कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपाल आठौं आश्चर्य’ 

जर्मन अभिनेत्रीको अनुभव

ललितपुर — नेपालमा जर्मन फिल्मका पारखीहरू कमै छन् । जर्मन फिल्मका अभिनेता/अभिनेत्रीका फयान पनि कम छन् । यति हुँदाहुँदै जर्मन कलाकारमा नेपालप्रेम कम छैन । जस्तो : जर्मन अभिनेत्री इमिलिया सुली झन्डै तीन सातादेखि नेपाल भ्रमणमा छिन् ।

‘नेपाल आठौं आश्चर्य’ 

पहिलो पटक नेपाल आएकी इमिलियाको नेपालसँग सम्बन्ध भने एक वर्ष पहिले नै जोडिएको हो । इमिलिया र नेपालको सम्बन्ध जोड्ने काम प्लान इन्टरनेसनलले गरेको थियो । जर्मनीकी प्लान इन्टरनेसनल ब्रान्ड एम्बास्डर उनले यही संस्थामार्फत् एक वर्षदेखि मकवानपुरकी सनिषाको पढाइमा सहयोग गर्दै आएकी छन् । उनै बालिकालाई भेट्न उनी नेपाल आएकी हुन् । शुक्रबार सानेपास्थित समिट होटलमा प्लान इन्टरनेसनलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।


उनले आफ्नो भ्रमणलाई भेटघाटमा मात्र सीमित राख्न चाहिनन् । २ जनवरीमा फोटोग्राफर र पत्रकारसहित ५ जनाको टोलीसँग नेपाल आइपुगेकी उनी मकवानपुरका विद्यालयहरू घुम्ने र सनिषालाई भेट्ने प्लानमा थिइन् । तर उनलाई नेपालका डाँडाकाँडा, वातावरण यति धेरै मन परेछ कि उनी पहिले पोखरालगायतका हिमाली ठाउँहरू नै पुगिन् । उनी टेम्पोररी क्याम्प भिजिट, ट्ेरकिङमा समेत गइन्, त्यसपछि मात्रै मकवानपुर पुगेकी थिइन् । ‘नेपाल एक्स्ट्राअर्डिनरी ब्युटिफुल,’ उनले भनिन्, ‘यहाँको जीवन निकै कष्टकर छ भन्ने सोचेकी थिएँ । तर यहाँको जीवनशैली जीवन्त र रंगीन रहेछ ।’ उनलाई नेपाली महिलाहरूले निधारमा टीका लगाउने शैली, धर्म एकदमै भिन्न लागेछ । भनिन्, ‘यस्तो कल्चर हाम्रो देशमा छैन ।’ नेपाल आएर हेर्दा धेरै नयाँ कुराहरूले आकर्षित गरेको उनले सुनाइन् । उनले आफ्नो इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरूको फोटो पोस्ट गर्दै हयासटयागमा ‘नेपाल आठौं आश्चर्य’ पनि उल्लेख गरेकी छन् । उनले नेपाली बालबालिकासँगको फोटो राख्दै ‘नयाँ साथी बनाउँदै’ भनेर पोस्ट गरेकी छन् । उनले सनिषा १८ वर्षकी नहुन्जेल सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।


इमिलियाले मकवानपुरको आमभञ्ज्याङस्थित जनक माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसँग अन्तरक्रिया गरिन् र विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रमको अवलोकनसमेत गरिन् । त्यस्तै, आमभन्ज्याङमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा १० जना युवा महिला समूहद्वारा सञ्चालित महिला सहकारी, गौरीटारस्थित २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त शान्ति बहिरा स्कुलमा पढिरहेका अपंगता भएका विद्यार्थी, भूकम्पबाट विस्थापित भई मकवानपुरको गोल्मोडमा अस्थायी टहरा निर्माणपश्चात् बसिरहेका समुदाय, बज्रबाराहीमा रहेको सुत्केरी केन्द्रलगायतको भ्रमण गरेकी छन् ।


उनले मकवानपुर घुम्ने क्रममा विद्यालयहरू घरदेखि टाढा भएको सुनाइन् । विद्यालय घुम्ने क्रममा महिला शिक्षिकाहरूको समेत खोजी गरिछन् । उनले विद्यालयहरूमा महिला शिक्षिकाहरूको सहभागिता देखेर भने खुसी लागेको सुनाइन् । भनिन्, ‘नेपाल पनि लैंगिक समानतामा अगाडि बढिरहेको देख्दा खुसी लाग्यो । बालविवाह, महिला हिंसा मैले सुनेको जति यहाँ आएर हेर्दा त्यति देखिनँ । यो राम्रो कुरा हो ।’

रूसमा जन्मिएकी इमिलियाले सन् २००५ देखि फिल्मी यात्रा सुरु गरेकी हुन् । फिल्मका साथै उनी जर्मनीमा थुप्रै टेलिभिजन कार्यक्रममा अभिनय पनि गर्छिन् । उनले अभिनय गरेको ‘हाई सोसाइटी’ र ‘युथ विदाउट गड’ फिल्म रिलिजका क्रममा रहेको उनले सुनाइन् । फिल्म करिअरबाहेक अभिनेत्री इमिलियाले विभिन्न समस्या भोगिरहेका बालबालिकाका लागि सहयोग गर्दै आएकी छन् । उनले गत वर्ष फिलिपिन्समा प्लान इन्टरनेसनलले सञ्चालन गरेको विपद् राहतसम्बन्धी परियोजनाको भ्रमण गरेकी थिइन् ।

प्रकाशित : माघ ७, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?