कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“अनुराग” मा एलिजाको ठुम्का

काठमाडौँ — पत्रकार ऋषि धमला फिल्म निर्माणमा समेत लागेका छन् । ऋषिपत्नी एलिजा गौतमलाई नै नायिकामा डेब्यू गराएर सत्यराज चौलागाईंले निर्देशन गरेको ‘अनुराग’ बाट नायकका रूपमा समुद्र पण्डितले पनि डेब्यु गर्न लागेका छन् ।

“अनुराग” मा एलिजाको ठुम्का

४५ दिन लगाएर सिनको सुट सकिएको उक्त फिल्मको एउटा गीतको छायांकन भने आइतबार राजधानीकै वल्र्ड ट्रेन्ड सेन्टरको डान्स बारमा गरियो । कोरियोग्राफर विक्रम स्वाँरले उक्त बारमा नायिका एलिजालाई कार्टुन्ज क्रयुका सरोज अधिकारीसँग नचाउँदै थिए ।


दुई दिन लगाएर गीत सक्ने माचोमा रहेका स्वाँरलाई एलिजा र सरोजको नृत्यको तारतम्य मिलाउन मिहिनेत परिरहेको देखिन्थ्यो । कोरियोग्राफरले पनि भनिहाले, ‘एलिजा म्याडमलाई नचाउनु मेरो लागि च्यालेन्जिङ थियो,’ ‘लुट २’ को ‘ठमेल बजार...’ गीतको कोरियोग्राफीपछि चल्तीमा आएका स्वाँरले कान्तिपुरसँग भने, ‘म्याडमलाई हामीले दस/बाह्र दिनको क्लास दियौं । र, आज धेरै राम्रो भइरहेको छ ।’


म्युजिकल लभस्टोरी भनिएको ‘अनुराग’ मा समुद्रले म्युजिक ब्यान्डको मुख्य सदस्यको भूमिका गरेका छन् भने एलिजा अनुको भूमिकामा छिन् । ‘अनु साथीसँग क्लबमा आएपछि डिस्को वातावरणमा हुने गीतको आज सुट भइरहेको हो,’ निर्देशनमा डेब्यु गरिरहेका सत्यराजले भने । उनले फिल्ममा पाँच गीत रहेको र तिनको विशिष्ट स्थान रहेको दाबी गर्दै थपे, ‘यस फिल्ममा एक्सनको नाममा एक झापड पनि हानिएको छैन । जब कि क्लाइमेक्समै एउटा कन्सर्ट राखिएको छ ।’ झन्डै १५ फिल्ममा सहायक निर्देशकको अनुभव संगालिसकेका सत्यराजले किरण दाहालको कथालाई आगत केसीसँगको सहकार्यमा पटकथा तयार पारेका हुन् ।


पारिवारिक विषयमा प्रेमलाई जोडेर त्यसमा सांगीतिक खुराक घुसाइएको बताइएको ‘अनुराग’ लाई रामकुमार केसीले खिचिरहेका छन् । फिल्ममा दृश्य सम्पादन भूपेन्द्र अधिकारीले गरिरहेका छन् भने गीतको सम्पादनको जिम्मा टेकेन्द्र शाहलाई दिइएको छ ।


‘फिल्ममा म्युजिकको भूमिका अहम् भएकोले पनि विशेष सम्पादन गर्न चाहेका हौं,’ सत्यराजले दुई गीतको छायांकन सकिएको र छिटै बाँकी तीन गीत पनि खिचेर पोस्टप्रोडक्सनमा जाने उल्लेख गर्दै भने ।

ड्रिम सङमा अञ्जु पन्त र सुगम पोखरेलको गीतबाहेक अन्य गीतमा प्रताप दासको मुख्य स्वर रहेको छ । संगीत ताराप्रकाश लिम्बू र सरोज पोखरेलले दिएका हुन् । उक्त फिल्ममा एलिजा र समुद्रबाहेक सरोज खनाल, रूपा राना, निर्मल शर्मा पनि मुख्य भूमिका छन् ।

प्रकाशित : माघ ९, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?