कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘नेपालीहरुको मन जोड्ने प्रयास’

काठमाडौँ — बाढीले तराईमा क्षति पुर्‍याएपछि कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले बोकेरै बाढीपीडितको उद्धार गरेका फोटाहरू इन्टरनेटमा भाइरल भए । त्यसलगत्तै 
उनले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत रौतहटको चन्द्रपुर नगरपालिका–८, सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरे ।

‘नेपालीहरुको मन जोड्ने प्रयास’

असोज २८ मा बस्तीको शिलान्यास भयो । माघ २२ मा, अर्थात् सोमबार बस्ती निर्माणको १०० दिन पूरा भएको छ । माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य राखेर बस्ती निर्माण कार्य सुरु गरिएकोमा माघ २१ गते नै हस्तान्तरण गर्ने तयारी भइरहेको सीतारामले जनाएका छन् ।


फाउन्डेसनले १२ कट्ठा जग्गामा ४७ घर बनाइरहेको छ । सीतारामका अनुसार, ५ करोड ९५ लाखको लागतमा बन्न लागेको बस्तीका लागि अझै १ करोड २५ लाख रुपैयाँ अपुग छ ।


‘तर पनि हामी निर्धक्क काम गरिरहेका छौँ,’ उनले भने, ‘बस्ती हस्तान्तरण हुने बेलासम्म दाताले सहयोग गरेर रकम जुट्नेमा हामी विश्वस्त छौँ । अहिलेसम्म सहयोग गर्नुभएको छ, अब पनि गर्नुहुन्छ होला ।’ अहिले बस्ती निर्माणमा २ सय ६१ कामदारले काम गरिरहेको पनि उनले बताए । घर जमिनको सतहबाट पाँच फिटमाथि उठाएर दुईतले बनाउन लागिएको छ ।


चौथो नमुना बस्तीमा मुसहर र चमार समुदायको बसोबास रहनेछ । यो बस्ती निर्माण गरेर मानवीय धर्म निर्वाह गरेको सुनाउँदै सीतारामले थपे, ‘यो बस्ती अर्थपूर्ण छ । यहाँ बस्ती मात्र बनेको हैन, मन बनाउने प्रयास गरेका छौँ । नेपालीहरूको मन जोड्ने प्रयास गरेका छौँ ।’


बस्तीभित्र ४० फिट अग्लो भ्यु टावर, अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री दुइटा मन्दिर, बालउद्यान, सामुदायिक भवन, प्राथमिक विद्यालयलगायत बनिरहेको सीतारामले बताए । १७ दिनयता बारादेखि झापासम्म महोत्तरी, सर्लाही, मोरङलगायतका ३४ सय परिवारलाई न्यानो कपडा वितरणसमेत गरेको उनले सुनाए ।

प्रकाशित : माघ ९, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?