कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘निम्तो नआएर ढिलो भयो’

सजना बराल

काठमाडौँ — संसारका सबैभन्दा ठूला शत्रु दाजुभाइ हुन्छन् भन्ने भनाइ छ । तर, बलिउड स्टार सलमान खान र उनका दुई भाइको सम्बन्ध हेर्दा यस्तो लाग्दैन । एउटै क्षेत्रमा भएर पनि सलमान, अरबाज र सोहेलबीच प्रतिस्पर्धाको भावना देखिँदैन ।

‘निम्तो नआएर ढिलो भयो’

बरु, एकले अर्कालाई समर्थन गरिरहेका हुन्छन् । फागुन २६ मा हुन लागेको दाजु सलमानको कार्यक्रम ‘द ब्याङ टुर नेपाल’ को प्रमोसनका लागि काठमाडौं आएका सोहेलले भने, ‘एकअर्काको खुसीमा खुसी हुन सक्यो भने सम्बन्ध प्रगाढ बन्छ ।’

सोहेलले दाजुसहित एक दर्जन बलिउड स्टार नेपाल आउन लागेको निश्चित गरे । टोलीमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पलजस्ता कलाकार समावेश छन् । उतैबाट प्राविधिकहरू आउँदै छन् । सबै जोडदा टुरमा ९० देखि १०५ सदस्यसँगै सलमानको काठमाडौं आगमन हुनेछ ।

‘हामी प्रिरेकर्डेड सो देखाउनेछौं,’ उनले भने, ‘स्क्रिप्ट लेखनकै लागि दुई महिना लगाइएको थियो । एक महिना अभ्यास भयो । स्क्रिप्ट अपडेट भइरहन्छ । तसर्थ, नेपालीले नयाँ क्रिएटिभ थिममा द ब्याङ्ग सो देख्न पाउनुहुनेछ ।’ टुँडिखेलमा हुने करिब तीन घण्टाको कार्यक्रममा प्रत्येक आर्टिस्टले दर्शकसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्ने सोहेलले बताए ।

धेरै वर्षपहिले सम्भवत: ‘बुलन्दी’ फिल्मको छायांकनका लागि सलमान नेपाल आएको सोहेलको भनाइ थियो । नेपालबाट निम्तो नआएकाले यति नजिकैका छिमेकी भएर पनि आउन नपाएको उनले बताए । ‘हामी त यहाँ आउन सधंै इच्छुक थियौं,’ उनले भने, ‘निम्तो आउनेबित्तिकै इन्ट्रेस्ट देखायौं । अध्ययन गर्‍यौं । सबै समूहको समयतालिका मिलाएर यसपालि आउन लागेका छौं । तर, चाँजो मिलाउनै एक वर्ष लाग्यो ।’ आपतविपत पर्दा छिमेकी गुहार्नुपर्ने भन्दै उनले नेपालले भारतीयप्रति खन्याएको अपार मायाले आफूलाई उत्साहित बनाएको उल्लेख गरे ।

‘डरना मना है’, ‘कृष्णा कटेज’, ‘जाने तू या जाने ना’, ‘वीर’, ‘टयुबलाइट’ जस्ता फिल्ममा अभिनय गरेका सोहेल आफैं पनि १४ वर्षको छँदा पहिलो पटक नेपाल आएका रहेछन् । उनी त्यो बेला रक्सौल हुँदै काठमाडौं आएका थिए । शैक्षिक भ्रमणका लागि काठमाडौं आउँदा यहाँको समाज र संस्कृति देखेर ‘अमेज्ड’ भएको बताए ।

‘नेपालबाट कार्यक्रमको निम्तो आउँदा म पो सबैभन्दा बढी खुसी थिएँ,’ सोहेलले मुस्कुराउँदै भने, ‘अनि हामीले कार्यक्रमबारे अरू सेलेब्रिटीलाई पनि सुनायौं । वरुण धवनले खुब इच्छा देखाइरहेको थियो । तर, उसलाई ल्याउन सकेनौं ।’

सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो । कान्तिपुर यसको मिडिया पार्टनर छ । सलमान स्वयंले यसअघि एउटा भिडियोमा आफू नेपाल जान लागेको बताएका थिए ।

‘भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई चिर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास लिएका छौं,’ ओडीसीका सीमान्त गुरुङले भने, ‘यसबाट उठेको केही रकम समाज सेवामा लगाउनेछौं ।’

होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले चाहिँ यस्ता कार्यक्रमले नेपालको पर्यटनलाई माथि उठाउने बताए ।

प्रकाशित : माघ ६, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?