“सुर्के थैलीपछि बल्ल नाम पाएँ”

टर्निङ प्वाइन्ट
कान्तिपुर संवाददाता

काठमाडौँ — प्राय: मान्छे सानोमा चकचके हुन्छ भन्छन्, मेरो हकमा त्यस्तो भएन । साथीभाइ बनाउने, खेल्ने, हाहाहुहु गर्ने मेरो बानी नै थिएन । छोराको चुप लागेर बस्ने स्वभाव देखेर आमाबुबा मख्ख । ‘छोरो त निकै ज्ञानी’ भन्दै बेलामौकामा उहाँहरू फुर्काउनु पनि हुन्थ्यो । बोल्न पनि मन नपराउने र गुपचुप बस्ने छोरोले गीत गाएर करिअर बनाउँछ भन्ने उहाँहरूले कल्पनासम्म गर्नुभएको थिएन सायद । 

राजनराज सिवाकोटी गायक/संगीतकार 

जीवन सोचेभन्दा फरकै नै हुँदो हरेछ । गीतसंगीतमा लाग्ने वातावरण घरमा पटक्कै थिएन । म भने अरूले गीत गाएको खुब सुन्न मन पराउँथें । एक दिन स्कुलमा गायन प्रतियोगिता भयो । साथीहरूले गाएको देखेर मलाई पनि सहभागी हुने चाह जाग्यो । ठूलोबुबाको छोराले ‘घिन्ताङमा घिन्ताङ मादलु...’ गीतका केही हरफ लेखिदिए । मैले चाहिँ सुनिआएको लोकलयमा त्यत्तिकै गाइदिएँ । गाइसकेपछि साथीहरूको भीडमा आएर थपक्क बसे । प्रतियोगितामा प्रथम हुने आशामा अरू थुप्रै प्रतियोगी थिए । नाम घोषणा हुँदाचाहिँ उनीहरू छक्क परे । सबैले मतिरै मुखामुख गर्न थाले, मानौं मैले उनीहरूको अमूल्य चिज खोसिदिएको छु । आफंैलाई पत्यार नलाग्नेगरी प्रथममा आएको नाम मेरै थियो । पुरस्कारमा चाहिँ सुन्तलागेडी मिठाई, कापी र कलम पाएको थिएँ ।

पुरस्कार त जितें तर घरमा खुसी भित्रिएन । आमाबुबाको मुहारमा हाँसो थिएन । यस्तो देखेपछि बिस्तारै म आफैं चुपचाप बस्न थालें । गीतसंगीत त निकै सुन्थे तर गाउने प्रयास गरिनँ । उच्च शिक्षा हासिल गर्न दोलखाबाट राजधानी छिरें । समय बितिरहेकै थियो । एयरपोर्टको जागिरे भएँ । पैसाको अभाव थिएन । दैनिकी सहज बन्दै थियो तर मनमा चाहिँ खुसी मिलिरहेको थिएन । अरूले गीत गाएको देख्दा मनमनै लोभिन्थें र ‘यस्तो मिल्यो, उस्तो मिलेन...’ भित्रभित्रै आफंै गीतको मूल्यांकन गरिबस्थें । संगीतप्रतिको उत्कण्ठा बाहिर आउन चाहन्थ्यो, म भने भित्रभित्रै त्यसलाई दबाउने प्रयास गरिरहन्थें । कतिन्जेल सहनु ?

विसं २०५८ तिरको कुरा हो, मनभित्र केही आँट बटुलें । संगीतमा लागेर केही गर्छु भन्ने जोस संगालें । संगीतकार न्हयु बज्राचार्यको ‘डोरेमी’ म्युजिक स्कुलमा संगीत सिक्न सुरु गरें । दुई वर्ष अध्ययनपछि संगीत रचनातिर लागें । २०५९ मा ‘मायालु आउने जाने बाटोमा...’ रेकर्ड गरें । गीत त धेरै चल्यो, तर म आफू भने कतै चिनिइनँ । मनभित्र संगीतमा केही प्रयोगात्मक हुनुपर्छ भन्ने लागिरहन्थ्यो ।

मैदानमा उत्रिएपछि हरेस खाने कुरै भएन । त्यसको एक वर्षमै लोकदोहोरीमा सिर्जना रचें । विभिन्न गायकगायिकाको स्वरमा आफ्नै शब्दसंगीत भरेर ‘पञ्चामृत’ गीति एल्बम निकालें । ‘म माया गर्छु मेरी उनीलाई...’ लगायत गीत अलिअलि चर्चामा आए । त्यसपछि फेरि दोहोरी नभई तेहेरी शैलीमा गीत निकाल्ने सोच बनाएँ । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनताका राजनीतिक दलहरूबीच त्रिपक्षीय वार्ता हुनपर्ने दबाब थियो । त्यसैमा आधारित तेहरी गीत ‘वार्ता मिलाइदेऊ...’ सिर्जना गरें । यति बेलासम्म पनि मेरा सिर्जना चर्चामा थिए, म चाहिँ गुमनाम । त्यसपछि आधुनिक र पप गीतमा समेत अनुभव बटुल्ने सोच बनाएँ । ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन...’, ‘प्रिय तिम्रो सिउँदोमा...’, ‘तिम्रै हातको...’ लगायत आधुनिक गीत लोकप्रिय भए ।

नवीन के भट्टराईको स्वर रहेको पप गीत ‘अलिकति पीडा हुँदा नि...’ सिर्जना गर्दासम्म पनि संगीतकार राजनराज सिवाकोटीको परिचय थिएन । केटाकेटी नचाउने गीत ‘डाँफेझैं नाच्ने हिमालझैँ हाँस्ने नेपालकी छोरी हुँ म...’ पनि खुब चल्यो, तर मेरो नाम खासै चलेन । तर आफ्नो परिचय स्थापित गराउन सिर्जना कार्यमा डटी नै रहें ।

फिल्मका गीतमा पनि लोकशैलीको ट्रेन्ड भित्र्याउन पाए कस्तो हुन्थ्यो होला भन्ने यही सोचका साथ ‘सुर्के थैली खै...’ गीत कम्पोज गरेर केही रेडियोमा बजाउन दिएँ । गीतै सुनेर अभिनेत्री दीपाश्री निरौला र अभिनेता दीपकराज गिरीले फिल्म ‘वडा नम्बर ६’ का लागि अफर गरे । यही गीतले मलाई नाम दियो । यही गीत पछिल्लो समय मेला टाइपको फिल्मी गीतका लागि ट्रेन्डसेटरजस्तै बन्दा खुसी लागेको छ । युटयुबमा पनि यो गीतले करोडभन्दा बढी भ्युअर्सको कीर्तिमान बनायो । त्यसपछि नामको भोकमा कहिल्यै भौंतारिनुपरेन । ‘कुटुमा कुटु सुपारी दाना...’, ‘पूर्वपश्चिम रेल...’, ‘चरी चट्ट परी...’, ‘चिरबिर चिरबिर...’ लगायत फिल्मीगीतले मलाई थप स्थापित त गराएका छन्, तर अझै म सन्तुष्ट छैन । धेरै नयाँ सिर्जना गर्न बाँकी छ । अहिले एक दर्जनभन्दा बढी फिल्मका गीत हातमा छन् । एउटै धारमा टिकी नरहने बानी छ । पप, आधुनिक, लोकशैली मिसाएर फयुजन स्वाद दिन हरदम प्रयास गर्दै छु ।

-प्रस्तुति : मधु शाही

प्रकाशित : पुस २८, २०७४ ०७:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शीतलहरमा धुर्मुस–सुन्तलीको न्यानो

कान्तिपुर संवाददाता

महोत्तरी — हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले महोत्तरीको मुसहर बस्तीका २ सय बढी परिवारलाई कम्बल वितरण गरेका छन् । बाक्लो हुस्सु र १० डिग्री कम तापक्रमका बीच मनरा सिसवा ५ बथनाहा पुगेका उनले मुसरहर समदायका बस्तीमै पुगेर शीतलहर पीडितलाई कम्बल बाँडेका हुन् । 

सीताराम कट्टेल (धुर्मुस) सिसवा नगपालिकाको सीमावर्ती बथनाहाका मुसहर समुदायलाई कम्बल वितरण गर्दै ।


‘चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नकिने गुन लगाएको’ भन्दै मुसहर समुदायले धुर्मुसप्रति आभार प्रकट गरे । समुदायका अगुवा विल्टु सदाले अभाव र जाडोले ग्रस्त यहाँका मुसहर परिवारले यसअघि कुनै प्रकारको सहयोग नपाएको जनाए । सडकपारि भारतीय गाउँ र सडकवारि नेपाली बस्ती रहेको बथनाहाका दलित उता बस्ने आफ्नै समुदायको तुलना गर्दै राज्यले बेवास्ता गर्दा आफूहरू पीडित बनेको बताए । ‘त्यता (भारत) पनि हाम्रै जात छन् तर हामीभन्दा सुखी छन्,’ बिल्टुले सडक पश्चिमको भारतीय बस्तीतर्फ औंल्याउँदै भने, ‘त्यहाँका सरकारले हरेक महिना रासन र भत्ता दिन्छ, हाम्रो हालत भने यस्तो छ ।’

धुर्मुसले कम्बल वितरण कार्यक्रममा बोल्दै ‘भूकम्प, बाढीपहिरो, शीतलहरजस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबै ठाउँमा जुटेर एक आपसमा सहयोग गुर्नपर्ने’ बताए । धुर्मुसलाई प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी प्रमुख बालकृष्ण पोखरेल, मनरासिसवा नगरपालिकाका मेयर सञ्जय सिंह, वडाअध्यक्ष बलीराम राय, नागरिक अगुवा ललन रायलगायतका स्थानीयले सयोग पुर्‍याएका थिए । धुर्मुस सुन्तली फाउन्डेसनले सञ्चालन गरेको ‘न्यानो वितरण’ कार्यक्रमअन्तर्गत गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति यिवु चीनस्थित ‘नेपालीको लागि नेपाली’ (एनआरएन आरसीसी चाइना) द्वारा उपलब्ध गराइएको कम्बल उनले वितरण गरेको हो । एनआरएन आरसीसी चाइनाले ३ हजार २ सय कम्बल सहयोग उपलब्ध गराएको उनले जनाए ।

प्रकाशित : पुस २८, २०७४ ०७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT