कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फेरि फेरि’ मा ऋचा–अर्पण

काठमाडौँ — अभिनेता/निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीच पछिल्लो समय फिल्मी सहकार्य बाक्लिएको छ । पछिल्लो पटक अर्पणले आफूले निर्देशन गरेको ‘आधा लभ’ मा ऋचालाई नै मुख्य भूमिकामा प्रस्तुत गरेका थिए भने आफूले पनि स्क्रिन सेयर गरेका थिए । पछि यो जोडीलाई रवि डंगोलले ‘फिर्के’ मा दोहोर्‍याए । अब भने निर्देशक/निर्माता पुरन थापाले ऋचा र अर्पणलाई लिएर ‘फेरि–फेरि’ बनाउने भएका छन् ।

‘फेरि फेरि’ मा ऋचा–अर्पण

कमेडी जानरामा बनाइन लागिएको उक्त फिल्मको मंगलबार राजधानीमा मुहूर्त गरियो । फिल्म निर्देशक थापाले लेखेका हुन् । कार्यक्रममा अर्पण, ऋचाका साथ अर्का कलाकार धर्मेन्द्र आचार्यले मुहूर्त सट दिएका थिए ।

माता वसुन्धरा ब्यानरमा बन्न लागेको ‘फेरि फेरि’ माघ १८ देखि छायांकनमा जानेछ । कार्यक्रममा चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेललाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म सफलताको शुभकामना दिँदै फिल्म निर्माणमा मात्र नभई प्रदर्शनमा पनि अत्याधुनिक प्रविधिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले अझै पनि फिल्म हलको प्रोजेक्सन सिस्टम एचडी फम्र्याट नै हुनु लाजमर्दो भएको उल्लेख गर्दै कम्तीमा सबै हलमा टु–के रिजुलेसनको प्रोजेक्सनको अपरिहार्यता औँल्याए । निर्देशक थापाले फिल्मलाई ३५ सेन्सरयुक्त अत्याधुनिक प्रविधिको रेड इपिक डब्लू हेलियमको एट–के क्यामेराबाट खिच्न लागेको जनाउँदै प्रविधिमा मात्र नभई फिल्म पनि अत्यन्तै मनोरञ्जात्मक बनाइने बताएका छन् ।

‘फेरि फेरि’ मा अर्पण, ऋचा र धर्मेन्द्रसहित विकास चापागार्इं, ओमप्रतीक गुरुङ, लय संग्रौला, रश्मि पाण्डे, ध्रुव कोइराला, एलिना बाँस्कोटा, सोनीका बाँस्तोला, राम बुढाथोकीको पनि अभिनय रहने भएको छ । सुरेश बज्राचार्यले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी हुने बताइएको छ भने गीत पनि पुरन थापाले नै लेखेका छन् भने संगीतमा पनि थापा र विकास चौधरी हुने भएका छन् । थापाले यसअघि कमेडी जानराकै ‘कान्छी मटयाङ टयाङ’ निर्देशन थिए । यस पटक उनले छोरा निरजलाई सहायक निर्देशकका रूपमा पनि अघि सारेका छन् । निर्देशक पुरनले अत्याधुनिक प्रविधिका साथ अत्यन्तै मनोरञ्जन फिल्म बनाउने ध्येय राखिएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि बनेकी बोर्ड अध्यक्ष निकिताले नेपाली फिल्म क्षेत्रले आफूमाथि राखेको विश्वास पूरा गर्न लागिपरिरहेको बताइन् ।

प्रकाशित : माघ १०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?