कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मञ्चमा दुर्गानन्दको कथा

काठमाडौँ — २०१७ पुस १ गते पहिलो निर्वाचित सरकार र संसद्लाई ‘कु’ गरी राजा महेन्द्रले शाही निरंकुशता सुरु गरे । यसैको विरोधमा जनता संघर्षमा होमिए । २०१८ माघ १ गते जानकी मन्दिरनिर राजा महेन्द्र चढेको जिपमा बम प्रहार भयो ।

मञ्चमा दुर्गानन्दको कथा

राजालाई केही भएन, जिपको केही भाग क्षतिग्रस्त भयो । बम प्रहारको अभियोगमा दुर्गानन्द झा समातिए । २१ वर्षीय युवक गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढे । नेपालमा गणतन्त्र आएपछि उनकी श्रीमती पहिलो महिला कानुन राज्यमन्त्री पनि भइन् ।

यही कथाको नाटय रूप ‘काशीदेवी’ मा देख्न सकिन्छ । लेखक नीराजन झा र सरिता शाहको परिकल्पना एवं निर्देशन रहेको मैथिली नाटकको मञ्चन बिहीबारदेखि सर्वनाम थिएटरमा सुरु भएको छ ।

नाटक मञ्चन भइरहँदा हलमा दर्शक भावुक भए । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि गला अवरुद्ध पारे । नाटक हेरिसकेपछि रुमालले आँसु पुछदै उनले ‘दुर्गानन्द झा प्रजातान्त्रिक योद्धाका साथै सबैको लागि प्रेरणाको स्रोत भएको’ बताए । झाको कथालाई कलाकारहरूले सशक्त अभिनयमार्फत प्रस्तुत गरेर अहिलेको पुस्तालाई देखाएकामा उनले धन्यवादसमेत दिए ।

नाटकले ‘गणतन्त्र त्यसै आएको हैन भन्ने ज्ञान दिएको’ वरिष्ठ नाटककार अशेष मल्लले सुनाए । नाटक हेरिरहँदा बीपी कोइरालाले लेखेको ‘एक रात’ कथाको स्मरण भएको उनले सुनाए । मैथिली लोक नाटय परम्परा ठूलो रहेको प्राज्ञ रमेशरञ्जन झाले जनाए । मैथिली नाटकको सात सय वर्ष अघिदेखि लेख्य रूपमा भेटिएको उनले दाबी गरे । उपत्यकाको नेवार नाटय परम्परामा पनि मैथिली नाटकको प्रभाव रहेको उनले सुनाए ।

‘काशीदेवी’ नाटक सरल तर सशक्त लाग्छ । झन्डै डेढ घण्टा लामो नाटकमा पात्रहरूको बोली, संवाद, अभिनयले दर्शकलाई बाँधिरहन सफल भएको छ । मैथिली भाषा र केही नेपाली भाषामा भए पनि अभिनयबाटै पनि कथावस्तुलाई गहन रूपमा नाटकमा बुझाइएको छ । नाटकको परिवेश, मञ्च प्राकृतिक लाग्छन् । भित्तामा बनाइएका मिथिला चित्र, टुकी, पहिरनले तराईको मिथिला संस्कृति झल्काउँछन् । बीचबीचमा विश्व काफ्लेले गाएको गीत, दिलीप महर्जन र विनोद बञ्जाराको मुरली र तबलाको धूनले दर्शकलाई तराईको मिथिला क्षेत्रमै पुर्‍याइदिन्छ । विषयको गम्भीरतालाई कलाकारहरूले पनि जीवन्त उतार्न सफल भएका छन् । दुर्गानन्द झाकी आमाको भूमिकामा रहेकी सरस्वती अधिकारी रुँदा दर्शक पनि सँगसँगै रुन्छन् । केही दृश्यमा भने दर्शक पेट मिचिमिची हाँस्छन् ।

माघ ६ गतेसम्म मञ्चन हुने नाटकमा उत्पल झा, सरीता शाह, सरस्वती अधिकारी, सुरभि सापकोटा, अर्जुन पौडेल, राज शर्मा, कृष्ण महतो, धु्रवकुमार झा, प्रीति झा, सुलभ पाण्डे र अनिल कुर्मीले अभिनय गरेका छन् । प्रकाश परिचालन प्रकाश खत्री, संगीत परिचालन सरोज खडका र नृत्य निर्देशनको पाटो प्रकाश कार्कीले सम्हालेका छन् ।

प्रकाशित : पुस २९, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?