतिलाई संरक्षण गर्न प्रतिष्ठानले काम गरिरहेको छ,’ झाले भने, ‘त्यहीअनुरूप विमर्श गरेका हौं ।’

झाले उराँव लोकसंस्कृतिमा जन्मदेखि मृत्युसम्म गीत र संगीतको उपयोग निकै अनौठो पाएको उल्लेख गर्दै यस समुदायसँग नाटकीय प्रस्तुतिका लागि पनि आउँदा दिनमा प्रतिष्ठानसँग सहकार्य हुन सक्ने बताए । उनका अनुसार, विमर्शमा नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका पूर्व अध्यक्ष वासुदेव उराँव, विष्णु उराँव, राजकुमार उराँव, नुनुलाल, ममता, प्रकाश अनुरागी लगायतले आफूहरूको भाषा–संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सघाउने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : पुस २७, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?