कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरको नेसनल म्युजिक अवार्ड हुने

काठमाडौँ — अवार्ड दाबेदारका रूपमा स्रष्टाले आफ्ना गीत वा रचना आयोजकसमक्ष दर्ता गराउनुपर्ने चलन थियो । तर, रेडियो कान्तिपुरले प्रदान गर्न लागेको ‘नेसनल म्युजिक अवार्ड २०७४’ मा यो दु:ख गरिरहनु नपर्ने भएको छ । कुनै पनि माध्यमबाट बाहिरएका गीत स्वत: मनोनयनमा पर्ने भएपछि संगीतकर्मीलाई सहज हुने भयो भने दर्ता शुल्क तिर्नुपरेन ।

कान्तिपुरको नेसनल म्युजिक अवार्ड हुने

रेडियो कान्तिपुरले २०७३ साउन १ देखि २०७४ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट सत्र विधाका उत्कृष्ट पाँचको सूची निकालेको छ । यसका लागि कुनै संगीतकर्मीले आवेदन फारम भर्नै परेन । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डीसीका अनुसार कान्तिपुरकर्मीले नै सुरुमा हरेक विधाका उत्कृष्ट ५० छानेका थिए । त्यसबाट विज्ञको सल्लाहमा उत्कृष्ट १५ र १५ बाट जुरीले उत्कृष्ट पाँच निकालेका हुन् । जुरीमा गीतकार दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी र गायिका कुन्ती मोक्तान समावेश थिए ।


आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा हुन लागेको अवार्ड वितरण कार्यक्रमबारे शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । ‘हामीले अवार्डका लागि अवार्ड गर्न लागेका होइनौं,’ डीसीले भने, ‘संगीत र स्रष्टाको चर्चापरिचर्चा होस्, यो उद्योग पनि चलायमान छ है भन्ने जानकारी दिऊँ भनेर गर्न लागेका हौं ।’ रेडियोको ६५ प्रतिशत भाग संगीतले ओगट्ने भन्दै संगीकर्मीलाई धाप मार्नु आफूहरूको कर्तव्यसमेत रहेको उल्लेख गरे ।


उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष/महिला, राष्ट्रिय गीत, पप/आधुनिक/प्ले ब्याक सिंगर गायक र गायिका, एल्बमलगायत विधामा ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने जानकारी दिइयो । संगीत क्षेत्रमा योगदान पुर्‍याउनेलाई एक लाख रुपैयाँ राशिको लाइफटाइम एचिभमेन्ट अवार्ड दिइनेछ । योन्डर पिपल्स च्वाइस अवार्डका लागि सहभागीले एनएमए स्पेस गीतको कोड लेखी ३३००१ मा एसएमएस गर्नुपर्नेछ ।


उत्कृष्ट पाँचबाटक एउटा छान्ने निर्णायक टोली र दीर्घसेवा सम्मान पाउनेबारे चाहिँ अहिले खुलाइएको छैन । यसबारे माघ २६ मा हुने अवार्ड वितरण समारोहमै थाहा दिँदा मजा आउने डीसीले बताए । समारोहमा विभिन्न सांगीतिक प्रस्तुतिहरू पनि समावेश गरिनेछन् । अवार्डका लागि संगीतका मुख्य विधाहरूलाई मात्र समेटिएको र पपुलारिटी (प्रसिद्धि) बाट प्रभावित नभई, सकेसम्म निष्पक्ष ढंगले अवार्ड दिन लागेको डीसीको भनाइ थियो ।


रेडियो कान्तिपुरले यसअघि ‘म्युजिक अनर्स’ अन्तर्गत स्रष्टालाई सम्मान गर्दै आएको थियो । त्यसमा रोयल्टीसमेत दिइन्थ्यो भने यसपालि पनि प्रतिगीत १० रुपैयाँका दरले रोयल्टी दिइनेछ । तर, त्यो अवार्डमा समारोहमा नभई रेडियो कान्तिपुरकै कार्यायलमै बोलाएर दिने डीसीले बताए ।

प्रकाशित : माघ ७, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?